+
+
Shares

जेनजी फकाउने दबाबमा एमाले

राजनीतिक परिस्थिति, घटनाक्रम र दृष्यहरू हेर्दा भने महासचिव पोखरेलले सुनाए जस्तो अनुकूल अवस्थामा एमाले देखिन्न । विशेषगरी झापा–५, को चुनावी अवस्थाले एमाले पंक्ति तरंगित छ ।

सइन्द्र राई सइन्द्र राई
२०८२ माघ १६ गते २२:१९

१६ माघ, काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनको नतिजाबारे नेकपा एमालेका महासचिव शंकर पोखरेलले केही रोचक दाबी प्रस्तुत गरेका छन् ।

पोखरेलको दाबी अनुसार आसन्न चुनावबाट एमाले बहुमत प्राप्त दल बन्ने छ । ‘विगतमा २७ प्रतिशतको हाराहारीमा मत प्राप्त गरेका थियौं, अब ३० देखि ३४ प्रतिशतको हाराहारीमा पुग्दछ भन्ने आँकलन गरेका छौ,’ उनले भने ।

प्रत्यक्ष निर्वाचित तर्फको नतिजा पनि राम्रै आउने विश्लेषण सुनाए । ‘अन्य (प्रतिस्पर्धीहरुमा) जनमत कुन रुपमा विभक्त हुन्छ भन्ने कुराले परिणामलाई प्रभाव पार्दछ । धेरैमा विभक्त भयो भने हामी बहुमत प्राप्त गर्दछौ । खास शक्तितर्फ केन्द्रीत भयो भने लार्जेस्ट मत प्राप्त गर्छौ’, पोखरेलले भने ।

शुक्रबार दिउँसो राजधानीमा आयोजित प्रेस चौतारी नेपालको कार्यक्रममा पोखरेलले नयाँ शक्तिहरुको प्रभावबारे पनि रोचक विश्लेषण सुनाए । ‘काठमाडौंमा रास्वपा प्रतिस्पर्धामा छैन । ग्रामीण क्षेत्रमा पहिलेको तुलनामा बढेको देखिन्छ । तर जित्ने तहको होइन,’ उनले भने, ‘ग्रामीण क्षेत्रको (रास्वपा) मत बढ्ने र शहरी क्षेत्रको मत घट्ने आँकलन गरिएको छ ।’

महासचिव पोखरेलले आफ्नो विश्लेषणको आधार भने गत २३ र २४ भदौको घटनालाई हेर्ने दृष्टिकोणलाई मानेका छन् । ‘२३ र २४ गतेको घटनालाई हेर्ने दृष्टिकोणमा दुइवटा जनमत छ, एउटा जनमतको एकल नेता नेकपा एमाले हो,’ पोखरेले भने, ‘अर्को दृष्टिकोणको पक्षमा रहेका दलहरू धेरै छन् ।’

अर्थात् जेनजी आन्दोलनलाई परिवर्तन मान्ने शक्तिहरू धेरै भएको र उनीहरुबीच मत विभाजित हुँदा एमालेलाई लाभ पुग्ने पोखरेलको विश्लेषण छ । सिंगो पार्टी र राष्ट्रिय राजनीतिबारे आफ्नो आकलन सुनाउने क्रममा पोखरेलले झापा–५, को चुनावी विश्लेषण पनि सुनाए ।

‘होला सोसल मिडियामा हुने हल्लाखल्लाले एक खालको प्रभाव त पारेको छ । तर मतदाताबीचको कुरा गर्दा हामी झापा–५ मा पनि सुरक्षित अवस्थामा छौं,’ उनले भने, ‘त्यहाँ कुनै प्रकारको जोखिम छैन भन्ने पार्टीको विश्लेषण छ ।’

पोखरेलको विश्लेषण सुन्दा एमाले सहज अवस्थामा रहेको र जेनजी आन्दोलनबारे पनि पूर्ववतः अडानमै रहेको देखिन्छ । पत्रकारहरुलाई पोखरेलले भने पनि, ‘२३ र २४ गतेको घटनाले मुलुक प्रतिगमनतिर गएको छ ।’

उल्टो छ परिस्थिति

राजनीतिक परिस्थिति, घटनाक्रम र दृष्यहरू हेर्दा भने महासचिव पोखरेलले सुनाए जस्तो अनुकूल अवस्थामा एमाले देखिन्न । विशेषगरी झापा–५, को चुनावी अवस्थाले एमाले पंक्ति तरंगित छ ।

जेनजी आन्दोलनको जस लिनेगरी बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको रास्वपातर्फ आकर्षण देखिएको छ । ६ माघमा उम्मेदवारी दर्ता गराउन बालेन झापा पुग्दा त्यहाँ देखिएको आकर्षणले अरूतिर पनि प्रभाव परेको छ ।

अझ प्रधानमन्त्रीका उम्मेदवार बनेर बालेन देशदौडाहामा निस्कँदा रास्वापाको माहोल बन्दै गएको छ । पूर्वको ताप्लेजुङ, पाँचथर, तेह्रथुम सहितका जिल्ला घुमेर राजधानी फर्किएका बालेन सुदुरपश्चिम घुम्दै कर्णालीतर्फ बढेका छन् । उनी जहाँ–जहाँ पुग्छन्, त्यहाँ विशाल उपस्थिति देखिएको छ ।

विशेषगरी युवा पंक्तिमा बालेनप्रति देखिएको आकर्षणबाट एमाले नेताहरू झस्किएका छन् । राजनीतिक एजेण्डामा लगातार डिफेसिन्भ बनिरहेको एमालेका पार्टी कार्यक्रम, नेताहरुको अभिव्यक्ति र डिजिटल अभियानबाट युवा (जेनजी पुस्ता) मन जित्नुपर्ने दबावमा देखिन्छन् ।

ओलीलाई केन्द्र बनाएर केही दिन यता चलिरहेको डिजिटल अभियानलाई नै उदाहरण मान्न सकिन्छ । गत बुधबार, (१४ माघमा) मात्र ओलीले लामै फेसबुक स्टाटस लेखेर जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउने बालबालिकाकाप्रति श्रद्धाञ्जली दिए । ‘ज्यान गुमाउन बाध्य भएका १९ जना नानी–बाबुहरुप्रति मेरो गहिरो श्रद्धाञ्जली छ । त्यो पीडा आजसम्म पनि मसँगै छ,’ ओलीले लेखेका छन् ।

२३ भदौको सत्ता दमनबाट ज्यान गुमाएकाहरुप्रति ५ महिनापछि ओलीले श्रद्धाञ्जली लेख्नु र त्यसदिन गोली चलाउने आदेश आफूले नदिएको प्रष्टोक्ति दिनुको उद्देश्यबारे अनेक विश्लेषण चलिरहेको छ । रास्वपा सहितका शक्तिहरूले प्रतिवादमा एउटा पोस्टर प्रचार गरिरहेका छन्, ‘न बिर्सन्छौ, न बिर्सन दिन्छौं’ ।

ओलीकै पेजमा शुक्रबारसम्म ५५ हजार बढीले अन्तर्क्रिया गरिसकेको यो स्टाटसलाई एमाले नेता–कार्यकर्ताहरुलेले अभियानकै रूपमा अगाडि बढाएका छन् । उनीहरुले आफ्नो अध्यक्षप्रति विश्वास रहेको पोष्टर तयार पारेका छन् ।

जहाँ लेखिएको छ, ‘मलाई मेरो पार्टी र अध्यक्षप्रति पूर्ण विश्वास छ । देश बनाउने हाम्रो अभियानलाई बिथोल्न सामाजिक सञ्जालमा नेतृत्वमाथि गरिएका कुटिल दुष्प्रचार र सुनियोजित घेराबन्दीविरूद्ध तपाईं हामी एक भएर प्रतिकार गरौं ।’

यो डिजिटल अभियानको मुख्य जोड भने जेनजी आन्दोलनकारीमाथि गोली चलाउने आदेश ओलीले नदिइएको सन्देश प्रवाह गर्नु रहेको लुक्दैन । ‘भ्रम चिरौंः मैले गोली चलाउने आदेश कहिल्यै दिएको छैन, दिन पनि सक्दिनँ,’ ओलीले लेखेको स्टाटसको यो हरफलाई एमाले नेता–कार्यकर्ताले मूलमन्त्र नै बनाएका छन् ।

एमाले अभियानको उद्देश्य जेनजीहरुमाथि गोली चलाउने परिस्थिति अरू शक्तिबाट तयार पारिएको बुझाउने देखिन्छ । ‘तपाईँहरुको माइतीघरको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले कुनै बल प्रयोग गरेको थियो ? थिएन । बानेश्वरको निषेधित क्षेत्र तोडिँदासम्म कुनै गोली चलेको थियो ? थिएन,’ ओलीले लेखेका छन्, ‘बालबालिकाहरुलाई घेरेर उनीहरुले यस्तो ठाउँमा पुर्याए, जहाँ कानुनले स्वतः गोली चलाउने आदेश दिन्छ ।’

ओलीको तर्क अनुसार, गोली स्वतः चलाउनुपर्ने परिस्थिति बनेको, तर आफूले आदेश दिएको होइन । यतिखेर ओलीको तर्कलाई अभियानकै रुपमा चलाउनुपर्ने एमाले कार्यकर्ताहरुको दायित्व बनिरहेको देखिन्छ ।

एमाले प्रचार विभाग संयोजक मीनबहादुर शाही भने यो अभियानलाई कुनै दबाबमा परेको अर्थमा व्याख्या गर्न नहुने बताउँछन् । ‘हाम्रो पार्टीले मानव अधिकार, लोकतन्त्र र संविधानमा विश्वास गर्छ, यस्तो विश्वासले गोली चलाउने आदेश दिन सक्दैन,’ उनी भन्छन्, ‘डिजिटल अभियानकै सन्दर्भ त चुनावमा स्वाभाविक रुपमा लिनुपर्छ ।’

लेखक
सइन्द्र राई

राई अनलाइनखबरका राजनीतिक ब्यूरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?