+
+
Shares

मुस्ताङमा जनवरीमा पर्यटक आगमन दोब्बरले वृद्धि

एक्याप जोमसोमका अनुसार चालु वर्षको सन् २०२६ को जनवरीमा १० हजार ८२२ विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् ।

रासस रासस
२०८२ माघ २० गते १५:४८

२० माघ, मुस्ताङ । मुस्ताङको प्रतिकूल चिसो याममा समेत पर्यटकको सङ्ख्या वृद्धि भएको छ । विगतका वर्षभन्दा यस वर्षको जनवरी पहिलो महिनामै यहाँ पर्यटकीय उभार आएको हो ।

मुस्ताङस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार चालु वर्षको सन् २०२६ को जनवरीमा १० हजार ८२२ विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् । एक्याप प्रमुख राजेश गुप्तका अनुसार यहाँ जनवरी पहिलो महिनामा सार्क राष्ट्रबाट १० हजार ४५ र अन्य फरेनर विदेशी पर्यटक ७७७ जना मुस्ताङ भित्रिएका हुन् ।

यसअघि सन् २०२५ को जनवरी पहिलो महिनामा चार हजार ३४६ विदेशी पर्यटक मुस्ताङ भित्रिएको एक्याप जोमसोम कार्यालयको पर्यटकीय तथ्यांकमा उल्लेख छ ।

सन् २०२५ को जनवरीमा भन्दा सन् २०२६ को जनवरीमा छ हजार ४७६ ले वृद्धि भएको एक्याप जोमसोमका कार्यालय प्रमुख गुप्तको भनाइ छ ।

सन् २०२५ को जनवरी पहिलो महिनामा सार्क राष्ट्रबाट तीन हजार ८३० र अन्य फरेनर विदेशी पर्यटकको सङ्ख्या ५१६ रहेको थियो । एक्यापका अनुसार सन् २०२५ को जनवरीभन्दा सन् २०२६ को जनवरीमा सार्क राष्ट्रतर्फ छ हजार २१५ जना र अन्य राष्ट्रका फरेनर विदेशी पर्यटक २६१ जनाले वृद्धि भएको हो ।

सन् २०२५ को जनवरीदेखि डिसेम्बरसम्ममा एक लाख ६१ हजार १४२ विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए ।

विशेषगरी मुक्तिनाथ दर्शनका लागि भारतीय पर्यटकको आगमन सङ्ख्या उल्लेख्य वृद्धि भएको कार्यालय प्रमुख गुप्तले बताए ।

राष्ट्रिय गौरवको बेनी–जोमसाम सडकमार्ग बर्सेनि सहज बन्दै जान थालेकाले विदेशी पर्यटकको सङ्ख्या अप्रत्याशित रूपमा वृद्धि हुँदै जान थालेको प्रमुख गुप्तको भनाइ छ । यहाँ सन् २०२६ मा दुई लाख विदेशी पर्यटक भित्रिने अनुमान रहेको एक्यापको ठम्याइ छ ।

मुस्ताङमा हिउँदयामको प्रतिकूल मौसमकका बाबजुद पर्यटकको सङ्ख्या वृद्धि हुँदै जान थालेपछि यहाँका पर्यटन व्यवसायी उत्साहित भएको पाइएको छ । मुक्तिनाथ होटल एसोसिएसनका अध्यक्ष सुरज गुरुङले पर्यटकीय अफसिजनको समयमा समेत विदेशी पर्यटकको आगमन बढेकाले यहाँ पर्यटन व्यवसायीहरूलाई आशा जगाएको बताए ।

विगतका वर्षहरूमा पर्यटक अफसिजनका कारण बन्द हुने मुस्ताङका होटल सञ्चालनमा छन् । मुस्ताङमा सडकको विकाससँगै बाह्रै महिना पर्यटकको आगमन भइरहेकाले यहाँ व्यवसायीहरुलाई मौसम प्रतिकूलताले असर नपारेको अध्यक्ष गुरुङले बताए ।

पुस लागेसँगै यहाँको मौसमी तापक्रम माथिल्लो मुस्ताङमा २० डिग्री र तल्लो मुस्ताङमा माइनस १२ सम्म झर्ने गरेको छ । चिसोका कारण यहाँको स्थानीय जनजीवन आंशिक रूपमा प्रभावित रहे पनि पर्यटकको आगमनमा चिसोले बाधा पुगेको छैन ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?