बार्सिलोना । स्पेन सरकारले कागजातविहीन आप्रवासीलाई कानुनी हैसियत दिने निर्णय गरेसँगै हजारौँ नेपाली आप्रवासी लाभान्वित हुने अपेक्षा गरिएको छ । तर नेपाली दूतावासबाट राहदानी बनाउन कठिनाइ भइरहेकाले उक्त अवसर गुम्ने होकि भन्ने चिन्तामा नेपालीहरु छन् ।
राहदानी संकट बढेपछि समस्या समाधानका लागि स्पेनस्थित नेपाली अगुवाहरूले परराष्ट्र मन्त्रालयको ध्यानाकर्षणसमेत गराएका छन् । नेपाली समुदायका प्रतिनिधि, एनआरएन स्पेनका पदाधिकारी, सामाजिक अभियन्ता तथा स्थानीय संघ–संस्थाका अगुवाहरूले राहदानी सेवा विस्तार, एपोइन्टमेन्ट प्रणाली सहज बनाउने र आवश्यकता अनुसार घुम्ती शिविर सञ्चालन गर्न माग गरेका हुन् ।
उनीहरूका अनुसार हाल म्याड्रिडस्थित नेपाली दूतावासले हप्तामा एक दिन मात्रै सीमित एपोइन्टमेन्ट खोल्दा ठूलो संख्यामा नेपाली राहदानीविहीन अवस्थामा बस्न बाध्य छन् । स्पेन सरकारले अप्रिलदेखि कानुनीकरण प्रक्रिया सुरु गर्ने संकेत दिइसकेको अवस्थामा समयमै राहदानी नबने धेरै नेपाली कानुनी प्रक्रियाबाट बाहिरिन सक्ने चिन्ता उनीहरूले व्यक्त गरेका छन् ।
एनआरएनए स्पेनका पूर्व अध्यक्ष तथा सामाजिक अगुवा एकराज गिरीले इमिग्रेसन खुलेको यो संवेदनशील समयमा दूतावासको हालको काम गर्ने गतिले समुदायको माग पूरा हुने कुनै सम्भावना नरहेको बताएका छन् । ‘अहिले दूतावासमाथि परेको चाप र त्यसको सीमित क्षमतालाई हेर्दा, यो समस्या दूतावासले एक्लैले समयमै समाधान गर्न सक्दैन,’ उनले अनलाइनखबरसँग भने, ‘दूतावासले अनुमान गरेको भन्दा दोब्बर–तेब्बर संख्यामा नेपालीहरू राहदानी बनाउने अवस्थामा छन् ।’
अवसरबाट वञ्चित हुने चिन्ता
गिरीका अनुसार सीमित कर्मचारीले मात्रै सेवा दिँदा हजारौँ नेपाली कानुनी अवसरबाट बञ्चित हुने जोखिम बढेको छ । ‘हाल रहेका कर्मचारीले मात्रै काम गरेर यो भार थेग्न सकिने अवस्था छैन,’ उनी भन्छन् ।
उनले समस्या समाधानका रूपमा क्षेत्रीय सहकार्य वा विशेष टोली परिचालनको सुझाव दिएका छन् । ‘सबैभन्दा व्यावहारिक विकल्प भनेको छिमेकी देशहरू–पोर्चुगल, फ्रान्स जस्ता ठाउँमा रहेका नेपाली दूतावासबाट अस्थायी रूपमा कर्मचारी झिकेर म्याड्रिडमै वा नेपालीको बाक्लो बसोबास भएका क्षेत्रमा कन्सुलर सेवा सञ्चालन गर्नु हो,’ गिरीले भने ।
‘यदि त्यो सम्भव नभए, नेपालबाटै विशेष टोली खटाएर भए पनि तत्काल राहदानी बनाउने प्रक्रियालाई प्राथमिकता दिनुपर्छ,’ उनले जोड दिए ।
जनप्रगतिशील मञ्च स्पेनका पूर्व अध्यक्ष गंगाप्रसाद भुसालले राहदानी संकट समाधानका दुई विकल्पबारे आफूले तीन दिन अघिदेखि नै निरन्तर छलफल गरिरहेको बताएका छन् । ‘यहाँको गम्भीर अवस्थाबारे सम्बन्धित निकायसम्म जानकारी पठाइसकेको छु,’ उनले अनलाइनखबरसँग भने, ‘साथीहरूसँग सहकार्य भइरहेको छ, स्पेनमा काम गरेर गएका पूर्व राजदूतहरूसँग पनि सम्पर्कमा छु । उहाँहरूले परराष्ट्र मन्त्रालयमै गएर कुरा राख्ने प्रतिबद्धता जनाउनुभएको छ ।’
भुसालका अनुसार अहिलेको अवस्था तत्काल निर्णय माग गर्ने खालको छ । ‘या त नेपालबाट कम्तीमा चार जना कर्मचारी विशेष रूपमा पठाइदिनुपर्छ, होइन भने युरोपका अन्य नेपाली दूतावासबाट केही समयका लागि कर्मचारी स्पेन पठाउने व्यवस्था हुनुपर्छ,’ उनले भने ।
उनले यही विषय एनआरएनए केन्द्रको अधिवेशनसम्बन्धी बैठकमा समेत उठिसकेको जानकारी दिँदै भने, ‘यो सामुदायिक मुद्दा भएकाले संस्थागत दबाबमार्फत समाधान खोज्नुपर्छ ।’
एकैपटक बढी संख्यामा आवेदन भर्न पाउने व्यवस्था गर्न माग
एनआरएनए स्पेनका पूर्व अध्यक्ष मुक्तबहादुर गुरुङले राहदानी संकट समाधानका लागि अहिले सबै पक्षले आ–आफ्नो ठाउँबाट दबाब र पहल गरिरहेको बताएका छन् । ‘अहिलेको मुख्य समस्या भनेकै राहदानीका लागि अनलाइन फर्म भर्ने स्लट हो,’ उनले भने, ‘दूतावासले स्लट खोल्ने संख्या बढाउनुपर्छ, एकैपटक बढी संख्यामा आवेदन भर्न पाउने व्यवस्था गर्नुपर्छ ।’
उनले विगतमा पोर्चुगलमा यस्तै समस्या आउँदा नेपालबाटै विशेष टोली पठाएर समाधान गरिएको उदाहरण स्मरण गराउँदै भने, ‘त्यही मोडेल अहिले पनि अपनाउन सकिन्छ । होइन भने कम्तीमा नजिकका दूतावासबाट कर्मचारी ल्याएर भए पनि तत्काल सेवा विस्तार गर्नुपर्छ ।’
गुरुङका अनुसार स्पेन सरकारले दिएको समयसीमा भित्र राहदानी बनाउन नसके यो ऐतिहासिक अवसर नेपाली समुदायका लागि गुम्ने खतरा छ । ‘यो ढिलाइ प्रशासनिक मात्रै होइन, हजारौँ नेपालीको भविष्यसँग जोडिएको विषय हो,’ उनले भने ।
एनआरएनए पूर्व आईसीसी सदस्य दिनेश गिरीले स्पेनमा उत्पन्न राहदानी संकटबारे पूर्व राजदूतहरूमार्फत परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराउने पहल भइरहेको बताएका छन् । ‘यहाँ रहेका नेपालीहरू राहदानीको विषयमा अत्यन्तै चिन्तित छन्,’ उनले भने, ‘केही त स्पेन बाहिरका देशमा गएर राहदानी बनाउने विकल्पबारे सोच्न थालेका छन् । तर त्यसरी बाहिर जाँदा फेरि कागजी समस्या आउला कि भन्ने डरले उनीहरू झन् अन्योलमा छन् ।’
गिरीका अनुसार अहिले आवश्यक कुरा भनेको जति सक्दो छिटो स्पष्ट निर्णयमा पुग्नु हो । ‘यो विषय अब लम्ब्याउने होइन, निचोड निकाल्ने बेला हो,’ उनले जोड दिए ।
परराष्ट्र मन्त्रालयबाट छिट्टै निर्णय आउने आशा
उनले स्पेन सरकारको पछिल्लो निर्णयलाई नेपाली समुदायका लागि ठूलो अवसर भन्दै भने, ‘हजारौँ नेपाली वैधानिक हुँदा यसको प्रभाव व्यक्तिगत जीवनमा मात्रै होइन, देशको अर्थतन्त्र र रेमिटेन्ससँग पनि जोडिन्छ । यो अवसर हो, यसलाई खेर जान दिनु हुँदैन ।’
एनआरएनए स्पेनका अध्यक्ष सन्तोष श्रेष्ठले स्पेनको नेपाली समाज सधैं एकताबद्ध रहेको र संकटको बेला झन् मजबुत रूपमा एक भएको बताएका छन् । ‘दु:ख र संकटको घडीमा यहाँको समाज अझै एक छ,’ उनले अनलाइनखबरसँग भने, ‘अहिले राहदानी समस्याको समाधानका लागि व्यक्तिगत र संस्थागत रूपमा जसले–जसले आ–आफ्नो ठाउँबाट पहल गर्नुभएको छ, म त्यसको मुक्तकण्ठले प्रशंसा गर्दछु ।’
‘दूतावास र एनआरएनबीच कुनै पनि किसिमको तिक्तता छैन,’ उनले स्पष्ट पारे, ‘हामी सबैको एउटै चिन्ता छ– यो समस्या कसरी छिटो समाधान गर्न सकिन्छ भन्ने ।’
उनले परराष्ट्र मन्त्रालयको तहबाट छिट्टै निर्णय आउने आशा व्यक्त गर्दै नेपाली समुदायलाई धैर्य गर्न आग्रह गरे । ‘कोही पनि नेपाली बिचलित नहुन म अनुरोध गर्दछु,’ उनले भने, ‘हामी सामाजिक पदमा बसेर कुनै व्यक्तिगत लाभ लिएका छैनौँ । यो समय, चिन्ता र मेहनत तपाईंहरूकै लागि हो ।’
आफूहरू पनि उही संघर्ष पार गरेर यहाँ आइपुगेको स्मरण गराउँदै उनले थपे, ‘हामी तपाईंहरूको अवस्था र चिन्ता राम्ररी बुझ्छौँ । यो सुनौलो अवसर हो । यसको फाइदा उठाउन सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारीका साथ लाग्नुपर्छ ।’
प्रतिक्रिया 4