+
+
Shares

बस दुर्घटनापछि बहस : टाढा-टाढाबाट विद्यार्थी ओसार्नु कति उचित ?

उक्त दुर्घटनापछि विद्यालयहरुले कति टाढाबाट विद्यार्थी बोकेर ल्याउने भन्ने विषयमा बहस भइरहेको छ ।

टोपराज शर्मा टोपराज शर्मा
२०८२ माघ २१ गते २०:०६

२१ माघ, बुटवल । मंगलबार बिहानै रुपन्देहीको ओमसतिया–४ बसन्तपुरमा तिलोत्तमाको मणिग्रामको शान्ति नमुना माविकाे विद्यार्थी बोकेको बस दुर्घटनामा पर्‍यो । दुर्घटनामा परेर २१ जना विद्यार्थी घाइते भए ।

बिहान साढे ६ बजेतिर धकधइतर्फबाट आउँदै गरेको लु १ ख ८६७५ नम्बरको बस धान बोकेर भैरहवाबाट पूर्वतर्फ जाँदै गरेको लु ३ त ३५३० नम्बरको ट्याक्टरसँग ठोकिँदा कक्षा ११ र १२ मा पढ्ने २१ जना विद्यार्थी घाइते भएका हुन् ।

ती मध्ये १५ जना उपचारपछि मंगलबारै डिस्चार्ज भए । गम्भीर घाइते ६ जनाको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार जारी छ । ।

उक्त दुर्घटनापछि विद्यालयहरुले कति टाढाबाट विद्यार्थी बोकेर ल्याउने भन्ने विषयमा बहस भइरहेको छ ।

संविधानले विद्यालय तह (कक्षा १२)सम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएको छ । जसअनुसार राज्यले लगानी गरिरहेको छ । तर एउटा स्थानीय तहमा सञ्चालित ठूला सामुदायिक विद्यालयहरुले टाढा–टाढाका अर्को पालिका र अर्को जिल्लाबाट समेत बसमा विद्यार्थी बोक्ने परिपाटी छ । यसबारे स्पष्ट कानुनी व्यवस्था नहुँदा यो क्रम रोकिएको छैन । निजी विद्यालयहरुले पनि अर्को जिल्लाबाट समेत विद्यार्थी ओसार्ने गरेका छन् ।

टाढाबाट विद्यार्थी बोक्नुपर्दा गाडीको यान्त्रिक अवस्था, सडकको अवस्था, प्रतिकूल मौसम, समयको चाप (हतार)लगायत कारणले दुर्घटना हुन जान्छ । यसको मतलब नजिक वा पालिकाभित्र गाडीमा विद्यार्थी बोक्दा दुर्घटना हुँदैन भन्न खोजिएको होइन । तर टाढाको यात्रामा दुर्घटनाको जोखिम बढी हुन्छ ।

केही समयअघि रुपन्देहीकै शुद्धोधन गाउँपालिकामा एउटा निजी विद्यालयको बसमा आफैं आगो लागेको घटना स्मरण गर्दै अभिभावक संघका केन्द्रीय सदस्य एवं रुपन्देही अध्यक्ष लोकनाथ ज्ञवाली भन्छन्, ‘विद्यालयले भाडामा लिने बस अधिकांश पुराना र थोत्रा, सम्बन्धित निकायबाट नियमित र प्रभावकारी अनुगमन अभाव जस्ता कारणले बेला बेलामा दुर्घटना निम्तिने गरेका छन् ।’

टाढाबाट यात्रा गर्नुपर्दा विद्यार्थीले बस भाडावापत अतिरिक्त शुल्क तिर्नुपर्ने हुन्छ भने र बस भाडामा लिएर चलाउँदा विद्यालयको पनि खर्च बढेको छ । विद्यालयको खर्च बढ्नु भनेको राज्यकै खर्च बढ्नु हो ।

टाढाबाट विद्यार्थी बोक्दा अभिभावकलाई आर्थिक भार थपिने, ट्राफिक जाम र दुर्घटनाको जोखिम हुने भएकाले आफ्नो पालिकाका विद्यार्थीलाई आफ्नै पालिकामा गुणस्तरीय शिक्षा दिलाउन पालिकाहरु लाग्नुपर्ने ज्ञवालीको सुझाव छ ।

‘एउटा पालिकाबाट अर्को पालिकामा विद्यार्थी जान दिनु वा पठाउनु पालिकाको नेतृत्वको लाचारी हो, अक्षमता हो, एक प्रकारले संविधानको बर्खिलाप पनि हो,’ ज्ञवाली भन्छन्, ‘आफ्नो पालिकाभित्रका विद्यालयलाई अब्बल बनाएर त्यहीँका विद्यालय रोज्ने, बाहिर जानु नपर्ने बनाउने मुख्य दायित्व पालिकाको राजनीतिक र शिक्षा शाखाको दायित्व हो, तर उनीहरुले यसमा बेवास्ता गरेका छन् ।’

५ कक्षामाथिका विद्यार्थीलाई कम्तीमा आधा घण्टा हिंडेर पुगिने विद्यालय जान दिनु स्वास्थ्यका दृष्टिले पनि राम्रो हुने उनको तर्क छ ।

पालिकाका दुई–चार वटा विद्यालय मात्र राम्रो भएर नपुग्ने भन्दै उनले सबै विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सम्बन्धित निकायको ध्यान जानुपर्ने बताए ।

जिल्ला शिक्षा समन्वय इकाई रुपन्देहीका प्रमुख विष्णु पन्थीले विद्यालयले कति टाढासम्मका विद्यार्थी भर्ना गर्न मिल्ने र ओसार्न मिल्ने भन्ने विषयमा यसअघि पनि थुप्रै प्रश्न उठेको तर ठोस निकास ननिस्केको बताए ।

पछिल्लो राष्ट्रिय शिक्षा नीतिमा ‘स्कुल जोन’ र विद्यालय सेवा क्षेत्रबारे उल्लेख भएको जानकारी दिँदै पन्थीले अब यसबारे कानुनी स्पष्टता आवश्यक रहेको औंल्याए ।

‘अर्को पालिकाका विद्यार्थी भर्ना गर्न र बसमा बोक्न नमिल्ने नै भन्ने त छैन तर सकभर पालिकाहरुले आफ्नो पालिकाबाहिर विद्यार्थी जान नपर्ने वातावरण बनाएको राम्रो हो’ पन्थी भन्छन्, ‘अहिले आएको राष्ट्रिय शिक्षा नीतिले कानुनमै यसबारे स्पष्ट व्याख्या गरिदिनुपर्छ ।’

शान्ति नमुना माविका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले विद्यार्थी र अभिभावकको माग अनुसार रोहिणी गाउँपालिकाको धकधइसम्मका विद्यार्थी भर्ना गरेको बताउँछन् ।

टाढाका विद्यार्थी ओसार्न पश्चिम नेपाल बस व्यवसायी प्रालिमा आबद्ध बस विद्यालयले भाडामा लिएको उनले बताए । त्यसैले दुर्घटनामा घाइते विद्यार्थीको उपचार खर्च पनि बस समितिले नै व्यहोर्ने लामिछानेले बताए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी गणेश सापकोटाले विद्यालयले भाडामा चलाउने बसहरुको यान्त्रिक अवस्था, चालकको योग्यता, बसमा यात्रा गर्ने विद्यार्थीको दुर्घटना बीमा आदि पक्षबारे सम्बन्धित सरकारी निकायको अनुगमनको कमी देखिएको औंल्याए ।

डीएसपी सापकोटाका अनुसार बिहानपख बाक्लो हुस्सुका कारण सवारी साधनको बत्तीको भिजिबिलिटी कम भएर बस र ट्याक्टर ठोक्किएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

ट्याक्टरले ओभरलोड हुने गरी धान बोकेको उनले बताए । बस र ट्याक्टरका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले बताए ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?