+
+
Shares

फरार अभियुक्त खोज्दै पर्सा प्रहरी

करिब दुई दशकअघिको कर्तव्य ज्यानसम्बन्धी घटनामा संलग्न भई फरार रहेका अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १५ गते १६:४६

१५ माघ वीरगञ्ज । करिब दुई दशकअघिको कर्तव्य ज्यानसम्बन्धी घटनामा संलग्न भई फरार रहेका अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

पर्साको तत्कालीन बिरिन्चिवर्वा गाविस २ (हाल कालिकामाई गाउँपालिका ५) मा भएको अंशवण्डा विवादका क्रममा एक व्यक्तिको ज्यान गएको घटनामा संलग्न स्थानीय दिनेश कुमार तिवारीलाई प्रहरीले पक्राउ गरेको हो ।

गत माघ १२ मा ४३ वर्षीय अभियुक्त दिनेशलाई पोखरीया नगरपालिका ४ बाट जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको पर्सा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए ।

उनका अनुसार ०६२ फागुन १३ मा अंशवण्डाको विषयलाई लिएर भएको वादविवाद चर्किदा सोही ठाउँमा बस्दै आएका ६० वर्षीय मुक्तिनाथ तिवारीको घटनास्थलमै मृत्यु भएको थियो । घटनापछि संलग्न अभियुक्त दिनेश फरार रहँदै आएका थिए ।

पक्राउ परेका अभियुक्त तिवारीमाथि कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता भई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले चालु आर्थिक वर्षको अवधिमा चालू मुद्दामा फरार रहेका ८० जना प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकामध्ये १ जना महिला र ७९ जना पुरुष रहेका छन् ।
प्रहरीले अदालतमा विचाराधीन रहेका चालू मुद्दाका प्रतिवादीहरूलाई लक्षित गरी विशेष खोजतलास तथा पक्राउ अभियान सञ्चालन गरेको थियो ।

अभियानकै क्रममा विभिन्न मितिमा फरार रहँदै आएका प्रतिवादीहरूलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको जिप्रका पर्साको तथ्यांकले देखाउँछ ।

प्रहरीका अनुसार पक्राउ परेका सबै प्रतिवादीहरूलाई सम्बन्धित मुद्दाको अनुसन्धान तथा कानुनी कारबाहीका लागि अदालतमा हाजिर गराइएको छ ।

चालू मुद्दाका प्रतिवादीहरू पक्राउ पर्नुले शान्ति–सुरक्षा र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानूनको दायरामा ल्याउन सहयोग पुगेको प्रहरी अधिकारीहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?