News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिका र इरानबीच आगामी शुक्रबार ओमानको मस्कटमा वार्ता हुने भएको छ ।
- इरानका विदेशमन्त्री अब्बास अरागचीले शुक्रबार बिहान करिब १० बजे हुने वार्ताको प्रबन्ध ओमान सरकारले मिलाइदिएको जानकारी दिएका छन् ।
- अमेरिका–इरानबीच सन् २०१५ को परमाणु सम्झौता र सन् २०१८ मा अमेरिकाको बहिर्गमनसँगै सम्बन्ध जटिल बनेको छ।
२२ माघ, काठमाडौं । अमेरिका–इरानबीच आगामी शुक्रबार ओमानमा वार्ता हुने भएको छ । यो जानकारी इरानका विदेशमन्त्री अब्बास अरागचीले दिएका हुन् ।
उनले सामाजिक सञ्जाल एक्समा लेख्दै शुक्रबार स्थानीय समय अनुसार बिहान करिब १० बजे ओमानको राजधानी मस्कटमा वार्ता हुने जानकारी दिएका छन् । उनले वार्ताका लागि आवश्यक सबै व्यवस्था मिलाइदिएकोमा ओमान सरकारप्रति आभार पनि व्यक्त गरेका छन् ।
अमेरिका र इरानबीच लामो समयदेखि परमाणु कार्यक्रमलाई लिएर तनाव रहँदै आएको छ । सन् २०१५ मा भएको परमाणु सम्झौता (जेसीपीओए) अनुसार इरानले आफ्नो परमाणु गतिविधि सीमित गरेमा उसमाथि लगाइएका प्रतिबन्ध हटाउने सहमति भएको थियो ।
तर सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सम्झौताबाट अमेरिका बाहिरिएको घोषणा गरेपछि सम्बन्ध थप जटिल बनेको थियो ।
त्यसयता दुवै देशबीच प्रत्यक्ष संवाद ठप्प जस्तै छ भने प्रतिबन्ध र आरोप–प्रत्यारोप जारी छ ।
पछिल्लो समय इरानमा सरकारविरोधी प्रदर्शनमा भएको दमन र परमाणु कार्यक्रमलाई लिएर ट्रम्पले आक्रमणको धम्की दिएका थिए । इरान वरपर लडाकु सेना तैनाथ गरेको छ ।
इरानका सर्वोच्च धार्मिक नेता आयतोल्लाह अली खामेनीले पनि इरानमाथि अमेरिकाले आक्रमण गरेमा क्षेत्रीय युद्ध सुरु हुने चेतावनी दिएका थिए ।
अमेरिका–इरान तनावले खाडी देशहरुमा त्रासको वातावरण बनेको थियो । साथै अन्तर्राष्ट्रिय चासो बढेसँगै वार्ताका लागि कूटनीतिक पहल पुन: तीव्र बनेको थियो ।
यसअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यदि इरानले यही हप्ता वार्ता गर्न चाह्यो भने अमेरिका तयार रहेको बताएका थिए ।
उनले वार्ताको एजेण्डमा इरानको परमाणु कार्यक्रमसँगै मिसाइल कार्यक्रमसमेत समावेश हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।
प्रतिक्रिया 4