+
+
Shares

रक्ताम्य जुत्ताको न्याय खोजिरहेका प्रकाश

जेनजी आन्दोलनमा गोली खाएका प्रकाश बोहराको प्रश्न छ, ‘त्यतिबेला मान्छे मार्ने को थियो ? आदेश दिने को थियो ? त्यसबेला देशको नेतृत्व गर्ने को थियो ?, सरकारले कारबाही गरेन ।’

दिनेश गौतम दिनेश गौतम
२०८२ माघ २२ गते १९:३३

२१ माघ, काठमाडौं । जेनजी आन्दोलनको रक्ताम्य जुत्तामा कविले कविता लेखे । गीतकारले गीत, कथाकारले कथा । कतै सालिक बन्यो । कतै कलाकारले क्यानभासमा उतारे । यो जुत्ता मात्र होइन, पूरै जेनजी आन्दोलन हो । धेरैले भने, ‘यो त फोटो होइन मेटाफोर हो ।’

‘तर रक्ताम्य जुत्ताले न्याय पाएको छैन नि,’ जेनजी आन्दोलनका घाइते प्रकाश बोहराले अनलाइनखरको अन्तर्वार्तामा भने । त्यो रक्ताम्य जुत्ता उनै प्रकाशको हो । अनलाइनखबरले खिचेको त्यो रक्ताम्य जुत्ता आन्दोलनको आइकन बन्यो

प्रकाशका पाँच महिना

२३ भदौको जेनजी आन्दोलनमा बानेश्वरमा गोली लागेर घाइते भएका प्रकाश मंगलबार डिस्चार्ज भएका छन् । पाँच महिनाको अस्पताल बसाइपछि डिस्चार्ज भएका उनी पूर्ण रूपमा निको भएका छैनन् ।

उनले वैशाखीको सहारामा पाइला चाल्नुपर्छ । वैशाखीसँगै अर्को एक जना सहयोगी पनि चाहिन्छ । यो पाँच महिना प्रकाश निभे जस्तो हुन्थ्यो उनलाई । उनले भने, ‘जीवनका सपनाहरू बीचमै छुटे । कहिले भविष्यले सताउँथ्यो । कहिले परिवारको चिन्ताले पोल्थो । काला बादलहरू अस्पतालको शैय्यामा मडारिन्थो ।’

यो पाँच महिनाको अवधिमा उनले भोगेका भोगाइ क्रमशः सुनाए । पाँच महिनाको अवधिमा ठूलो-सानो गरेर चार वटा अप्रेसन भयो । ‘खुट्टामा रड राखेको छ । नशा तान्न मिलेको छैन । खुट्टा छोटो भएको छ,’ उनले भने, ‘अलिकति ठिक हुन लागेको डेढ महिना भयो । दुई महिना अघिसम्म धेरै नै गाह्रो थियो ।’

अस्पताल बसाइको क्रममा तीन महिना त उनको खुट्टाले भुइँमा टेक्न पाएन । ‘तीन महिनासम्म बेडदेखि तल भुँइमा खुट्टा टेक्न मिलेन । बाहिरी संसार मोबाइल हेरेर अपडेट हुन्थें ।’

आफ्नो भविष्यले पनि त्यत्तिकै सताउँथ्यो प्रकाशलाई । परिवारको आड–भरोसा र जनताको मायाले भने बलियो बनाउँथ्यो ।

‘मेरो अवस्था देखेर ममी अगाडि रुनु भएन । म पनि रोइनँ । तर प्यानिक हुन्थ्यो,’ भावुक हुँदै उनले भने, ‘डेढ महिनासम्म त नर्कको बसाइ जस्तो भयो । चिच्याउनु पर्थ्यो ।’

श्रीमती र १९ महिनाको छोरा सम्झेर उनलाई झन् पिरोल्थ्यो । ‘परिवारले दुःख पायो । १९ महिनाको बच्चाले दुःख पायो । अहिलेसम्म छोरालाई राम्रोसँग समाउन पाएको छैन,’ प्रकाशका आँखाभरि आँसु भरिए । तर परिवर्तनको लागि गोली गाएकोमा उनी गर्व महसुस गर्छन् ।

त्यो कहालीलाग्दो भदौ २३ अस्पतालको बेडमा हुँदा पनि उनको स्मृतिमा झलझली आइरहन्थ्यो । ‘आन्दोलनअघि सामाजिक सञ्जालमा नेपोबेबी अभियान चलिरहेको थियो । देशको बेथितिविरुद्ध आन्दोलमा सहभागी भएको हो तर गोली लाग्यो,’ उनले भने, ‘जानै पर्छ भनेर गएको हुँ । परिवर्तनको लागि अहिले नगरे कहिले गर्ने भनेर सहभागी भएको हुँ ।’

आन्दोलनमा सहभागी हुनुअघि उनी रसियन आर्मीबाट फर्किएका थिए । त्यसपछि कतार पुलिसमा जाने तयारीमा थिए । ‘सबै प्रक्रिया भइसकेको थियो । अहिले गोली नलागेको भए कतार पुलिसको ट्रेनिङमा हुन्थें,’ उनले भने, ‘कतारको उडान यतै रोकियो । अब स्वास्थ्य राम्रो होस् भन्ने छ ।

महँगो उपचार प्रणाली

जेनजी आन्दोलनमा घाइते भएका कारण प्रकाशको उपचार राज्यले गर्‍यो । तर गरिब निमुखाले उपचारमा भोग्नु परेको सास्ती पनि उनले अस्पतालमा देखे ।

‘मेरो त सरकारले गर्‍यो । यदि म गोली नलागेर बिरामी भएर गएको भए धेरै पैसा खर्च हुने रहेछ । नेपालको स्वास्थ्य प्रणाली सुधार गर्नुपर्ने देखें । भुइँमान्छेले उपचार गर्न गाह्रो रहेछ । उपचार प्रणाली महँगो रहेछ,’ उनले आफ्नो अनुभव सुनाए ।

तर, प्रकाशले राष्ट्रिय ट्रमा सेन्टरमा चिकित्सकदेखि सबैबाट राम्रो सेवा पाए । ‘मन्त्रीहरू पनि भेट्न आउनुभयो,’ उनले भने, ‘बेथितिविरुद्ध मन्त्रीहरूलाई बारम्बार प्रश्न गरें ।’

सरकारलाई प्रश्न

यो जेनजी आन्दोलनको जगमा बनेको सरकार हो । तर जेनजीको भावनाअनुसार काम नभएको निष्कर्ष प्रकाशले निकालेका छन् ।

‘आन्दोलनको म्यान्डेटअनुसार काम भएको छैन । सरकार चुकेको छ,’ उनले भने, ‘अहिले हिंसा रोकिएको छ । रगत बगाउनु परेको छैन ।’

तर, आन्दोलनमा दमन गर्नेलाई कारबाही गर्न सरकार चुकेको बुझाइ उनको छ । ‘त्यतिबेला मान्छे मार्ने को थियो ? आदेश दिने को थियो ? त्यसबेला देशको नेतृत्व गर्ने को थियो ?,’ प्रकाशले प्रश्न गर्दै भने, ‘टाउकोमा ताकी-ताकी गोली हानिएको थियो । तर सरकारले कारबाही गरेन ।’

सुशासन कायम गर्न र भ्रष्टाचारीलाई सरकारले कारबाही गर्न नसकेको गुनासो प्रकाशको छ । प्रधानमन्त्री हुनुअघि सुशीला कार्कीले भ्रष्टाचारीलाई कारबाही गर्ने वचन दिएको तर त्यसअनुसार हुन नसकेको उनको तर्क छ ।

अनि राजनीतितर्फ प्रकाश

प्रकाश अब राजनीतिमा पाइला चाल्न खोज्दैछन् । उनी आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक उम्मेदवार छन् । ‘राजनीतिक परिवर्तनको लागि सडकमा गएको हो । अब अलिकति राजनीतिमा उठ्न चाहन्छु,’ उनले भने, ‘समानुपातिकको बन्द सूचीको खस–आर्यतर्फ चौथो नम्बरमा छु,’ प्रकाशले भने ।

अब सांसद बनेर सुशानको आवाज संसद्‌बाट उठाउने अठोट उनको छ । ‘सुशासनको नारा सदनमा गएर उठाउने सपना छ, हेरौं के हुन्छ,’ उनले भने, ‘देशमा आर्थिक क्रान्ति र युवा देशमै बस्ने वातावरण बनाउनु पर्नेछ ।’ त्यति मात्र होइन, शिक्षा, स्वास्थ्य, रोजगार र सुशासनको आवाज सदनबाट उठाउने सपना रहेको उनले सुनाए । अस्पतालको बेडबाट नै उनले निर्वाचन आयोग भोटर कार्ड बनाएका छन् ।

शहीद परिवार र घाइतेलाई रोजगारी

सरकारले जेनजी शहीद घोषणा गर्‍यो । घाइतेहरूको उपचार भयो । तर जीविकोपार्जनका लागि रोजगारीको अवसर दिनुपर्ने माग प्रकाशको छ ।

‘सरकारले ४५ जनालाई शहीद घोषणा गर्‍यो । हामी घाइतेको संख्या २६ सय बढी छ । मृतक परिवारलाई अथवा घाइते परिवारलाई शैक्षिक योग्यताअनुसार जागिरको व्यवस्था गर्दिए हुन्थ्यो,’ उनले भने, ‘शैक्षिक योग्यता छैन भने तालिम दिएर कमाउने बाटो बनाइदिनुपर्छ ।’ उनले यो कुरा सरकारसँग बारम्बार राखेका छन् ।

प्रकाशलाई सरकारले घाइतेको कार्ड थमाएको छ । तर त्यो कार्ड कहाँ–कहाँ लागु हुने हो अन्योल छ । अब उनी घर दैलेख जाने तयारीमा छन् । तर समस्या पर्दा दैलेख अस्पतालमा कार्ड देखाएर उपचार हुने नहुनेबारे सरकारले जवाफ दिएको छैन ।

‘दैलेखमा घर नजिकै जिल्ला अस्पताल छ । त्यहाँ निःशुल्क उपचार हुन्छ कि हुँदैन थाहा छैन । यो विषयमा प्रश्न उठाउँदै आएको हो तर केही भएको छैन,’ उनले भने ।

जेनजी आन्दोलनले अझै न्याय नपाएकोमा प्रकाश दु:खी छन् । ‘रक्ताम्य भएको मेरो जुत्ता आन्दोलनको प्रतीक बन्यो । तर त्यो जुत्ताले न्याए पाएको छैन । न्यायका लागि बोलिरहने छु,’ प्रकाशले भने ।

तस्वीर/भिडियो : कमल प्रसाईं/अनलाइनखबर

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?