१४ माघ, रुकुमपूर्व । मंगलबार रातिदेखि परेको भारी हिमपातका कारण मध्यपहाडी लोकमार्गको रुकुमपूर्व–बागलुङ खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । दुई जिल्लाको सिमानामा पर्ने पातिहाल्ने क्षेत्रमा बाक्लो हिउँ जमेपछि काठमाडौंबाट आएका ५ वटा बससहित करिब २०० यात्रु अलपत्र परेका छन् ।
लोकमार्ग अवरुद्ध भएपछि काठमाडौंबाट रुकुमपूर्व हुँदै रुकुमपश्चिम र डोल्पाका लागि हिँडेका यात्रुहरू बीच जंगलमै रोकिएका हुन् । चिसो र भोकका कारण यात्रुहरूको अवस्था जोखिमपूर्ण रहेको उद्धारमा खटिएका स्थानीय समाजसेवी चन्द्र रसाइलीले जानकारी दिए ।
’यात्रुहरू बीच जंगलमा भोकै छन्, बालबालिकाको अवस्था झनै नाजुक छ,’ रसाइलीले भने, ‘हामीले थोरै भए पनि खाद्यान्न र चाउचाउ पुर्याएका छौँ, तर निरन्तरको हिमपातले उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको छ ।’
सडक खुलाउन र यात्रुलाई सुरक्षित स्थानमा ल्याउन जिल्ला प्रशासनले प्रयास थालेको छ ।

रुकुमपूर्वकी प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार भुमे गाउँपालिकाको डोजर (जेसीबी) प्रयोग गरेर हिउँ पन्छाउने कार्य सुरु गरिएको छ ।
‘हामीले उद्धारका लागि गाडीहरू लिएर आएका छौँ, तर हिउँ धेरै भएकाले सोचेजस्तो काम हुन सकेको छैन,’ प्रजिअ परियारले भनिन्, ‘अवस्था जटिल छ, तैपनि बाटो खुलाउने र यात्रुलाई सुरक्षित निकाल्ने प्रयास निरन्तर भइरहेको छ ।”
पातिहाल्ने क्षेत्रमा हिउँ पर्ने क्रम नरोकिएकाले उद्धार टोलीलाई कार्यस्थलसम्म पुग्न समेत समस्या भइरहेको सुरक्षा निकायले जनाएको छ ।
प्रतिक्रिया 4