+
+
Shares

भियतनाम : प्रेम, स्वतन्त्रता र समयले नओलिएको यात्रा

क्वालालम्पुर विमानस्थलमा पाइला टेक्दा लाग्यो, संसार धेरै ठूलो छ । तर सम्बन्ध सानो संसार हो, जहाँ मन अडिन्छ।

डा. बालकृष्ण साह डा. बालकृष्ण साह
२०८२ माघ २५ गते १५:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लेखकले २१ वर्ष लामो वैवाहिक जीवनमा प्रेम मौन तर गहिरो रहेको अनुभव सुनाएका छन् ।
  • प्रेम दिवसको अवसरमा लेखक र उनकी श्रीमतीले सिलिगुडी र भियतनाममा यात्रा गरी प्रेमको नयाँ अर्थ पाएका थिए।

फेब्रुअरी १४– प्रेम दिवस । संसारले यस अवसरमा प्रेमलाई फूलका पातमा, कार्डका शब्दमा र सामाजिक सञ्जालका तस्बिरमा खोजिरहेको थियो । तर म त्यो दिन प्रेमलाई २१ बसन्त पार गरिसकेको एउटा वैवाहिक सम्बन्धभित्र खोज्दै थिएँ । जहाँ प्रेम उत्साहको प्रदर्शन थिएन, बरू जीवनको स्वाभाविक श्वास बनिसकेको थियो ।

हाम्रो प्रेम चर्को थिएन, न त शब्दको भारीले थिचिएको थियो । हाम्रो प्रेम मौन थियो, तर गहिरो थियो । हात समातेर नबोली पनि सँगै उड्न सक्ने खालको । २१ वर्ष भनेको केवल समयको अंक होइन रहेछ, त्यो त झगडाहरूको हिसाब हो, मौन बसेका रातहरूको सम्झना हो, जिम्मेवारीले थिचिएका दिनहरूको सूची हो । ती वर्षहरूमा प्रेम कहिलेकाहीँ प्राथमिकतामा परेन, तर हराएन पनि । सायद यही नै नओइलिएको प्रेमको अर्थ हो– उत्सवमा मात्र होइन, साधारण दिनहरूमा पनि टिकिरहने ।

हाम्रो यात्रा बिहानै सुरु भएको थियो । विराटनगरदेखि बागडोगरा विमानस्थलतर्फ लाग्दा सडकसँगै मन पनि विस्तारै यात्रा गर्दै थियो । साथीहरू थपिँदै गए, हाँसो र गफ बाक्लिँदै गयो । तर मेरो चेतना बारम्बार मेरो छेउमा फर्किन्थ्यो– मेरी जीवनसाथी सोमनीतर्फ । २१ वर्षअघि विवाहको दिन समातेको हात आज पनि उस्तै आत्मीय थियो । समयले त्यस हातमा भरोसाको थप बल थपिदिएको थियो । उनी जीवनमा पहिलो पटक तेस्रो देशतर्फ निस्कँदै थिइन् । आँखामा उत्साह थियो, अलिकति डर पनि । तर त्यो डरभन्दा ठूलो विश्वास थियो- जीवनसाथीप्रतिको, सँगै हिँड्ने यात्राप्रतिको।

बागडोगरामा उडान भर्नुअघि हामीसँग केही समय बाँकी थियो । त्यसैले हामी सिलिगुडीको एउटा मल पुग्यौं । मलभित्र छिर्दा रंगीन बत्ती, मुटुको आकारका सजावट र ठूला अक्षरमा लेखिएको ‘ह्याप्पी भ्यालेन्टाइन डे’ ले स्वागत गर्‍यो ।

एकछिन त लाग्यो, समय रोकिएको छ । वरिपरि किशोर–किशोरीहरू हात समातेर, हाँस्दै, फोटो खिच्दै थिए । हामीले उनीहरूलाई हेर्‍यौं, अनि आफूलाई त्यही भीडमा उभ्यायौं । हामीले पनि फोटो खिच्यौं, किशोर–किशोरीहरूजस्तै । विशेष दिनले साँच्चै उमेर बिर्साउने रहेछ । हामी एक पटक फेरि किशोरावस्थामा पुग्यौं । २१ वर्षको वैवाहिक जीवन, जिम्मेवारी, समाज र पेशाको व्यस्तता सबै क्षणका लागि पन्छिए । त्यहाँ केवल हामी दुई थियौं- समयसँग हार नमानेका र मनमा प्रेम बोकेका ।

हामी एक–अर्कालाई हेर्‍यौं । त्यो हेराइ नयाँ प्रेमीहरूको जस्तो थिएन । त्यो हेराइ समयले परीक्षा गरिसकेको सम्बन्धको थियो । जहाँ शब्दभन्दा बढी मौनताले बोल्छ, र बुझाइ आफैंले गति लिन्छ । विवाहका २१ बसन्तमा पनि प्रेम ओइलाएको थिएन; बरू अझ गहिरो बनेको थियो । प्रेम अब प्रश्न होइन, उत्तर बनिसकेको थियो ।

विमान उड्दा सिलिगुडीका बत्तीहरू बिस्तारै हराउँदै गए । त्यो शहर मात्र होइन, जीवनका कति संघर्ष, कति थकान, कति मौन सम्झौताहरू पनि त्यहीँ कतै छाडिँदै थिए । प्रेम दिवसको त्यो रात हामी बादलमाथि थियौं- भौतिक रूपमा मात्र होइन, भावनात्मक रूपमा पनि । कलकत्तामा लामो ढिलाइ भयो । शरीर थाक्दै थियो, तर मन स्थिर थियो । श्रीमतीले सहजै भनिन्, ‘यात्राको सुरुमा नै पर्खनुपर्‍यो भने, अन्त्य अझ सुन्दर होला ।’ त्यो वाक्य केवल यात्राको टिप्पणी थिएन । त्यो हाम्रो वैवाहिक जीवनको सार पनि थियो, जहाँ पर्खाइलाई हामीले सधैं भरोसामा बदल्‍यौं ।

मलेसियासम्मको उडान साँघुरो सिटमा थियो । तर साथीहरूको हाँसो, साझा उत्साह र भित्र रहेको गर्व ‘हामी नेपाली हौं’ ले थकानलाई गौण बनाइदियो । क्वालालम्पुर विमानस्थलमा पाइला टेक्दा लाग्यो, संसार धेरै ठूलो छ । तर सम्बन्ध सानो संसार हो, जहाँ मन अडिन्छ।

त्यसपछि भियतनाम । दक्षिणी घाम हाम्रो तराईकै जस्तै । सडकमा स्कुटरहरू कति हो कति ! अनि ट्राफिक अत्यधिक । तर हरियाली रूख, सफा फुटपाथ र शहरको अनुशासनले त्यो घामलाई पनि सहज बनाइदिएको थियो ।

साँझको यात्रामा उज्यालोले सजिएको ड्रागन खेती पार गर्दै ‘म्यु नि’ पुग्दा मन भित्र–भित्रै रोमाञ्चित थियो । ड्रागन खेतीमा सजाइएका रातो, पहेंलो बत्तीहरू ताराहरूभन्दा पनि उज्याला थिए । उज्यालोमा ड्रागन बढी फल्छ भन्ने जनविश्वास त्यहाँ रहेछ भन्ने थाहा भयो ।

भोलिपल्ट बिहान हामी नेपाली पोशाकमा उभियौं, हातमा नेपालको झण्डा । परदेशी भूमिमा उभिँदा पनि नेपाल टाढा लागेन । झण्डाभन्दा पनि श्रीमतीले समातेको हातको ताप गहिरो थियो । २१ वर्षअघि समातेको त्यो हात अझै उस्तै थियो- थोरै झुर्रिएको, तर अझै बलियो ।

दिउँसो बालुवाका ड्युनहरूमा भौतारिँदा लाग्यो, जीवन पनि यस्तै रहेछ– कहिले उकालो, कहिले ओरालो । साँझ समुद्री किनारमा पुग्दा छालको लयले समयलाई बिस्तारै बिर्साइरहेको थियो । समुद्री हावाले अनुहार छोएजस्तै, सम्झनाहरूले मन छोइरहेका थिए । श्रीमतीको हाँसो समुद्रकै तालमा मिसिएको थियो । २१ बसन्तपछि पनि त्यो हाँसो उस्तै हुनु भनेको प्रेम नओइलिएको प्रमाण थियो ।

प्रेम दिवसको त्यो रात समुद्रसँग बित्यो । न कुनै ठूलो उपहार, न कुनै औपचारिक शब्द । तर मौनमा बसेर सँगै समय बिताउनु, त्यही नै सबैभन्दा गहिरो प्रेमपत्र थियो । मलाई त्यहीँ महसुस भयो- प्रेम दिवस त एक दिनमै सकिन्छ, तर साँचो प्रेम उत्सवपछि पनि निरन्तर चलिरहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?