२१ माघ, धनगढी । कैलाली–४ का मतदाता परिवर्तनशील छन् । २०४८ सालदेखि २०७९ सम्म भएका संसदीय निर्वाचनमा यहाँका मतदाताले लगातार एउटै दल र उम्मेदवारलाई जिताएका छैनन् ।
तत्कालीन अवस्थामा धनगढीसहित कैलाली–४ नै कायम रहेको यो क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीका उम्मेदवारले नै जिते पनि मतदाताले मत भने परिवर्तन गर्दै आएका छन् ।
२०४८ सालमा भएको पहिलो संसदीय चुनावमा नेपाली कांग्रेसका टेकबहादुर चोखालले चुनाव जिते । २०५१ को दोस्रो चुनावमा उनलाई पराजित गर्दै एमाले महेश्वर पाठक निर्वाचित भएका थिए ।
२०५६ मा फेरि मतदाताले नेपाली कांग्रेसका चोखाललाई जिताएर पठाए । २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा भने कैलालीमा ६ वटा निर्वाचन क्षेत्र थिए ।
त्यो बेला ५ नम्बर क्षेत्रमा पर्ने यहाँबाट माओवादी केन्द्रका लेखराज भट्ट विजयी भएका थिए । नेपाली कांग्रेसका दीर्घराज भाटलाई चार हजार मतान्तरले पराजित गर्दै भट्टले चुनाव जितेका थिए ।
तर, २०७० सालमा भएको दोस्रो संविधानसभामा भने भट्टलाई कांग्रेसकै उनै भाटले पराजित गरिदिए । २०७४ को चुनावमा फेरि मतदाताले माओवादीकै लेखराज भट्टलाई अनुमोदन गरे । कांग्रेसका सुनिलकुमार भण्डारी भट्टसँग पराजित भएका थिए । २०७९ को चुनावमा भने कांग्रेसका वीरबहादुर बलायरले फेरि भट्टलाई पराजित गरेका थिए ।
यहाँ २०६४ सालदेखि संसदीय चुनावमा हारजित बेहोर्दै आएका एमाले उपमहासचिव भट्ट फेरि संसदीय यात्रा तय गर्न कैलाली–४ बाटै चुनावमा होमिएका छन् । यो पटक भट्टसँग प्रतिस्पर्धामा अन्य पार्टीका पाका नेता भने छैनन् ।
नेपाली कांग्रेसले आनन्द भनेर चिनिने गोरखबहादुर विष्टलाई उम्मेदवार बनाएको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले हरिराम चौधरी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले खेमराज कोइरालालाई अघि सारेको छ । प्रमुख पार्टीबाट उम्मेदवार बनेका यी तिनै नेता पहिलो पटक संसदीय चुनावको अनुभव लिइरहेका छन् ।
एमाले उपमहासचिव भट्टले २१ फागुनमा हुने निर्वाचनमा विगतमा चुनाव नलडेका नयाँ नेताहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।
भट्ट भन्छन्- राष्ट्रियता रक्षाका लागि मेरो उम्मेदवारी
एमाले उपमहासचिव लेखराज भट्टले सिंगो मुलुकको राष्ट्रियताको रक्षाका लागि आफ्नो उम्मेदवारी भएको बताउँदै आएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले उनकै क्षेत्रमा पर्ने गोदावरीमा राजधानी तय गरे पनि अहिलेसम्म स्थापना गर्न सकेको छैन ।
भट्ट अहिले प्रदेश राजधानी निर्माण गर्ने प्रतिबद्धता गर्दै मत मागिरहेका छन् भने विगतमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भएका बेला अघि बढाउन खोजेका तर पूर्णता दिन नसकेका योजनालाई निरन्तरता दिने उनी बताउँछन् ।
‘पहिलो कुरा, प्रदेश राजधानी निर्माण गर्ने नै हो । दोस्रो, म उद्योग मन्त्री भएका बेला हरैयामा विशेष आर्थिक क्षेत्र र अत्तरिया–धनगढी औद्योगिक करिडोरको डीपीआर भए पनि कार्यान्वयन भएको छैन । त्यसलाई कार्यान्वयनमा ल्याउँछु,’ भट्टले भने, ‘कृषिको आधुनिकीकरण र बढ्दो शहरीकरणलाई व्यवस्थित बनाउने कुराहरू मुख्य एजेन्डा छन् ।’
अघिल्लो निर्वाचनको घोषणापत्रमा उल्लेख भएका तर कार्यान्वयन नभएका कामलाई प्राथमिकता दिने उनी बताउँछन् । ‘यो बाहेक पार्टीले अंगिकार गरेका समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पनाअनुसार काम गर्छौँ । राष्ट्र, राष्ट्रियताको रक्षा गर्दै देशलाई समृद्ध बनाउन मेरो उम्मेदवारी हो,’ भट्टले भने । भट्ट विगतमा जस्तै प्रतिस्पर्धा भने नेपाली कांग्रेसकै उम्मेदवारसँग हुने बताउँछन् ।
युवा भावनाको प्रतिनिधित्व गर्छु : कांग्रेस उम्मेदवार विष्ट
नेपाली कांग्रेसले प्रदेश सभापति वीरबहादुर बलायर यो क्षेत्रमा दोहोरिन नखोजेपछि आनन्द भनेर चिनिने गोरखबहादुर भण्डारीलाई उम्मेदवार बनाएको छ । पुख्र्यौली घर डोटी भएर कैलाली–४ मै परिवारको बसोबास रहेका विष्ट अमेरिकामा बसोबास गर्दै आएका थिए ।
उनी कांग्रेस अमेरिका जनसम्पर्क समितिका अध्यक्ष पनि थिए । कांग्रेसले उम्मेदवार बनाएपछि उनी कैलाली–४ फर्किएर मतदातालाई भेटिरहेका छन् । युवा पुस्ताले चाहेको परिवर्तन र रुपान्तरणका लागि आफ्नो उम्मेदवारी भएको उनी बताउँछन् ।
‘अहिलेको युवा पुस्ताले परिवर्तन र रुपान्तरण चाहेका छन् । युवाको भावनाको प्रतिनिधित्व गर्दै अग्रज पुस्ताको अनुभवलाई साथमा लिएर अघि बढ्छु,’ विष्टले भने, ‘अहिलेसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा काम गरेको अनुभव यहाँका जनताको सेवामा लगाउँछु ।’
विगतमा जस्तो चुनावमा प्रतिबद्धता गर्ने तर अर्को पटक आफैं जान नसक्ने अवस्थाको अन्त्य गर्ने उनको दाबी छ । आफूलाई प्रतिपक्षीहरूले विदेशबाट आएर चुनाव लड्न लागेको भन्दै आलोचना गर्ने गरेको बताउँदै विष्टले त्यसमा सत्यता नभएको दाबी पनि गरेका छन् ।
आफूले विदेशमा बस्दासमेत कैलालीसहित सुदूरपश्चिमका विभिन्न क्षेत्रमा सक्दो सहयोग गरेको र कैलाली–४ को माटोमै हुर्किएको व्यक्ति भएको उनी बताउँछन् ।
हरिराम सुशासन र भ्रष्टाचारको मुद्दा लिएर घरदैलोमा
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार हरिराम चौधरी माहोल आफ्नो पक्षमा पार्न सक्रिय छन् । सशस्त्र संघर्षमा तत्कालीन माओवादी नेता रहेका लेखराज भट्टसँगै सहकार्य गरेका चौधरी अहिले उनकै प्रतिस्पर्धी भएर अघि बढेका छन् ।
भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्ने, रोजगारी सिर्जना गर्ने, भूमिहीन सुकुम्वासीका समस्या समाधान गर्ने, पूर्वाधार विकासका एजेन्डासहित उनी मत मागिरहेका छन् । चौधरी पहिलो पटक चुनावमा होमिएका हुन् ।
‘मैले भ्रष्टाचारविरुद्ध लड्ने, सुशासन कायम गराउने, युवालाई रोजगारी दिने एजेन्डा लिएर मत मागिरहेको छु । साथसाथै मुक्त कमैयाका अपूरा काम पूरा गर्ने, लालपुर्जा भए पनि सरकारी कामकाजमा नल्याएकाले ल्याउने काम गर्छु,’ चौधरीले भने ।
मुक्त कमैया, सुकुम्वासी, भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या पनि हल गर्ने प्रतिबद्धता चौधरीको छ भने प्रदेशको राजधानी गोदावरीमै निर्माण गर्ने दाबी गर्छन् ।
‘प्रदेश राजधानी तेघरीमै निर्माण गर्ने, मुक्त कमैया, सुकुम्वासी, भूमिहीन र अव्यवस्थित बसोबासीले भोग्नुपरेका समस्या हल गर्छु,’ चौधरीले भने, ‘निर्वाचन क्षेत्रमा विकास निर्माणका काम अघि बढाउने कुरा पनि छँदैछ ।’ प्रतिस्पर्धा भने कांग्रेस र एमालेसँग नभएर नयाँ शक्तिसँग भएको उनको दाबी छ ।
भूमिका इमानदारीपूर्वक निर्वाह गर्छु : रास्वपा उम्मेदवार कोइराला
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले खेमराज कोइरालालाई उम्मेदवार बनाएको छ । शिक्षाको क्षेत्रमा काम गरिरहेका कोइराला पनि पहिलो पटक संसदीय चुनाव लडिरहेका छन् ।
अन्य उम्मेदवारले जस्तै कोइराला पनि आफ्ना चुनावी प्रतिबद्धतासहित मत मागिरहेका छन् । उनी संघीय सांसदको काम, कर्तव्य, अधिकार र जिम्मेवारी इमादारीपूर्वक निर्वाह गर्दै निर्वाचन क्षेत्रको समग्र विकासमा भूमिका खेल्ने बताउँछन् ।
‘हाम्रो पार्टीको नीति र केन्द्रीय प्रतिबद्धता, बाचापत्रमा उल्लेख भएअनुसार म पनि चुनावमा होमिएको छु । संघीय सांसदको काम, कर्तव्य, अधिकार र जिम्मेवारी इमानदारीपूर्वक निभाउने छु,’ कोइरालाले भने, ‘स्थानीयस्तरमा भौतिक पूर्वाधारको विकास, सामाजिक विकास, कृषिको आधुनिकीकरण जस्ता काम गर्नेछु ।’
साझा समस्याका रूपमा रहेका बेरोजगारी, सडक, सिंचाइ सुविधाको विस्तारका लागि पनि पहल गर्ने उनी बताउँछन् ।
प्रतिक्रिया 4