+
+
Shares

फलोअप : बिहे भोजले बिरामी परेका अधिकांश निको भए

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २६ गते ११:४५
विवाह भोज खाएका स्थानीय माघ २२ गते बेलुकादेखि बिरामी पर्न थालेका थिए । कतिपयलाई घरमै पुगेर उपचार गरिएको थियो ।

 २६ माघ,खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङमा बिहे भोज खाँदा बिरामी परेका अधिकांश स्थानीय निको भएका छन् ।

दिप्लुङमा माघ २१ गतेको विवाह भोज खाएकामध्ये बेहुला–बेहलीसहित १७३ जना स्थानीय विरामी परेका थिए । तीमध्ये अधिकांशलाई निको भएको र हाल प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा पाँच जना मात्रै बिरामी बाँकी रहेको जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष अरुणादेबी राईले बताइन् । उनीहरुलाई स्लाइनपानी दिँदै राखिएको छ ।

विरामी पर्नेको संख्या अधिक भएपछि गाउँपालिकाले माघ २३ गते दिप्लुङकै निगालाबास भञ्ज्याङमा शिविर खडा गरेर उपचारको प्रवन्ध मिलाएको थियो । बिरामीको उपचारका लागि गाउँपालिकाको स्वास्थ्य शाखाको आरआरटी टिम, स्वास्थ्य कार्यालय र जनप्रतिनिधिको टोली दिनरात खटिएका थिए ।

विवाह भोज खाएका स्थानीय माघ २२ गते बेलुकादेखि बिरामी पर्न थालेका थिए । भोज खाएको करिव १२ घण्टापछि सुरुमा ज्वरो आउने, काम्ने र झाडापखाला लाग्ने समस्या देखिएको थियो ।

विरामीको अधिक चाप बढेपछि स्वास्थ्य कार्यालयबाट औषधि सहितको जनशक्ति मगाएर उपचार गरिएको गाउँपालिका उपाध्यक्ष खेम खड्काले बताए । भोज खाएर फर्किएका उदयपुर, काठमाडौं लगायतका पाहुना समेत बिरामी परेको सूचना आएको उनले बताए

सय जना बिरामीको घरघरमै पुगेर तथा ७३ जनाको शिविर केन्द्रमा उपचार गरिएको गाउँपालिकाले जनाएको छ ।

भोज खानेक्रममा ‘फुड पोइजनिङ’ भएको अनुमान गरिएको छ । भोज खाएपछि विरामी पर्नुको कारण पत्ता लगाउनका लागि ‘स्याम्पल’ संकलन गरेर प्रदेशमा पठाइएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख कुलबहादुर पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?