News Summary
Generated by OK AI. Editorially reviewed.- फ्लोरिकल्चर एसोसिएसन नेपालले आगामी ५ चैतदेखि काठमाडौंको भृकुटीमण्डपमा चार दिनसम्म \'२७औं फ्लोरा एक्स्पो २०८२\' आयोजना गर्ने भएको छ।
- मेलाको मूल नारा \'स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय\' रहेको छ र ८ चैतसम्म सञ्चालन हुनेछ।
- मेलामा नर्सरी व्यवसायीबीच उत्कृष्ट स्टल, ल्यान्डस्केपिङ, मौसमी फूल लगायत विभिन्न विधामा प्रतिस्पर्धा गरिने छ।
२० माघ, काठमाडौं । नेपाली पुष्प व्यवसायको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी ५ चैतदेखि काठमाडौंमा ‘२७औं फ्लोरा एक्स्पो २०८२’ आयोजना हुने भएको छ ।
फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा हुन लागेको यो मेला भृकुटीमण्डपमा चार दिनसम्म चल्ने छ ।
यस वर्षको एक्स्पो ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नारासाथ सञ्चालन हुन लागेको फ्यानले जनाएको छ ।
८ चैतसम्म चल्ने मेलाले पुष्प क्षेत्रका उत्पादक, व्यवसायी र उपभोक्तालाई एउटै थलोमा जोड्ने विश्वास लिइएको छ ।
मेलालाई आकर्षक र प्रतिस्पर्धात्मक बनाउन विभिन्न विधामा नर्सरी व्यवसायीबीच प्रतिस्पर्धा गराइने मेला संयोजक तथा फ्यानका वरिष्ठ उपाध्यक्ष रामबहादुर तामाङले जानकारी दिए ।
उनका अनुसार एक्स्पोमा उत्कृष्ट स्टल, ल्यान्डस्केपिङ, मौसमी फूल, आलंकारिक बोटबिरुवा, पुष्प सजावट र कट फ्लावर (गुलाब, जरबेरा र कार्नेसन) लगायत विधामा प्रतिस्पर्धा हुनेछ ।
सहभागी एउटा नर्सरी वा फर्मले अधिकतम तीन विधामा मात्र प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरिएको छ । उत्कृष्ट हुनेलाई मेला उद्घाटनमा सिल्ड, नगद पुरस्कार र प्रमाणपत्रद्वारा सम्मान गरिने आयोजकले जनाएको छ ।
एक्स्पोमा सहभागी हुन चाहने व्यवसायीका लागि २२ माघ बिहान १० बजेदेखि स्टल बुकिङ खुला गरिने भएको छ । फ्यानको कार्यालयमा ५० प्रतिशत अग्रिम शुल्क बुझाएर स्टल सुरक्षित गर्न सकिने छ ।
आयोजकका अनुसार स्टल शुल्क फ्यानका सदस्यका लागि २९ हजार रुपैयाँ र गैरसदस्यका लागि ५० हजार रुपैयाँ तोकिएको छ । यस्तै रेस्टुरेन्ट स्टलका लागि ५० हजार रुपैयाँ निर्धारण गरिएको छ ।
नर्सरी व्यवसायी, थोक तथा खुद्रा विक्रेता, आयात–निर्यातकर्ता र सामग्री आपूर्तिकर्ताका लागि यो मेला व्यवसाय विस्तार गर्ने महत्त्वपूर्ण अवसर हुने फ्यानको दाबी छ ।
मेलामा ठूलो संख्यामा पुष्पप्रेमी र उपभोक्ताको उपस्थिति रहने अपेक्षा छ ।
प्रतिक्रिया 4