२३ माघ, सिरहा । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भाषण मात्र नभई काम गर्नेलाई जिताएर एक पटक मौका दिन मतदातासँग आग्रह गरेका छन् । शुक्रबार सिरहा र धनुषा जोड्ने कमला पुलको अवलोकन गर्न पुगेका पूर्व मन्त्री घिसिङले आफू काम गर्ने पात्र भएकाले भोट दिएर मौका दिन आग्रह गरेका हुन् ।
अध्यक्ष घिसिङले नयाँ राजनीतिक शक्तिका रूपमा उदाएका युवाहरू काम गर्न इच्छुक रहेको रहेको पनि दाबी गरे । ‘पुराना राजनीतिक शक्तिहरूले कामभन्दा बढी भाषण गरे । जनताको हितका लागि काम गर्न युवा नेतृत्व आवश्यक छ,’ उनले भने ।
घिसिङले काम नगर्ने र जनतालाई छल्नेहरूको समय सकिएको पनि टिप्पणी गरे । ‘जो काम गर्छ, उही जनताको प्रिय बन्छ,’ उनले भने, ‘काम गर्ने नै जननेता कहलिन्छ ।’
गुणस्तरीय शिक्षा, कृषि क्रान्ति, सिँचाइ, विद्युतीकरण जस्ता पूर्वाधारमा आफ्नो पार्टीले काम गर्ने दाबी गर्दै उनले देशको अर्थतन्त्र उकास्ने योजना आफूसँग रहेको बताए ।
प्रतिक्रिया 4