+
+
Shares

इरानलाई ट्रम्पको सैन्य चेतावनी र नयाँ परमाणु सम्झौताको संकेत

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १५ गते १४:१५

१५ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले वार्ताको टेबुलमा आउन ढिलाइ गरे विनाशकारी सैन्य कारबाही भोग्नुपर्ने चेतावनी दिँदै समुद्रमा ठूलो संख्यामा अमेरिकी युद्धपोतहरू परिचालन गरिएको बताएका छन्। 

ट्रम्पले इरानसँग परमाणु हतियाररहित सम्झौताको ढोका अझै खुला रहेको संकेत दिए पनि आफ्नो सैन्य टोली हिंसात्मक कारबाहीका लागि तयार रहेको स्पष्ट पारेका छन्।

यसको जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले इरानी सेनाको ‘औंला ट्रिगरमै  रहेको’ र कुनै पनि अमेरिकी आक्रमणको कडा र तत्काल प्रतिकार गरिने चेतावनी दिएका छन्। 

अराघचीले पनि ट्रम्पकै जस्तो भाषा प्रयोग गर्दै इरान सधैं पारस्परिक लाभ र बराबरीको आधारमा हुने परमाणु सम्झौताको पक्षमा रहेको उल्लेख गरेका छन्। 

उनले इरानले कहिल्यै पनि परमाणु हतियार नखोजेको दाबी गरेका छन् । दबाब र धम्कीका बीचमा गरिने कूटनीति सफल नहुने पनि  स्पष्ट पारेका छन्।

यो तनाव इरानभित्र भइरहेको भीषण आन्तरिक विद्रोहको बीचमा आएको हो। मानव अधिकारवादी संस्थाहरूका अनुसार हालैका प्रदर्शनहरूमा ६ हजारभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् भने हजारौं पक्राउ परेका छन्। 

इरानको यो आन्तरिक दमनलाई लिएर पश्चिमा राष्ट्रहरू रुष्ट छन्। जर्मनी र फ्रान्सले इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स’ (आईआरजीसी) लाई आतंकवादी संगठन घोषणा गर्न युरोपेली संघलाई दबाब दिइरहेका छन्।

यसैबीच क्षेत्रीय शक्ति राष्ट्रहरूले सम्भावित युद्ध रोक्न दौडधुप सुरु गरेका छन्। इरानी राष्ट्रपति मसुद पेजेस्कियानले साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमानसँग छलफल गरेका छन् भने कतार र इजिप्टले पनि दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरिरहेका छन्। 

तर इरानका उच्च अधिकारीहरूले भने अमेरिकाले गर्ने सानो आक्रमणलाई पनि पूर्ण युद्धको सुरुवात मानिने र त्यसको बदलामा तेल अभिभ लगायतका क्षेत्रमा भीषण प्रहार गरिने चेतावनी दिएका छन्।

-एनडीटीबी वर्ल्डबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?