+
+
Shares

तीन अमेरिकी र एक एसियन संस्थाले गर्दैछन् चुनाव पर्यवेक्षण

निर्वाचन आयोगबाट पर्यवेक्षण गर्न अनुमति पाएका विदेशी संस्थाहरू हुन्– द कार्टर सेन्टर एटलान्टा, एसियन नेटवर्क फर फ्रि इलेक्सन, इन्टरनेशनल रिपब्लिकन इन्ष्टिच्युट र द मल्टी डिसिप्लिनरी इन्ष्टिच्युट अफ ट्रेनिङ एण्ड लर्निङ म्यासाचुसेट्स ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८२ माघ १५ गते २०:३२

१५ माघ, काठमाडौं । २१ फागुनको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा चार वटा अन्तर्राष्ट्रिय संस्थाले पर्यवेक्षण गर्दैछन् ।

निर्वाचन आयोगबाट पर्यवेक्षण गर्न अनुमति पाएका विदेशी संस्थाहरू हुन्– द कार्टर सेन्टर एटलान्टा, एसियन नेटवर्क फर फ्रि इलेक्सन, इन्टरनेशनल रिपब्लिकन इन्ष्टिच्युट र द मल्टी डिसिप्लिनरी इन्ष्टिच्युट अफ ट्रेनिङ एण्ड लर्निङ म्यासाचुसेट्स ।

द कार्टर सेन्टर एटलान्टाको वेबसाइट मा उल्लेख भएअनुसार यसले विश्वका ४० देशका १२८ निर्वाचनको पर्यवेक्षण गरिसकेको छ ।

नेपालको सन्दर्भमा यसले २०६४ सालको संविधानसभाको निर्वाचन, २०७० सालको दोस्रो संविधानसभाको निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचन पर्यवेक्षण गरेको थियो । सेन्टरले २०६७ सालमा नेपालमा मतदाता दर्ताको अवस्थाको समेत अध्ययन गरेको थियो ।

द कार्टर सेन्टर एटलान्टाले २०७४ मा मतदानदेखि मतगणनासम्म २८२ भन्दा बढी मतदान केन्द्र र मतगणना स्थलको पर्यवेक्षण गरेको थियो । यसपटक पनि द कार्टर सेन्टर एटलान्टाले चुनावी वातावरण र प्रक्रियाहरूको पर्यवेक्षण गर्दैछ ।

यो संस्था अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टर र उनकी पत्नी रोस्ल्यान कार्टरले सन् १९८२ मा स्थापना गरेको संस्था हो । यसले इमोरी युनिभर्सिटीसँग साझेदारीमा विश्वभर शान्ति, लोकतान्त्रिक शासन, मानवअधिकार, कानूनी शासन, पारदर्शिता, न्याय प्रशासनलाई प्रवर्धन गर्ने गरी काम गर्दै आएको छ । यसको मुख्य कार्यालय अमेरिकाको जर्जिया राज्यको एटलान्टामा छ ।

यस्तै अर्को संस्था हो– एसियन नेटवर्क फर फ्रि इलेक्सन यो एशियामा स्वतन्त्र, निष्पक्ष निर्वाचनको प्रवर्द्धन गर्ने एउटा क्षेत्रीय गैर सरकारी संस्था हो । यसको स्थापना सन् १९९७ मा भएको हो र यसलाई एशियामा सबैभन्दा पुरानो र ठूलो निर्वाचन सम्बन्धी नेटवर्कको रूपमा मानिन्छ । यसको मुख्य कार्यालय थाइल्याण्डको बैंककमा छ ।

यो संस्थामा २७ भन्दा बढी सदस्य संगठनहरू छन् । अफगानिस्तान, बंगलादेश, भारत, नेपाल, पाकिस्तान, फिलिपिन्स, म्यान्मारका संस्थाहरू आवद्ध रहेका छन् । यो संस्थाको मुख्य उद्देश्य नै निर्वाचन प्रक्रियालाई स्वतन्त्र, निष्पक्ष र पारदर्शी बनाउन भूमिका खेल्नु हो ।

यसले राष्ट्रिय स्तरका निर्वाचनहरूमा अन्तर्राष्ट्रिय पर्यवेक्षक मिसनहरू पठाउँछ । स्थानीय नागरिक, मतदाता समूह, सञ्चारकर्मी र अन्यलाई प्रशिक्षण र कार्यशाला मार्फत लोकतान्त्रिक प्रक्रिया र चुनावी निरीक्षणका बारेमा अभिमुखीकरण लगायतका कार्यक्रम समेत सञ्चालन गर्दछ ।

नेपालको सन्दर्भमा यो संस्थाले २०६४ को संविधानसभा निर्वाचन, २०७४ को प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचन र २०७९ को संघीय र प्रदेश निर्वाचनको पर्यवेक्षण गरेको थियो । यसले समावेशिता, महिला/अल्पसंख्यकहरूको सहभागिता, प्रतिनिधित्व र निर्वाचन वातावरणको विषयलाई प्राथमिकतामा राख्दै आएको छ ।

जारी निर्वाचनका लागि समेत यसले पर्यवेक्षणको अनुमति पाएको छ ।

निर्वाचन पर्यवेक्षणको अनुमति पाएको अर्को अन्तर्राष्ट्रिय संस्था हो– इन्टरनेशनल रिपब्लिकन इन्ष्टिच्युट (आइआरआइ) । यो अमेरिकी अन्तर्राष्ट्रिय गैर–नाफामुखी संस्था हो । जसले विश्वभर लोकतन्त्र, नागरिक सहभागिता र खुला शासन प्रवर्द्धन गर्नका लागि काम गर्दै आएको छ ।

यो सन् १९८३ मा स्थापना भएको संस्था हो । अमेरिकी पूर्वराष्ट्रपति रोनाल्ड रेगनले अमेरिकी नीतिअन्तर्गत विश्वमा लोकतन्त्र प्रवर्धन गर्नका लागि भनेर स्थापना गरेका हुन् ।

यसले ५० भन्दा बढी देशमा निर्वाचन पर्यवेक्षण गरिसकेको छ । नेपालको सन्दर्भमा यसले नेपाली जनमत सर्वेक्षण मार्फत विश्वास गर्ने स्तर र लोकतन्त्र सम्बन्धी धारणा विश्लेषण गर्ने गरेको छ ।

प्रत्यक्ष रूपमा नेपालको निर्वाचन पर्यवेक्षण पहिलो पटक गर्दैछ । आगामी २१ फागुनका लागि पर्यवेक्षण गर्न यसलाई निर्वाचन आयोगले अनुमति दिएको छ ।

यस्तै अर्को नेपालको निर्वाचन पर्यवेक्षण गर्दै गरेको अर्को अन्तर्राष्ट्रिय संस्था हो– द मल्टी डिसिप्लिनरी इन्ष्टिच्युट अफ ट्रेनिङ एण्ड लर्निङ म्यासाचुसेट्स । यो पनि अमेरिकन संस्था हो । दातृ संस्थाको रुपमा रहेको यो संस्थाले यसअघि नेपालमा बाढीपीडितलाई राहत दिने लगायतका कार्य गरेको विवरणहरू  छन् । यसले यसपटक नेपालको निर्वाचन पर्यवेक्षण गर्दैछ ।

लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?