News Summary
Generated by OK AI. Editorially reviewed.- धनकुटामा पूर्वमन्त्री राजेन्द्र कुमार राई चौथो पटक प्रतिनिधि सभामा विजयी हुने दाउमा छन्।
- २०७९ को निर्वाचनमा राईले नेपाली कांग्रेसका सुनिलबहादुर थापालाई १ हजार ३ सय ९७ मतान्तरले पराजित गरेका थिए।
- धनकुटामा १७ जना उम्मेदवार छन् र १ लाख १८ हजार ४ सय २५ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ।
१२ माघ, धनकुटा । धनकुटाको चुनावी मैदानमा चौथो पटक पूर्वमन्त्री तथा एमालेका केन्द्रीय सदस्य राजेन्द्र कुमार राई छन् । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पराजित तथा २०७४ र २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका राई यसपटक संसदमा ह्याट्रिक गर्ने दाउमा छन् ।
२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट उम्मेदवार बनेका सुनिल बहादुर थापासँग पराजित बनेका थिए । यस्तै २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा राईले राप्रपाकै सुनिल थापालाई हराएका थिए ।
त्यो बेला राईलाई तत्कालीन नेकपा माओवादी केन्द्रको साथ थियो भने थापालाई नेपाली कांग्रेस, जनता समाजवादीलगायतको साथ रहेको थियो । २०७९ सालको निर्वाचनमा राई एमालेको तर्फबाट उम्मेदवार थिए भने थापा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका थिए ।
त्यो बेला भर्खरै कांग्रेस बनेका थापालाई गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायतको साथ थियो । तर, माओवादी केन्द्रबाट विद्रोह गरेका हेमराज भण्डारीले स्वतन्त्र उम्मेदवार बनेका थिए । भण्डारी अहिले पनि कुनै दलमा आवद्ध छैनन् पनि छैनन् उम्मेदवार पनि छैनन् ।
२०७९ को चुनावमा राईले १ हजार ३ सय ९७ मतान्तरले नेपाली कांग्रेसका सुनिलबहादुर थापालाई पराजित गरेका थिए । राईले ३० हजार १ सय १ मत ल्याउँदा थापाले २८ हजार ७ सय ४ मत प्राप्त गरेका थिए ।
०७४ को आम निर्वाचनमा राईले राप्रपाबाट उम्मेदवार बनेका उनै थापालाई १० हजार ४ सय ५९ भारी मतान्तरले पराजित गरेका थिए । त्यतिबेला राईले ३७ हजार ३ सय ३३ ल्याएर निर्वाचित हुँदा थापाले २६ हजार ८ सय ७४ मत ल्याएका थिए ।
२०७० मा भएको दोस्रो संविधान सभा निर्वाचनमा पराजय र २०७४ र २०७९ गरि दुई पटक प्रतिािधि सभामा विजयी भएका राई तेस्रो पटक पनि प्रतिनिधिसभा छिर्नेमा आशावादी देखिन्छन् ।
राईले दुई पटक विजयी भएका बेला धनकुटामा सुरु गरेका विकास निर्माणदेखि विभिन्न काम पूरा गर्न जनताले तेस्रो पटक जिताउनेमा ढुक्क रहेको बताउँछन् ।
धनकुटामा राई सहित १७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । धनकुटामा मुख्यतः एमालेका राईसहित कांग्रेसका दिनेश राई, नेपाली कम्युनिस्ट पार्टीका धर्मराज पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारी र राष्ट्रिय प्रजातन्त्र पार्टीका विभत्सु थापा मुख्य प्रतिस्पर्धी रहेको नेताहरूले नै बताउने गरेका छन् ।
१ लाख १८ हजार ४ सय २५ मतदाता रहेको धनकुटामा सबै उम्मेदवारहरु आफूले जित्ने दाबी गर्छन् । अघिल्लो चुनावमा जे परिणाम आएपनि धनकुटामा यसपटक युवाको पालो आएको भन्दै कांग्रेस, रास्वपा र राप्रपाका उम्मेदवारहरु यसपटक धनकुटामा आफ्नो विजय हुने दाबी गर्दै आएका छन् । उनीहरुले आफ्नो पार्टीले युवालाई उम्मेदवार बनाएकाले जित सुनिश्चित रहेको बताउँदै आएका छन् ।
यता नेपाली कम्युनिस्ट पार्टीले भने २०६४ मा तत्कालिन माओवादीको जस्तै आफ्नो पक्षमा माहोल रहेका दाबी गर्दै आएको छ । कांग्रेस उम्मेदवार दिनेश राई धनकुटाका पार्टी सभापति हुन् । यसपटक धनकुटामा परिवर्तनका लागि कांग्रेश चुनामी मैदानमा आएको उनको भनाइ छ ।
नेपाली कांग्रेस परिवर्तन र रुपान्तरणसँगै कुशासन फाल्न चाहाने भएकाले पार्टीको आन्तरिक निर्वाचनबाट पनि संघर्ष गरेर नेतृत्व परिवर्तन गरेको बताए । उनले धनकुटामा कृषि र पर्यटनमा राम्रो संभावना भएकाले त्यसको विकास गर्न कांग्रेसले जित्नुपर्ने बताए ।
नेपाली कम्युनिस्ट पार्टीका धर्मराज पौडेल केन्द्रीय सदस्य हुन् । धनकुटामा २०६४ सालमा एमालेबाट निर्वाचन भिडेका उनी अहिले नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेका छन् ।
धनकुटामा अघिल्लो निर्वाचनमा तत्कालिन माओवादी केन्द्र र एकीकृत समाजवादीले समानुपातिकमा ७ हजार २ सय ८७ मत पाएका थिए । यसपटक यो मत बढेर नतिजा आफ्नो पक्षमा आउने दाबी पौडेलको छ ।
‘राजनीतिलाई शुद्ध र रुपान्तरण गर्न उम्मेदवारी दिएको हुँ । देशभरमा व्याप्त रहेको भ्रष्टचार अन्त्य गर्न भूमिका खेल्ने नै उम्मेदवारी रहेको छ ।’, उनले भने, ‘धनकुटामा रहेका सबै मतदाताको समस्या थाहा छ । समाधान गर्ने नवीन सोचका साथ अगाडि बढ्ने एजेन्डा छ ।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट चुनावी मैदानमा दिनेश भण्डारी रहेका छन् । उनी राजनितिमा भर्खरै राजनितिमा आएका व्यक्ति हुन् । जेनजी आन्दोनपछि देशले युवा खोजेकोले राजनितिमा आएर उम्मेदवार बनेको बताएका छन् ।
पार्टी र राजनितिलाई व्यवसाय बनाएकाहरुलाई राजनिति समाजसेवा हो भन्ने बनाउने आफ्नो मुख्य योजना रहेको भण्डारीले बताए ।
उनले धनकुटाको पुरानो साख फर्काउने योजना आफूसँग मात्रै रहेको भण्डारीको दाबी छ । धनकुटा देशमा आएको संघीयता अघि प्रशासनिक र शैक्षिक केन्द्र रहेको थियो यसलाई सोही अवस्थामा ल्याउने भण्डारीले बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विभत्सु थापा उम्मेदवार बनेका छन् । उनी पनि राजनितिमा नवप्रवेशी हुन् । उनले देशले युवा खोजेकोले बाध्य भएर राजनितिमा आएको बताए । उनले घरघरमा खानेपानी र टोलटोलमा पक्की सडक पुर्याउने तथा रोजगारीको वातावरण बनाइ विदेश जाने बाध्यता अन्त्य गर्ने योजनामा रहेको बताए ।
त्यसैगरी, धनकुटामा नेपाल मजदुर किसान पार्टीका उत्तम साखकर्मी, आम जनता पार्टीका प्रेमबहादुर थापा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बालकुमार ताम्ली, जनता समाजवादी पार्टीका निशान राई र नेकपा माओवादीका रविनकुमार राई उम्मेदवार छन् ।
यसैगरी, श्रम संस्कृति पार्टीका सान बहादुर राई, जनता समाजवादी पार्टी नेपालका आइतराज लिम्बु, मंगोल नेशनल अर्गनाइजेशनका सागर राई र राष्ट्रिय परिवर्तन पार्टीका शालिक राम राई पनि चुनावी प्रतिस्पर्धामा छन् ।
धनकुटामा ४ जनाको स्वतन्त्र उम्मेदवारी परेको थियो । मनकुमार योञ्जन, जितेन्द्र राई, गंगाराम गोम्देन र लाक्पा तामाङले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेकोमा गोम्देनले उम्मेदवारी फिर्ता लिएका छन् । स्वतन्त्र उम्मेदवारी दिनेमा मनकुमार योञ्जन, जितेन्द्र राई र लाक्पा तामाङ गरी ३ जनाको उम्मेदवारी कायम भएको छ ।
एक निर्वाचन क्षेत्र रहेको धनकुटामा १ सय १९ मतदानस्थलमा १ सय ६६ वटा मतदान केन्द्र रहने भएका छन् । यस्तै कारागार र निर्वाचनमा नखटिएका कर्मचारीको लागि १/१ गरी २ वटा अस्थायी मतदान केन्द्र रहने भएका छन् । अस्थायी मतदान केन्द्रमा समानुपातिकको मात्रै मतदान हुने निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया 4