+
+
Shares

विश्व चर्चित फुटबल क्लबले फेसबुकमा नेपाली गीत राखेपछि शुभेच्छुकमा हल्लीखल्ली

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २१ गते १६:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इटालियन फुटबल क्लब इन्टर मिलानले आफ्नो आधिकारिक फेसबुक पेजमा नेपाली गीत बजाएर नेपाली भाषामा क्याप्सन लेखेको छ।

युरोपको विख्यात फुटबल क्लब इन्टर मिलानको अफिसियल फेसबुक पेज स्क्रोल गर्नुभएको छ ? त्यहाँ तपाईंको मन पगाल्ने एउटा सामाग्री छ । यो विश्व चर्चित फुटबल क्लबले नेपाली भाषामा क्याप्सन लेख्दै, पृष्टभूमिमा नेपाली गीत बजाएको छ । रमाइलो संयोग त के भने, उक्त गीत नेपालका प्रहरी प्रमुख दानबहादुर कार्कीले रचना गरेका हुन् ।

यो गीत हो, आँखा झिमझिम भो… । गज्जब टिभी युट्युब च्यालनबाट ७ महिनाअघि सार्वजनिक भएको गीत सदीक्षा कट्टेल र समीर खरेलले गाएका हुन् । यसमा बसन्त सापकोटाको संगीत छ । गीतको म्युजिक भिडियो पनि बनेको छ, जसमा कविता नेपाली र सुनिल क्षेत्री फिचर्ड छन् ।

यही गीतको एउटा पंक्ति पृष्टभूमिमा बजाएर इन्टर मिलानको आधिकारिक फेसबुक पेजमा लेखिएको छ, ‘सबैभन्दा महान : रोनाल्डो द फेनोमेनन ।’ नेपालबाट थप सामग्रीका लागि हामीलाई पछ्याउनुहोस् ।

नेपाली गीतको पृष्ठभूमिमा राखिको भिडियो भने करिब ३ दशक पहिलाको हो । सन १९९७–९८ को सिजनमा इन्टरले युईएफए कपको उपाधि जितेको थियो । त्यो समय ब्राजिलका चर्चित फुटबलर रोनाल्डो यस टोलीमा थिए ।

त्यसमा थुप्रै नेपाली शुभेच्छुकले प्रतिक्रिया दिएका छन् । उनीहरूमध्ये कतिपयले इन्टर मिलानप्रति आभार व्यक्त गर्दे भनेका छन्, ‘नेपाली गीत सुनाइदिनुभयो, धन्यवाद ।’

नेपाली भाषामा क्याप्सन लेखेर, नेपाली गीत नै बजाएपछि कतिले भने ठट्यौली गरेका छन् । एक फेसबुक प्रयोगकर्ताले लेखेका छन्, ‘इन्टरको एडमिन नेपाली नै छन् कि क्या हो ।’ धेरैजनाले भने यसमा सुखद् आश्चर्य व्यक्त गरेका छन् । कसैले लेखेका छन्, ‘फेक होला भनेको त आइडी हेर्दा रियल रहेछ । अचम्म लाग्यो ।’

अर्का प्रयोगकर्ता लेख्छन्, ‘पेज ह्याक भयो कि क्या हो ?’ ‘हन, ह्वाट ह्याप्पेन्ड टु इन्टर टुडे ?’

भनिहालौं,
इन्टर मिलान, चर्चित इटालियन फुटबल क्लब एक हो । सन् १९०८ मा स्थापना भएको यो क्लब मिलान सहरमै जन्मिएको भए पनि यसको पहिचान केवल इटालीमै सीमित छैन, विश्वभर फैलिएको छ । सिरी ए मा गतसिजन उपविजेता भएको इन्टर मिलान यस वर्ष २३ खेल खेलिसक्दा तालिकाको शीर्ष स्थानमा छ । च्याम्पियन्स लिगमा १० स्थानमा रहँदै नकआउट चरणमा पुग्नका लागि प्लेअफ खेल्ने सूचीमा अटाएको छ ।

इन्टर मिलानको खास विशेषता भनेको– यसले आजसम्म इटालियन शीर्ष लिग सेरी ‘ए’ बाट कहिल्यै रेलिगेसन भोग्नुपरेको छैन । इन्टर मिलानले सिरी ‘ए’ मा १८ उपाधि जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?