+
+
Shares

पर्यटन प्रवर्द्धन गर्न ‘नेपाल राइडर्स मिट’ हुने

आगामी २ देखि ४ फागुनसम्म ललितपुर गोदावरी-२ स्थित चापखर्कमा नेपाल राइडर्स मिट हुनेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २६ गते १७:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फागुन २ देखि ४ गतेसम्म ललितपुर गोदावरी-२ स्थित चापखर्कमा आठौं नेपाल राइडर्स मिट आयोजना हुनेछ।
  • कार्यक्रममा नेपाल, भारत, भुटान र म्यानमारबाट ५५० भन्दा बढी राइडर सहभागी हुने आयोजकले बताए।
  • नेपाल राइडर्स मिटले साहसिक पर्यटन प्रवर्द्धन गर्दै नेपालको प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधता अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्ने लक्ष्य राखेको छ।

२६ माघ, काठमाडौं । नेपालको साहसिक र अनुभवमा आधारित पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ललितपुरमा ‘आठौं नेपाल राइडर्स मिट’ हुने भएको छ ।

सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइएको छ । आयोजकका अनुसार आगामी २ देखि ४ फागुनसम्म ललितपुर गोदावरी-२ स्थित चापखर्कमा नेपाल राइडर्स मिट हुनेछ ।

आयोजक द हिमालयन मोटरसाइकल एक्सपेरियन्सका संयोजक अर्जुन थापाका अनुसार कार्यक्रममा नेपाल सहित भारत, भुटान र म्यानमार लगायत देशबाट ५ सय ५० भन्दा बढी राइडर सहभागी हुनेछन् ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले नेपालको पर्यटन प्रवर्द्धनका लागि ‘मोटरबाइक राइडिङ’ महत्त्वपूर्ण हुने बताए । परम्परागत पदयात्रा र पर्वतारोहण भन्दा बाहिरका पर्यटन उत्पादन प्रवर्द्धन गर्दा रोड ट्रिप, एडभेन्चर टुरिज्म र क्रस–बोर्डर पर्यटन विस्तारमा योगदान पुग्ने उनको भनाइ छ ।

‘नेपाल राइडर्स मिटले नेपालको साहसिक र अनुभवमा आधारित पर्यटन प्रवर्द्धनका लागि महत्त्वपूर्ण योगदान गर्ने छ, नेपालको दक्षिण छिमेक भारतमा मात्रै बाइक राइडिङ संस्कृति प्रवर्द्धन गर्दै नेपालमा भारतीय राइडर ल्याउन सके नेपालको पर्यटक आगमन फड्को मार्ने देखिन्छ,’ उनले भने, ‘बाइक राइडिङ केवल घुम्‍नेमात्र नभएर नेपालको संस्कृति, प्रकृतिसँग पनि साक्षात्कार हुने अवसर प्राप्त हुनेछ ।’

आयोजक संस्था फोरे नेपालका सकिल गौचन, सहयोगी संस्था रोयल इन्फिल्डका निर्देशक मेघराज पौडेल, द हिमालयन क्लबका प्रमुख अनिल काफ्ले लगायत नेपाल राइडर्स मिट राइडिङ समुदायको महत्त्वपूर्ण पर्व भएको उल्लेख गर्दै बाइक राइडिङलाई पर्यटन प्रवर्द्धनको महत्वपूर्ण उत्पादनका रूपमा विकास गर्नुपर्ने बताए । उनीहरूले यस बाइक राइड मार्फत् भातृत्व विकासका साथै नेपालको संस्कृति प्रवर्द्धन गर्न पनि टेवा पुग्ने बताए ।

यस कार्यक्रममा हुने सहभागिताले नेपाललाई क्षेत्रीय साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । सन् २०१३ मा बर्दियाबाट सुरु भएको नेपाल राइडर्स मिट केही व्यक्तिबाट सुरु भएको र हाल ५ सयभन्दा बढी राइडर्स सहभागी हुँदैछन् ।

यस कार्यक्रम मार्फत नेपालका प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, रमणीय राजमार्ग र आतिथ्य संस्कृति प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ ।

आयोजकका अनुसार मोटरसाइकल पर्यटनले गन्तव्यलाई नजिकबाट अनुभव गर्ने अवसर प्रदान गर्नुका साथै यात्राका कथाहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवाह गर्न प्रभावकारी माध्यम बन्ने छ ।

नेपाल राइडर्स मिटले यसअघि बर्दिया, चितवन, मनाङल गायत ठाउँमा कार्यक्रम गरिसकेको छ । कार्यक्रमले डिजिटल प्ल्याटफर्म, राइडर नेटवर्क र सञ्चारमाध्यम मार्फत नेपालका पर्यटन गन्तव्यको अन्तर्राष्ट्रिय प्रचार–प्रसारमा सहयोग पुर्‍याउने विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?