१८ माघ, काठमाडौं । यही २० माघमा फेरि हिउँ र पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले २० माघ मंगलबार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भेगमा मध्यम खालको हिउँ र पानी पर्ने सम्भावना रहेको जानकारी दिए ।
लुम्बिनी, बागमती र कोशी प्रदेशको पहाडी तथा हिमाली भेगका थोरै ठाउँमा पनि हल्का हिउँ र पानी पर्ने सम्भावना रहेको उनले बताए ।
त्यसैगरी सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका तराई भू-भागका एक दुई ठाउँमा छिटपुटदेखि हल्का खालको पानी पर्ने सम्भावना छ ।
सुदूरपश्चिमदेखि कोशी प्रदेशसम्मको हिमाली र उच्च पहाडी भेगमा मध्यम खालको हिउँ र पानी पर्ने स्थानलाई जल तथा मौसम विज्ञान विभागले पहेँलो रंगले संकेत गर्दै सावधानी अपनाउन भनेको छ ।
बुधबारदेखि मौसममा क्रमिक सुधार हुने
माघ महिनामा हिउँ र पानी पार्ने प्रणाली नेपाल भित्रिएको यो तेस्रो पटक हो । यसअघि ९ र १० माघ तथा १३ र १४ माघमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले हिउँ र पानी परेको थियो ।
९ र १० माघको तुलनामा १३ र १४ माघको प्रणाली केही शक्तिशाली थियो । तर २० माघदेखि प्रभाव देखिने पछिल्लो प्रणाली भने अघिल्लो पटकको भन्दा कमजोर ठानिएको छ ।
वरिष्ठ मौसमविद पौडेल भन्छन्, ‘हिउँ र पानी पार्ने यो प्रणाली अघिल्लो पटकको भन्दा केही कमजोर छ । त्यसैले अघिल्लो हप्ताको जस्तो धेरै हिउँ र पानी पर्ने सम्भावना भने देखिँदैन ।’
२१ माघ बुधबारको दिनदेखि भने मौसममा क्रमिक सुधार हुने वरिष्ठ मौसमविद् पौडेलले जानकारी दिए ।
नेपालमा केही वर्षयता हिउँदयाम सुक्खा हुँदै गएका छन् । १६ मंसिरदेखि १५ फागुन बीचको अवधिलाई हिउँद अवधि मानिन्छ । यो अवधिमा सरदर करिब ६० मिलिमिटरसम्म पानी पर्दछ । तर यस वर्ष १६ मंसिरदेखि १३ माघ बिहान ८:४५ बजेसम्म सरदर ६.०२ प्रतिशत अर्थात ३.६ मिलिमिटर मात्र वर्षा भएको जल तथा मौसम विज्ञान विभागको रेकर्ड छ ।
प्रतिक्रिया 4