+
+
Shares
अबिचुअरी :

‘राते काइँला’ अब स्मृतिमा मात्रै

आवाजमा रहेको कडापन, शब्दको उच्चारणमा रहेको तौल, मौनतामा समेत देखिने धम्कीले खलनायकलाई झनै प्रभावशाली बनायो । धेरैजसो दृश्यमा उनी चुप लागेर बस्दा पनि दृश्य भारी हुन्थ्यो । त्यो कला सबै कलाकारसँग हुँदैन ।

विष्णु शर्मा विष्णु शर्मा
२०८२ माघ २४ गते ११:१७

२४ माघ, काठमाडौं । वरिष्ठ अभिनेता सुनिल थापा शनिबार बिहानै छायांकनमा जानुपर्ने थियो । यसका लागि उनले आफू निकट कलाकार विल्सनविक्रम राई ‘तक्मे बुढा’ लाई बिहानै उठाइदिन भनेका थिए । तर विल्सनले सुनिलको त्यो इच्छा पूरा गर्न पाएनन् । सुनिललाई उठाउन जान नपाउँदै विल्सनले एकाबिहानै अपत्यारिलो खबर सुन्नु पर्‍यो । थापाथलीस्थित नर्भिक अस्पतालमा सुनिल कहिल्यै उठ्न नसक्ने गरी अस्ताएको खबर विल्सनले सुन्नुपर्‍यो ।

६८ वर्षको उमेरमा भएको थापाको निधनले नेपाली र भारतीय चलचित्र तथा सिरिज क्षेत्रमा ठूलो क्षति पुगेको छ । उनको निधनले नेपाली फिल्मको अभिनय यात्रामा एउटा शोक र रिक्तता सिर्जना गरेको छ ।

उनको अभिनय यात्रा घरेलु फिल्ममा मात्र सीमित थिएन, नेपालीसँगै उनले भारतीय फिल्म र श्रृङ्खला जगतमा समेत आफ्नो दमदार अभिनयमार्फत दर्शकको मन जितेका थिए ।

१९ मे १९५७ मा जन्मिएका थापाले ४ दशकभन्दा बढी समयसम्म अभिनय, मोडलिङ, खेलकुद र फिल्म उद्योगका विविध पक्षमा योगदान दिए । उनको करिअर चाहिँ मोडलिङबाट सुरु भएको हो ।

सन् १९७४ मा मुम्बईमा मोडलका रूपमा काम गर्दै उनले बिन्नी र माफतलाल जस्ता प्रतिष्ठित ब्रान्डका लागि काम गरे । प्रारम्भिक समयमा उनी मोडलिङमा मात्र सीमित रहेनन्, फुटबल खेलाडी पनि बने ।

त्यहाँका आइसीएल क्लब बम्बे तथा ओर्केज स्पोर्ट्स क्लबसँग पनि खेले । मोडलिङसँगै ‘जुनियर स्टेट्सम्यान म्यागजिन’ मा फोटो पत्रकार बने । सन् १९७४ को भुटानमा भएको राज्याभिषेकको कभरेज गरे ।

‘चिनो’ मा राते काइँलाको रूपमा प्रसिद्धी

सन १९८१ मा भारतीय चलचित्र ‘एक दुजेके लिए’ बाट उनले बलिउडमा करिअर थाले । यो फिल्म त्यतिबेला हिट थियो र यसले थापालाई भारतीय सिने परिदृश्यमा परिचित गराउने कार्यमा भूमिका खेल्यो ।

कालजयी र सुपरहिट नेपाली फिल्म ‘चिनो’ पछि उनी नेपाली फिल्मतिर आइपुगे । तथापि उनले दुवै ठाउँमा अभिनय गर्दै आफ्नो पहिचान स्थापित गर्न सफल भए । ‘चिनो’ बाट एकाएक हिट भएपछि उनको कर्मथलो काठमाडौं बन्न थाल्यो ।

उनी नेपाली फिल्ममा खलनायकको रूपमा प्रख्यात छन् । ‘चिनो’ मा निर्वाह गरेको राते काइँलाको भूमिकाले उनको लोकप्रियतालाई नयाँ उचाइमा पुर्‍यायो । यो भूमिकाले दर्शक र समीक्षक दुवैको मन जित्यो । त्यसपछि उनी ‘राते काइँला’ नामले धेरै चिनिए ।

उनले नेपाली फिल्ममा मात्र होइन, प्रियंका चोपडा स्टारर बलिउड फिल्म ‘मेरी कम’ ९सन् २०१४० मा कोचको रुपमा अभिनय गरे । यस भूमिकाका लागि उनले फिल्मफेयर अवार्डको लागि मनोनयन समेत प्राप्त गरेका थिए । यो फिल्मले उनलाई बलिउडमा स्थापित गर्‍यो ।

भर्सटाइल अभिनेता

उनी नेपाली फिल्मका सुप्रसिद्ध खलनायक मात्र थिएनन्, उनको अनुकरणीय अभिनयले सांगीतिक, ऐतिहासिक, क्रान्तिकारी तथा सामाजिक विषयका फिल्ममा गहिरो प्रभाव पारेको छ ।

सन् १९८९ मा रिलिज भएको ‘चिनो’ ले नेपाली सिनेमाको इतिहासमा ठूलो स्थान राख्छ, जहाँ थापाको खलनायक भूमिका उल्लेखनीय रूपमा दर्शकको मनमा बसेको छ । उनको डेब्यू नेपाली फिल्म चाहिँ ‘मसाल’ हो जुन १९८५ मा रिलिज भयो ।

उनको अभिनय नेपाली फिल्म इतिहासमा स्मरणीय हुनेछ । उनले अभिनय गरेका फिल्म, पस्केका भूमिकाको विविधता र योगदान गरेको कलात्मकता नेपाली सिनेमा र सामाजिक स्मृतिमा अमिट रहनेछ । उनको कलाले भावी पुस्तालाई प्रेरणा दिनेछ ।

अहिलेसम्म १३८ वटा चर्चित नेपाली फिल्ममा अभिनय गरेका थापाले अभिनय गरेको पछिल्लो फिल्म रिलिजको हिसाबले ‘एक्लो’ थियो । छायांकनको हिसाबले भने ‘राम नाम सत्य’ थियो । तुलसी घिमिरेको ‘पहाड’ पनि रिलिजको तयारीमा छ ।

उनी किन निरन्तर लोकप्रिय थिए भने, उनले खलनायकको भूमिकालाई उस्तै सम्मान र गम्भीरताको साथमा प्रस्तुत गर्थे, जसले कथालाई अझ सशक्त तुल्याउँथ्यो । यसले दर्शकलाई चरित्रको मनोविज्ञान बुझाउन मद्दत गर्थ्यो, जसले उनलाई एक वास्तविक कलाकारका रूपमा स्थापित गर्‍यो ।

थापाको अभिनय शैली शारीरिक हाउभाउ, भावनात्मक गहिराई र बलिया संवादमा आधारित थियो । डर लाग्ने अनुहार, बलशाली आवाज र दृढ व्यक्तित्वले गर्दा उनले निर्वाह गरेका पात्रलाई वास्तविक र प्रभावशाली बनाउन मद्दत गरे ।

खलनायक मात्र होइन मार्गदर्शक, अनुभवी पात्र र जटिल मानसिकता भएका मानिसको भूमिका पनि उनले चित्रण गरे । यसले उनलाई भर्सटाइल अभिनेताको रुपमा स्थापित गर्‍यो ।

खलनायक पात्रको ‘ट्रेन्ड–सेटर’

नेपाली फिल्ममा खलनायक पात्रलाई स्थापित गर्न उनको ठूलो योगदान छ । त्यो केवल एउटा कलाकारको सफलतामात्र होइन, नेपाली सिनेमा संस्कृतिको एउटा नयाँ अध्याय थियो । उनीभन्दा अगाडि नेपाली फिल्ममा खलनायकको चित्रण प्रायस् सतही र परम्परागत शैलीमा प्रस्तुत हुन्थ्यो । थापाले त्यो ढाँचा नै परिवर्तन गरिदिए ।

उनले खलनायकलाई दुष्ट मानिसको रूपमा होइन, बलियो व्यक्तित्व भएको पात्रका रूपमा प्रस्तुत गरे । अग्लो कद, गम्भीर हाउभाउ, कडा आवाज र तीखा आँखाले उनलाई पर्दामा देखिनेबित्तिकै प्रभावशाली बनाउँथ्यो । दर्शकले खलनायकबाट डराउने मात्र होइन, विश्वास गर्ने पनि थाले । यही विश्वासले उनको पात्रलाई वास्तविक र जीवित तुल्यायो ।

धेरै कलाकार खलनायकको अभिनय गर्दा अतिरञ्जितरूपमा प्रस्तुत हुन्छन् । थापा ठीक उल्टा थिए । मृदुभाषी, नापतौल गरेर संवाद बोल्ने, आँखाको हेराइ र शारीरिक उपस्थितिबाट डर पैदा गर्ने । यही सन्तुलित प्रस्तुति नेपाली दर्शकका लागि नयाँ अनुभव थियो ।

‘चिनो’ फिल्मको राते काइँला चरित्र यसको सबैभन्दा ठूलो उदाहरण हो । त्यो पात्र कुनै साधारण खलनायक थिएन । उसको आफ्नै मानसिकता, अहंकार र शक्ति प्रदर्शन गर्ने तरिका थियो । थापाले त्यो भूमिकालाई यति स्वाभाविक बनाए कि आजसम्म पनि राते काइँला नेपाली सिनेमाको सबैभन्दा स्मरणीय खलनायक मानिन्छ । कुनै पात्रलाई नामले होइन, चरित्रको नामले चिनिने बनाउनु कलाकारका लागि ठूलो उपलब्धि हो, जुन उनले सम्भव तुल्याए ।

उनले खलनायकलाई बुद्धिमान पनि देखाए । योजनाबद्ध, चलाख, मानसिक रूपमा बलियो । नेपाली फिल्ममा सुरुवातमा खलनायकलाई प्रायस् हास्याँस्पद रुपमा देखाइन्थ्यो । तर थापापछि खलनायक पनि नायकजत्तिकै शक्तिशाली पात्र हुन सक्छ भन्ने धारणा स्थापित भयो । त्यसैले कथामा द्वन्द्व अझ रोचक र विश्वसनीय बन्न थाल्यो ।

थापाले खलनायकलाई मानवीय पक्ष पनि दिए । उनले अभिनय गरेका पात्र खराब मानिस मात्र होइन, परिस्थितिले बनाएका जस्ता देखिन्थे । यही कारणले दर्शकले उनलाई घृणा मात्र गरेनन्, कहिलेकाहीँ बुझ्ने प्रयास पनि गरे । यसले खलनायक पात्रलाई एक आयामबाट बहुआयामिक बनायो ।

उनको संवाद बोल्ने शैली पनि फरक थियो । आवाजमा रहेको कडापन, शब्दको उच्चारणमा रहेको तौल, मौनतामा समेत देखिने धम्कीले खलनायकलाई झनै प्रभावशाली बनायो । धेरैजसो दृश्यमा उनी चुप लागेर बस्दा पनि दृश्य भारी हुन्थ्यो । त्यो कला सबै कलाकारसँग हुँदैन ।

थापाले नेपाली खलनायकलाई अन्तर्राष्ट्रियस्तरको छवि दिए । भारतीय चलचित्रमा काम गर्दा पनि उनको अभिनयको स्तर उस्तै सशक्त देखियो । यसले नेपाली कलाकार पनि बलिउड स्तरका पात्र चित्रण गर्न सक्षम छन् भन्ने प्रमाण दियो ।

सारमा भन्नुपर्दा, थापाले खलनायकलाई गम्भीर, शक्तिशाली, बौद्धिक र विश्वसनीय पात्रका रूपमा नेपाली पर्दामा स्थापित गरे । आफूपछि आउने पुस्ताका कलाकारले खलनायकलाई कसरी प्रस्तुत गर्ने भन्ने नयाँ मापदण्ड नै उनले तयार पारिदिए कि भन्ने जस्तो देखिन्छ । त्यसैले उनी केवल एक सफल अभिनेता मात्र होइन, नेपाली सिनेमामा खलनायक चरित्रको पुनर्परिभाषा गर्ने सशक्त कलाकार हुन् ।

उनको अभिनय नेपाली फिल्म इतिहासमा स्मरणीय हुनेछ । उनले अभिनय गरेका फिल्म, पस्केका भूमिकाको विविधता र योगदान गरेको कलात्मकता नेपाली सिनेमा र सामाजिक स्मृतिमा अमिट रहनेछ । उनको कलाले भावी पुस्तालाई प्रेरणा दिनेछ ।

लेखक
विष्णु शर्मा

शर्मा अनलाइनखबर डटकमका उपसम्पादक हुन् । उनी कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?