+
+
Shares

बिहेको तयारीमा थिए सर्लाहीका अनिल, पोखरीमा मृत भेटिए

अमलेश शर्मा अमलेश शर्मा
२०८२ माघ २४ गते १२:५२

२४ माघ, सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–७ पोखरी टोलका एक युवक मृत अवस्थामा फेला परेका छन् । २० वर्षीय युवक अनिल महतो पोखरीमा मृत अवस्थामा फेला परेका हुन् ।

ग्त सोमबार रातिदेखि बेपत्ता भएका उनी बुधबार बिहान आफ्नै घरबाट करिब एक किलोमिटर टाढा रहेको पोखरीमा मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईका अनुसार, सोमबार राति घरबाट निस्किएका अनिल मंगलबारसम्म पनि सम्पर्कमा नआएपछि परिवारले खोजतलास सुरु गरेको थियो । खोजी गर्दा फेला नपरेपछि मंगलबार प्रहरीमा निवेदन दिइएको थियो ।

बुधबार दिउँसो स्थानीयले पोखरीमा शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । मृतकको साथबाट मोबाइल फोनसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

मृतक अनिल लेबरको रूपमा राजमिस्त्रीको काम गर्दै आएको परिवारले जनाएको छ ।

मृतकका बुवा रामप्रताप महतोले अनलाइनखबरसँग कुरा गर्दै सोमबार राति छोरा अनिलसँगै खाना खाएर सुत्न गएको बताए ।

‘मंगलबार बिहान उठ्दा उसको कोठाको ढोका खुल्लै थियो,’ बुवा महतोले भने, ‘धेरै समयसम्म पनि घर नफर्किएपछि खोजी गर्यौं र प्रहरीमा निवेदन दिएका थियौं ।’

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको थियो । पोस्टमार्टम भए पनि निष्पक्ष र न्यायिक छानबिनको माग गर्दै परिवारले शव बुझ्न अस्वीकार गरेको छ ।

अनिलको बुधबार नै बिहेको छेका तय हुने कार्यक्रम रहेको थियो ।

विवाहको तयारी भइरहेका बेला अचानक घटेको घटनाले परिवार र गाउँ शोकमा डुबेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?