News Summary
Generated by OK AI. Editorially reviewed.- टिकटकले अमेरिकामा नयाँ ज्वाइन्ट भेन्चर गठन गरेपछि अमेरिकी प्रयोगकर्ताहरूले एप डिलिट गर्न थालेका छन्।
सोसल मिडिया प्लेटफर्म टिकटकले अमेरिकामा आफ्नो व्यवसाय सञ्चालनका लागि नयाँ ज्वाइन्ट भेन्चरको घोषणा गरेसँगै अमेरिकी प्रयोगकर्ताहरू अनुसन्तुष्ट देखिन थालेका छन्। फलस्वरूप अमेरिकामा ठूलो सङ्ख्याका टिकटक प्रयोगकर्ताहरूले आफ्नो स्मार्टफोनबाट एप डिलिट गर्न थालेका छन्।
मार्केट रिसर्च कम्पनी सेन्सर टावरका अनुसार पछिल्लो पाँच दिनमा टिकटक डिलिट गर्ने अमेरिकी प्रयोगकर्ताको संख्या अघिल्ला तीन महिनाको औसतभन्दा करिब १५० प्रतिशतले बढेको छ।
के हो विवादको जड ?
अमेरिकी सरकारले टिकटक अमेरिकालाई बिक्री गर्न वा वा प्रतिबन्धको सामना गर्न पटक-पटक अल्टिमेटम दिँदै आएको छ । यससँगै टिकटकले गतबिहीबार एडम प्रेसरको नेतृत्वमा नयाँ संयुक्त उपक्रम अर्थात् ज्वाइन्ट भेन्चर गठन गर्यो।
उक्त घोषणासँगै अमेरिकी टिकटक प्रयोगकर्ताहरूलाई कम्पनीको नयाँ प्राइभेसी नीति स्वीकार गर्नुपर्ने सूचना पठाइयो । सोही नयाँ सूचनाले तत्कालै नयाँ विवादको जन्म दियो।
टिकटकले अत्यन्तै संवेदनशील र व्यक्तिगत विवरण संकलन गर्न सक्ने चिन्ता प्रयोगकर्ताहरूमा देखिएको छ । जाति तथा नस्ल, यौनिक पहिचान, समलैंगिकताको अवस्था, नागरिकता (आप्रवासन अवस्था) तथा वित्तीय विवरण लगायतका व्यक्तिगत जानकारीहरू टिकटकले संकलन गर्नसक्ने आशंका गरिएको छ।
कतिपय रिपोर्टले भने उल्लेखित प्रावधानहरू नयाँ नभएको र यस्तै व्यवस्था सन् २०२४ को अगष्टमा जारी गरिएको प्राइभेसी नीतिमा समेत उल्लेख रहेका जनाएका छन् । तर अमेरिकामा टिकटक सञ्चालनका लागि खडा गरिएको नयाँ ज्वाइन्ट भेन्चरले प्रयोगकर्ताको डाटा सुरक्षाको विषयमा रहेको शंका र चिन्तालाई बलियो बनाइदिएको विश्लेषकहरूको भनाइ छ।
विश्वासमा गिरावट : क्रिएटर्सको असन्तुष्टि
यसैबीच टिकटकप्रतिको विश्वास कमजोर भएको भन्दै कैयन् चर्चित कन्टेन्ट क्रिएटरहरूले आफ्नो टिकटक अकाउन्ट डिलिट गरेका छन् । करिब ४ लाख फलोअर्स बनाएकी ड्रे रोनेन पनि यसमा पर्छिन् । उनले थ्रेड्समा लेखेकी छिन्- यदि मजस्तो व्यक्तिले आफ्नो सबैभन्दा ठूलो प्लेटफर्म छोड्न सक्छु भने अरूले पनि सजिलै छोड्न सक्छन्।
४० लाखभन्दा बढी फलोअर्स भएकी नाद्या ओकामोटोका अनुसार टिकटक कम्पनीले क्रिएटर्ससँग स्पष्ट र खुला संवाद नगरेकाले डर र अन्योल फैलिएको छ।
उसो त हालै टिकटक एपमा देखिएका प्राविधिक समस्याका कारण धेरै प्रयोगकर्ताले यसमा भिडियो अपलोड गर्न सकेका थिएनन् । टिकटकका अनुसार अमेरिकास्थित एक डाटा सेन्टरमा विद्युत आपूर्ति अवरुद्ध हुँदा यस्तो समस्या आएको हो ।
प्रतिस्पर्धी एप्सलाई फाइदा
अमेरिकामा देखिएको पछिल्लो ट्रेण्डका कारण अहिलेसम्म टिकटकका सक्रिय प्रयोगकर्ताको संख्यामा उल्लेख्य गिरावट नदेखिएको भएपनि यसको असर प्रतिस्पर्धी एपहरूमा स्पष्ट देखिएको छ।
सोसल मिडिया प्लेटफर्म अपस्क्रोल्डका प्रयोगकर्ताको वृद्धिदर १ हजार प्रतिशतभन्दा बढी पुगेको छ । त्यसैगरी स्काइलाइट सोसलका प्रयोगकर्ताको संख्या ९१९ प्रतिशत र रेडनोटका प्रयोगकर्ताको संख्या ५३ प्रतिशतले बढेको छ।
अमेरिकामा टिकटकको अनिश्चित अवस्थाका कारण धेरै क्रिएटरहरू पछिल्लो समय इन्स्टाग्राम र युट्युबजस्ता वैकल्पिक प्लेटफर्मतर्फ सर्न थालेको समाचारहरूमा उल्लेख छ।
एजेन्सी
प्रतिक्रिया 4