News Summary
Generated by OK AI. Editorially reviewed.- गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले स्पेनमा रहेका नेपालीको राहदानी समस्या समाधानका लागि पहल थालेका छन्।
- स्पेन सरकारले कागजातविहीन आप्रवासीलाई कानुनी हैसियत दिने घोषणा गरे पनि नेपाली नागरिकलाई राहदानी नवीकरणमा समस्या भइरहेको छ।
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालले परराष्ट्र मन्त्रालयले स्पेन पठाउन विशेष टोली निर्णय गरिसकेको र कार्यान्वयन प्रक्रियामा रहेको बताए।
२० माघ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले स्पेनमा रहेका नेपालीले भोग्दै आएका समस्या समाधान पहल थालेको छ ।
एनआरएनए अध्यक्ष डा. बद्री केसीले स्पेनमा रहेका नेपालीको राहदानी सम्बन्धी समस्या समाधानका लागि पहल थालेका हुन् । उनले समस्या समाधानका लागि राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालको ध्यानाकर्षण गराएका छन् । स्पेन सरकारले कागजातविहीन आप्रवासीलाई कानुनी हैसियत दिने घोषणा गरे पनि नेपाली नागरिक पासपोर्ट (राहदानी) नवीकरण तथा नयाँ पासपोर्ट नहुँदा समस्यामा पर्दै आएका छन् ।
पासपोर्ट नवीकरण र नयाँ पासपोर्ट पाउन ढिलाई भइरहेको विषयमा अध्यक्ष केसीले महानिर्देशकको ध्यानाकर्षण गराएका हुन् । उनले स्पेन सरकारले कागजातविहीन आप्रवासी श्रमिकलाई अभिलेखीकरणका लागि दिएको अवसर उपयोग गर्न राहदानी विभागले तत्काल घुम्ती राहदानी शिविर पठाउनुपर्ने बताए ।
‘अहिले त्यहाँ राहदानी नभएका तथा म्याद सकिएका नेपालीको संख्या ठूलो छ,’ उनले भने, ‘स्पेनस्थित नेपाली दूतावासमा उपलब्ध जनशक्तिले मात्र यस समस्यालाई सम्बोधन गर्न नसकेको गुनासो आइरहेको छ, त्यसैले काठमाडौंबाट नै विशेष टोली पठाउनुपर्छ ।’ स्पेनमा कागजातविहीन नेपालीको यकिन तथ्यांक छैन । तर, पनि यो अवसरमा सहभागी हुन पाएको खण्डमा धेरै नेपालीले वैधानिक हैसियत कायम हुन सक्ने उनको भनाइ थियो । महानिर्देशक अर्यालले परराष्ट्र मन्त्रालयले यथाशीघ्र विशेष टोली स्पेन पठाउने निर्णय गरिसकेको र उक्त निर्णय कार्यान्वयन प्रक्रियामा रहेको बताएका थिए । यसअघि परराष्ट्रमन्त्री, परराष्ट्र सचिव तथा युरोप डिभिजन प्रमुखलाई छुट्टाछुट्टै भेटी स्पेन सम्बन्धी समस्या गर्न माग गरिएको थियो ।
प्रतिक्रिया 4