News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली संगीत क्षेत्रका ‘कुटुम्ब’ र विपुल क्षेत्रीले लन्डनको ट्रोक्सीमा ८ फेब्रुअरी २०२६ मा ‘नेपाल म्यूजिक फेस्टिभल’ मा संयुक्त प्रस्तुति दिनेछन्।
- मामाघर इन्टरटेनमेन्ट यूकेले नेपाली संगीत र संस्कृतिलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रवर्धन गर्ने उद्देश्यले ‘नेपाल म्यूजिक फेस्टिभल’ आयोजना गरेको छ।
- ‘कुटुम्ब’ले परम्परागत लोक वाद्यलाई आधुनिक शैलीमा प्रस्तुत गर्ने र विपुल क्षेत्रीको ‘द ट्राभलिङ ब्यान्ड’ले लोक पप गीतमार्फत लोकप्रियता पाएको छ।
लन्डन । नेपाली संगीत क्षेत्रका दुई विख्यात धरोहर ‘कुटुम्ब’ र विपुल क्षेत्रीले लन्डनमा एउटै स्टेज सेयर गर्ने तयारी गरेका छन् ।
यहाँ पहिलोपटक गर्न लागिएको ‘नेपाल म्यूजिक फेस्टिभल २०२६’ मा ‘कुटुम्ब’ र विपुल आफ्नो ‘द ट्राभलिङ ब्यान्ड’ का साथ उपस्थित हुने आयोजक मामाघर इन्टरटेनमेन्ट यूकेले जानकारी दिएको छ ।
आउँदो ८ फेब्रुअरी शनिबार लन्डनको प्रतिष्ठित भेन्यू ट्रोक्सीमा ‘कुटुम्ब’ र ‘विपुल एन्ड द ट्राभलिङ ब्यान्ड’ गुन्जन लागेका हुन् । पफर्मेन्सका लागि दुबै व्याण्डका १६ सदस्यहरू फेब्रुअरी २५ मा लन्डन उत्रने कार्यक्रम छ ।
नेपाली संगीत, संस्कृति र पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रवर्धन गर्ने उद्देश्य राखेर ‘नेपाल म्यूजिक फेस्टिभल’ को सोच बनाइएको मामाघर इन्टरटेनमेन्ट यूकेका निर्देशक विमल तिमिल्सिनाले जनाए ।
गत वर्ष लन्डनकै अर्को प्रतिष्ठित भेन्यू ओटुमा ‘कन्दरा’ ब्याण्डको प्रस्तुतिमा ऐतिहासिक कन्सर्ट सम्पन्न गरेको मामाघरले यसपटक पनि लोकप्रिय कलाकार र व्याण्ड छानेको छ ।
‘हाम्रो लक्ष्य नै प्रतिष्ठित भेन्यूमा क्वालिटी कार्यक्रम पस्कनु हो, त्यो पनि सबै पुस्ताका दर्शक समेट्ने गरि’, निर्देशक तिमिल्सिना भन्छन्, ‘जसले कलाकार र दर्शक दुवैको अनुभवलाई विशेष बनाउनेछ भन्ने हाम्रो विश्वास छ ।’
‘नेपाल म्यूजिक फेस्टिभल २०२६’ ले बेलायतमा रहेका नेपाली समुदायलाई एकै स्थानमा जोड्दै नेपाली संगीत र संस्कृति प्रवर्धनमा योगदान दिने विश्वास तिमिल्सिनाको छ ।
परम्परागत नेपाली लोक वाद्य-संगीतलाई आधुनिक शैलीमा विश्वभर चिनाउन सफल ब्याण्ड हो कुटुम्ब । सारङ्गी, बाँसुरी, मादललगायत मौलिक नेपाली बाजाका माध्यमबाट नेपाली लोकधुनलाई कुटुम्बले जीवन्त बनाउँदै आएको छ ।
त्यस्तै, पछिल्लो पुस्ताका चर्चित गायक विपुल र उनको ‘द ट्राभलिङ ब्यान्ड’ नेपाली लोक पप शैलीका गीतले लोकप्रिय छन् । ‘सिन्डिकेट’, ‘असार’, ‘सिरिरी’, ‘राम साइली’ आदि उनका चर्चित गीत हुन् ।
सन् १९३० को दशकमा निर्मित ‘ट्रोक्सी’ उत्कृष्ट साउन्ड सिस्टम, भव्य स्टेज र विशाल दर्शक क्षमताका कारण प्रतिष्ठित छ । लाइमहाउस स्टेसन नजिक अवस्थित यो एतिहासिक भेन्यूमा बलिउड, हलिउडका नामी कलाकारले समेत प्रस्तुति गर्ने गरेका छन् ।
प्रतिक्रिया 4