+
+
Shares

खोटाङ : पुरानालाई संगठनको विश्वास, नयाँलाई परिवर्तनको आश

माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता भएर अहिले नेकपा बनेको छ । अर्थात् यो पार्टीको मत १५ हजार २०८ छ ।

दमन राई दमन राई
२०८२ माघ २४ गते २१:४६

२३ माघ, दिक्तेल । आसन्न प्रतिनिधि सभा निर्वाचनको चहलपहल अन्यत्र जस्तै खोटाङमा पनि बढ्दो छ ।

अरू बेला वास्तै नगरी हिड्ने नेता–कार्यकर्ता अहिले सर्वसाधरणलाई देख्नासाथ हात जोडिरहेका छन् । बलिया संगठन भएका प्रमुख दलका उम्मेदवारहरूले मात्र नभएर नयाँ खुलेका र स्वतन्त्र उम्मेदवारहरुले समेत जित्ने हिसाब सहित चुनावी अभियान चलाइरहेका छन् ।

सम्भावित जितबारे विश्लेषण गर्न गत निर्वाचनमा (२०७९ सालको सम्पन्न स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्य) प्राप्त मत परिणामलाई मुख्य आधार मानिएको देखिन्छ । यसबाहेक दलहरुको संगठन, घोषणा–पत्र, उम्मेदवारको क्षेत्र, व्यक्तित्व, जातीय पृष्ठभूमि आदिका आधारमा पनि सम्भावित मत परिणामबारे चर्चा भइरहेको छ ।

तर नयाँ दलहरुमा पनि यसपटक उल्लेख्य आकर्षण देखिएकाले ‘कसको पक्षमा पासा पल्टिल्छ’ यसै भन्न सकिने अवस्था छैन ।

यद्यपी नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी, रास्वपा, राष्ट्रिय परिवर्तन पार्टी लगायतले आफै जित्ने दावी गरिरहेका छन् ।

२०७९ को चुनावी परिणाम हेर्दा खोटाङमा एमाले अगाडि छ । समानुपातिकतर्फ पार्टीलाई प्राप्त हुने मतमा एमालेले २४ हजार २७१, कांग्रेसले १८ हजार ६७२, तत्कालीन माओवादी केन्द्रले ११ हजार ८४५ र नेकपा एकीकृत समाजवादीले ३ हजार ३६३ मत पाएको थियो ।

माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता भएर अहिले नेकपा बनेको छ । अर्थात् यो पार्टीको मत १५ हजार २०८ छ । यही मतलाई सम्भावित नतिजाको एउटा आधार मान्ने पंक्ति पनि भेटिन्छ ।

प्रत्यक्षतर्फको नतिजा हेर्दा खोटाङमा सर्वाधिक सफल दल एमाले हो । एमालेले २०४८, २०५१, २०७० र २०७४ सालको चुनाव जितेको थियो । जिल्ला अध्यक्ष देबविक्रम राईलाई उम्मेदवार बनाएको एमालेले यसपटक पनि चुनाव जित्ने दावी गरेको छ । तर एमालेभित्रको दुई धार संघर्ष जिल्लासम्मै झरेको छ ।

जस्तो– २८–२९ चैत २०८० मा सम्पन्न आठौं जिल्ला अधिवेशनमा मतदानबाट नेतृत्व चयन गरिएको थियो । खोटाङ एमालेका इतिहासमा मतदान भएको यो पहिलोपल्ट थियो । जिल्ला अधिबेसनबाट कित्ताकाँट भएका नेताहरु मिलाउन नसके त्यसको असर पर्न सक्ने विश्लेषण छ ।

२०४८ साल यता भएका निर्वाचनमध्ये कांग्रेसले २०५६ मा मात्रै जितेको छ । २०५४ मा पार्टी फुटेर एमाले–माले भएको मौका छोप्दै कांग्रेसले जितेको थियो । त्यसयता कांग्रेसले हार बेहोर्दै आएको छ ।

धेरैजसो चुनावमा कांग्रेस उम्मेदवार अन्तरघातको सिकार बन्यो । अपवाद, २०७९ को निर्वाचनमा गठबन्धनबाट प्रदेशसभा (ख) मा कांग्रेसका भूपेन्द्र राई विजयी बने । तर विगतको तुलनामा कांग्रेस यसपल्ट उत्साहित छ । कारण– बिरकाजी राई उम्मेदवार बन्दा कांग्रेस तुलनात्मक एकताबद्ध छ । सबै नेताहरु एकठाउँ उभिएका छन् ।

राई विशेष महाधिवेशन पक्षका हुन्, तर उनलाई संस्थापन पक्षले समेत स्वीकार गरेका छन् । यद्यपि संस्थापन पक्षको आगामी भूमिकाले उनको मत थपघट हुन सक्ने आकलन छ ।

यो चुनावमा नेकपाको पार्टीपंक्ति पनि उत्साहित देखिन्छन् । अर्थशास्त्री एवं राजनीतिक विश्लेषक हरि रोका उम्मेदवार रहेकाले उनीहरु आशावादी छन् ।

अधिकांश उम्मेदवार राई समुदायबाट हुनुको लाभ पाउने विश्लेषण पनि यो दलका नेताहरुले गर्ने गर्छन् । तर नेकपालाई संगठन बाहिरको मत तान्न सहज देखिदैन । माओवादी पृष्ठभूमिको नेकपाले खोटाङमा २०६४ र २०७९ गरी दुईपटक जितेको छ ।

यी तीन दल बाहेक नयाँ खुलेका दलहरुले पनि यसपटक आफ्नो पक्षमा मत खस्ने दावी गरिरहेका छन् । बलियो संगठन नभए पनि जित्ने दावी गरिरहेको श्रम संस्कृति पार्टीले महासचिव आरेन राई र राष्ट्रिय स्वतन्त्र पार्टीले रुद्र गिरीलाई उम्मेदवार बनाएका छन् ।

यी दलहरुबारे विश्लेषण गर्न विगत पृष्ठभूमि छैन । तर परिवर्तनलाई एजेण्डा बनाएकाले मतदाताको विश्वासलाई आधार मानेर मत मागिरहेका छन् ।

यसबाहेक राष्ट्रिय परिवर्तन पार्टीबाट मिरेस राई, जसपाबाट राकेश राई, नेकपा (माओवादी) बाट चन्द्रबहादुर बुढाथोकी, जसपा नेपालबाट सुनिल चाम्लिङ, राप्रपाबाट दीपक तामाङ, मंगोल नेशनल अर्गनाइजेसनबाट प्रयाग राई, नेमकिपाबाट ध्यानप्रसाद ढकाल र मितेरी पार्टी नेपालबाट केशरमान चाम्लिङ उम्मेदवार छन् ।

डा. राजकुमार राई र तिलकचन्द्र राईले स्वतन्त्र उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृत फणिन्द्रप्रसाद पराजुलीले बताए । १० स्थानीय तह रहेको खोटाङमा १ लाख ४७ हजार १२० मतदाता छन् । निर्वाचनका लागि १३६ मतदान स्थल र १९५ मतदान केन्द्र तोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?