News Summary
Generated by OK AI. Editorially reviewed.- पाकिस्तान सरकारले आईसीसी टी–२० विश्वकप २०२६ मा भारतविरुद्ध हुने खेल बहिष्कार गर्ने घोषणा गरेको छ।
- पाकिस्तानले भारतसँगको खेलमा मैदानमा नउत्रिने स्पष्ट गर्दै अन्य खेल खेल्ने जनाएको छ।
- खेल बहिष्कार गर्दा पाकिस्तानले दुई अंक गुमाउने र नेट रनरेटमा नकारात्मक असर पर्नेछ।
१८ माघ, काठमाडौं । पाकिस्तानले आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत भारतविरुद्ध हुने समूह चरणको खेल बहिष्कार गर्ने घोषणा गरेको छ।
पाकिस्तान सरकारको आधिकारिक ‘एक्स’ (ट्विटर) खातामार्फत जारी भएको पोस्टमा पाकिस्तान टोलीलाई विश्वकप खेल्न श्रीलंका जान अनुमति दिइएको भए पनि १५ फेब्रुअरी २०२६ मा भारतसँग तय भएको खेलमा मैदानमा नउत्रिने स्पष्ट गरिएको छ।
सरकारी पोस्टमा उक्त निर्णयको कारण भने खुलाइएको छैन। पोस्टमा भनिएको छ, ‘पाकिस्तान सरकार आईसीसी टी–२० विश्वकप २०२६ मा सहभागिताका लागि पाकिस्तान क्रिकेट टोलीलाई अनुमति दिन्छ, तर १५ फेब्रुअरी २०२६ मा भारतविरुद्ध हुने खेलमा टोली मैदानमा उत्रिने छैन।’

यसअघि बंगलादेशले भारतमा खेल्न अस्वीकार गरेपछि विश्वकपबाट हटाइएको थियो जसपछि पाकिस्तानले बंगलादेशको समर्थन गर्दै सरकारसँग छलफलपछि मात्र सहभागिताबारे निर्णय लिने जनाएपछि पाकिस्तानको सहभागितामाथि पनि प्रश्न उठेको थियो।
बंगलादेशको पक्षमा खुलेर समर्थन गरेको पाकिस्तानले आईसीसीले भारतलाई पक्षपात गरेको आरोप लगाउँदै आएको थियो। त्यसपछि अन्तिम निर्णय सरकारको हातमा हुने पीसीबी अध्यक्ष मोहसिन नक्वीले बताएका थिए।
पाकिस्तानले भारतबाहेक अन्य सबै खेल खेल्ने भएको छ। समूह ‘ए’ मा रहेको पाकिस्तानले फेब्रुअरी ७ मा नेदरल्यान्ड्ससँग पहिलो खेल खेल्नेछ। त्यसपछि फेब्रुअरी १० मा अमेरिकासँग र फेब्रुअरी १८ मा नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। भारतसँगको खेल बहिष्कार गरेपछि पाकिस्तानले उक्त खेलका दुई अंक गुमाउनेछ।
आईसीसीको खेल नियमअनुसार खेल बहिष्कार गर्दा पाकिस्तानको नेट रनरेटमा नकारात्मक असर पर्नेछ भने भारतको नेट रनरेटमा कुनै असर पर्ने छैन।
प्रतिक्रिया 4