News Summary
Generated by OK AI. Editorially reviewed.- भारतीय सरकारले दिवंगत अभिनेता धर्मेन्द्रलाई मरणोपरान्त पद्म विभूषण सम्मान दिने घोषणा गरेको छ।
- धर्मेन्द्रकी पत्नी हेमा मालिनीले सामाजिक सञ्जालमा यो सम्मान पाएकोमा परिवार खुसी रहेको बताएकी छिन्।
- बलिउड अभिनेता आर. माधवनलाई पनि पद्मश्रीबाट सम्मानित गरिने घोषणा गरिएको छ।
नयाँ दिल्ली । भारतीय सिनेमाका दिग्गज अभिनेता धर्मेन्द्रलाई मरणोपरान्त पद्म विभूषण सम्मान दिने घोषणा गरिएको छ । फिल्म क्षेत्रमा उनले पुर्याएको लामो र महत्वपूर्ण योगदानको कदर गर्दै यो सम्मान दिन लागिएको हो ।
धर्मेन्द्रको निधन गत २४ नोभेम्बरमा ८९ वर्षको उमेरमा भएको थियो । सरकारले सर्वोच्च नागरिक सम्मान दिने घोषणा गरेपछि पत्नी तथा अभिनेत्री हेमा मालिनीले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गरेकी छिन् ।
उनले धर्मेन्द्रको फोटोसँगै लेखेकी छिन्, ‘सरकारले धरमजीको फिल्म उद्योगमा रहेको योगदानलाई कदर गर्दै पद्म विभूषणबाट सम्मानित गरेकोमा आफूलाई धेरै गर्व महसुस भइरहेको छ ।’
इण्डिया टुडेसँग कुरा गर्दै हेमा मालिनीले धर्मेन्द्रले यो सम्मान पाएकोमा पूरा परिवार निकै खुसी र उत्साहित रहेको बताएकी छिन् । उनले भनिन्, “हामी चाहन्थ्यौं कि यो सम्मान उनले पहिल्यै पाएको भए हुन्थ्यो, जब उनी आफैं यो ग्रहण गर्न हामीसँगै हुन्थे । तर जे भए पनि हामी खुसी छौं । उनी यो सम्मानको पूर्ण हकदार थिए, किनकि उनले फिल्म क्षेत्रलाई धेरै कुरा दिएका छन् ।’
जीवनमा धर्मेन्द्रले कहिल्यै अवार्डको वास्ता गरेनन् । जीवित छँदा उनले ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाहेक कुनै फिल्मफेयर अवार्ड पनि पाएका थिएनन् । धर्मेन्द्र अभिनेता मात्र नभएर एक सच्चा कलाकार रहेको हेमाले बताइन् ।
अर्कोतर्फ, बलिउड अभिनेता आर. माधवनलाई पनि पद्यश्रीबाट सम्मानित गरिने भएको छ । यो सम्मानको घोषणा भएपछि माधवनले सामाजिक सञ्जालमा एउटा पोस्ट सेयर गर्दै आफ्नो खुसी व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘यो मेरो जीवनकै सबैभन्दा ठूलो सम्मान हो र उनले यसलाई पूर्ण आदर र विनम्रताका साथ स्वीकार गर्छु ।’
माधवनले आफ्नो सन्देशमा यो पनि लेखेका छन् कि उनले यो सम्मान आफ्नो पूरा परिवारको तर्फबाट स्वीकार गरिरहेका छन्, जसको साथ र विश्वास सधैं उनको सबैभन्दा ठूलो शक्ति बनेको छ । उनले अगाडि भनेका छन् कि यो पहिचान उनलाई आफ्ना गुरुको आशीर्वाद, शुभचिन्तकको शुभकामना र भगवानको कृपाले गर्दा मिलेको हो ।
माधवनले यो सम्मानलाई केवल एउटा ‘अवार्ड’ मात्र नभएर एउटा जिम्मेवारी समेत मान्ने बताए । यस सम्मानको गरिमालाई इमानदारी, सत्यता र यसका मूल्य-मान्यताका साथ निभाउने कोसिस गर्ने उनले बताएका छन् ।
मलायालम फिल्मका प्रभावशाली अभिनेता मम्मूटी र प्रख्यात गायिका अलका याज्ञनिकलाई पद्म भूषण दिइनेछ । बङ्गाली फिल्मका आइकन प्रसेनजित चटर्जी र दिवंगत अभिनेता सतीश शाहलाई भारतीय सिनेमा र संगीतमा पुर्याएको योगदानका लागि पद्म श्री बाट सम्मानित गरिने भएको छ ।
गणतन्त्र दिवसको अवसर पारेर यी सम्मान पाउने व्यक्तिको नाम अगाडि नै घोषणा गरिए तापनि, पदक भने यसै वर्षको अन्त्यतिर वितरण गरिनेछ । राष्ट्रपति भवनमा आयोजना हुने एउटा विशेष समारोहमा राष्ट्रपति द्रौपदी मुर्मुले यी सम्मान प्रदान गर्नेछिन् ।
प्रतिक्रिया 4