१६ माघ, काठमाडौं । ‘आगामी १ फागुनदेखि लागु हुने गरी प्रहरीको रासन स्केल र दैनिक रकम वृद्धि गर्ने निर्णय भएको छ,’ बिहीबार सरकारका प्रवक्तासमेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले भने ।
अर्यालले सुनाएको उक्त निर्णय बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो । यो निर्णयसँगै करिब ८० प्रहरी कर्मचारी लाभान्वित हुने भएका छन् ।
रासन बढ्ने निर्णय सुनाए पनि के-कति बढेको भन्नेबारे गृहमन्त्री अर्यालले केही खुलाएनन् । यसबारे नेपाल प्रहरीसँग बुझ्दा अहिले पाइआएको रासनमा सरदर १० प्रतिशतका दरले वृद्धि भएको पाइएको छ ।
यसबारे नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्ले भन्छन्, ‘समग्रमा भन्दा अहिले पाइआएको रासनको १० प्रतिशत रकम वृद्धि भएको हो ।’
जिल्लागत रूपमा रासनको रकम फरकफरक छ । हिमाली जिल्लामा महँगो हुने भएकाले त्यहाँ कार्यरत प्रहरी कर्मचारीले सोहीअनुसार रासन वापतको रकम पाउने गर्छन् ।
तराईका जिल्लाहरूमा भने तुलनात्मक रूपमा सस्तो हुने भएकाले सोही अनुसारको रासन दररेट छ ।

काठमाडौंमा अहिले एक प्रहरीले दैनिक रासन बापत २०१ रुपैयाँ २५ पैसा बुझ्दै आएका छन् । अब १ फागुनबाट यो रकम बढेर दैनिक २ सय २१ रुपैयाँ ९२ पैसा पुग्ने प्रवक्ता काफ्लेले बताए ।
त्यसैगरी, अहिले झापामा कार्यरत प्रहरी कर्मचारीले दैनिक १ सय ८० रुपैयाँ ५५ पैसा रासन बापतको रकम पाउँछन् । अब १ फागुनबाट भने दैनिक १ सय ९९ रुपैयाँ १० पैसा पाउने छन् ।
सबैभन्दा बढी रासन रकम हुम्लाको उत्तरी भेगमा कार्यरत प्रहरी कर्मचारीले पाउँछन् । त्यहाँ कार्यरत प्रहरी कर्मचारीले दैनिक ८ सय ६५ रुपैयाँ ६५ पैसा पाउँदै आएका छन् । १ फागुनबाट भने ९ सय ५२ रुपैयाँ ३६ पैसा पाउने छन् ।
त्यस्तै, चामल दैनिक ६ सय ९० ग्राम पाउने गरेकोमा १ फागुनदेखि ७ सय २० ग्रामको दरले पाउने छन् । अहिले ४०३०.५ क्यालोरी पाउनेमा अब १ फागुनदेखि ४ हजार ३ सय ६४ क्यालोरी पाउने छन् ।
यसअघि २०७८ सालमा प्रहरीको रासन वृद्धि भएको थियो । २०७२ सालको रासनमा २०७८ सालमा १५ प्रतिशत भएको थियो । अहिले त्यही २०७८ को रासनमा चार वर्षपछि १० प्रतिशत वृद्धि भएको हो ।
३ आइटम थपियो
नेपाली सेना, सशस्त्र प्रहरी बलले रासनको रूपमा अन्डा, मासु, बिस्कुटहरू पाउँदै आएका छन् । तर नेपाल प्रहरीका कर्मचारीले भने रासनको रूपमा यी तीन वस्तुहरू पाउँदैनथे ।
जसका कारण प्रहरीलाई रासनमै विभेद हुने गरेको भन्दै पटक-पटक गुनासोसमेत आउने गरेको थियो । अहिले भने यी तीन वस्तुहरू अन्डा, मासु र बिस्कुटको आइटम थप भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्ले बताउँछन् ।

तीन आइटम थप भएसँगै अब नेपाल प्रहरीका कर्मचारीले रासन वापत १९ प्रकारका सामान पाउने छन् । नेपाल प्रहरीमा रासन वापतको रकम प्रहरी कर्मचारीलाई नै उपलब्ध गराउने चलन छ । ब्यारेकमा खाना नखाने प्रहरी कर्मचारीले त्यसवापतको रकम पाउने छन् ।
रासनमा अब २५ ग्राम मासु, हाई इनर्जी बिस्कुट र दैनिक एउटा अन्डा थपिएकाे छ । २४ घण्टा ड्युटीमा खटिनुपर्ने प्रहरीलाई रासन अपुग भएको भन्दै प्रहरीले लबिइङ गर्दै आएको थियो ।
‘प्रहरीको मनोबल वृद्धिमा महत्वपूर्ण उपलब्धि’
२७ कात्तिकमा गृह मन्त्रालयमा दर्ज्यानी चिह्न लगाएपछिको पहिलो सम्बोधनमा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले रासन वृद्धिको विषय उठाएका थिए ।
‘नेपाल प्रहरीले प्राप्त गर्ने रासन र अन्य सुरक्षा निकायहरूको सन्दर्भमा असमान रहेको तथा कार्य प्रकृतिको आधारमा दैनिक कार्य सम्पादन गर्नको लागि आवश्यक आधारभूत पोषण सन्दर्भमा समेत असंगत र अपर्याप्त भएको कुरा आजका दिनमा सबैले बुझिसकेका छन्,’ कार्कीले भनेका थिए ।

त्यतिबेलै घुमाउरो तरिकाले रासन वृद्धि हुनुपर्ने विषय उनले उठान गरेका थिए । आईजीपी भएको तीन महिना नपुग्दै रासन वृद्धि गर्न उनी सफल भएका छन् ।
प्रहरीको मागलाई सम्बोधन गर्दै सरकारले रासन वृद्धि गर्ने निर्णय गरेकाले प्रहरीको मनोबल उच्च हुने उनले बताएका छन् ।
‘नेपाल प्रहरीको लामो समयदेखि उठ्दै आएको जायज तथा अपेक्षित मागलाई सम्बोधन गर्दै रासन रकम वृद्धि गर्ने निर्णय गरिएको छ । नेपाल प्रहरीको रासन वृद्धि हुनु न्याय, समानता तथा प्रहरीको मनोबल सुदृढीकरणका दृष्टिले एक महत्वपूर्ण उपलब्धि हो,’ आईजीपी कार्कीले भने ।
प्रतिक्रिया 4