+
+
Shares

गगन, शेखर र विजय गच्छदार एकै मञ्चमा : भने- गगनको नेतृत्वमा एक भयौँ

कांग्रेस एक भएको छ, एक भएर नेपाली कांग्रेसले निर्वाचनको सामना गर्छ । त्यसैकारण आज मञ्चमा भएका हाम्रा नेताहरू, इतिहास बनाएका पुराना नेताहरू पनि गगनकुमार थापाको नेतृत्वमा चुनावमा जानुभएको छ । -विजयकुमार गच्छदार

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २६ गते १९:०६

२६ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा, नेता डा.शेखर कोइराला, पूर्व उपसभापति विजयकुमार गच्छदारसहितका नेता एकै मञ्चमा उभिएर एकताको सन्देश दिएका छन् । सोमबार विराटनगरमा कोशी प्रदेशस्तरीय कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा गगन-शेखरलगायतका नेताहरू एकै मञ्चमा उभिएर सम्बोधन गरेका छन् ।

कार्यक्रम सुरु हुनुपूर्व सहभागी हुन विराटनगर पुगेका सभापति थापालाई स्वागत गर्न कोइराला आफै पुगेका थिए । उनीहरूबाहेक कार्यक्रममा महामन्त्री गुरुराज घिमिरे, कोशी प्रदेशका सभापति उद्धव थापा, पूर्व सहमहामन्त्री भीष्मराज आङदेम्बे, नेताहरू ज्ञानेन्द्रबहादुर कार्की, सुनिल थापा, रामहरि खतिवडालगायत पनि सहभागी थिए ।

कार्यक्रममा सभापति थापाले चुनावमा पार्टी एकढिक्का भएर अघि बढेको दाबी गरे । परिवर्तनलाई स्वीकार गरेर चुनावमा एकढिक्का भएको कांग्रेसलाई जितबाट कसैले रोक्न नसक्ने पनि उनले बताएका थिए ।

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको मुख्य प्रतिबद्धता संविधानको निरन्तरता रहेको पनि सभापति थापाले बताए । उनले भने, ‘संविधानको निरन्तरता हाम्रो कमिटमेन्ट हो । तर, यो संविधानभित्र बदल्नुपर्ने कुराहरू पनि धेरै छ । अनि त्यो कुरा कसैले एक झट्कामा बदल्नसक्छ ? त्यसको लागि विश्वास, संवाद चाहिँदैन ?’ त्यो विश्वास र संवादको नेतृत्व कांग्रेसबाहेक अरुले गर्न नसक्ने उनले बताए । कांग्रेसले बिग्रिएका कुरा सच्याएर अघि बढ्ने पनि उनले बताए ।

कार्यक्रममा नेता कोइरालाले सबै वर्ग, समुदायका लागि कांग्रेसले योजना बनाएको दाबी गर्दै कांग्रेसको जित अपरिहार्य भएको बताए । त्यसका लागि कांग्रेस एकढिक्का भएर निर्वाचनलाई सामना गर्न तयार रहेको पनि उनले बताए ।

नेता कोइरालाले कांग्रेस शुद्धीकरणका लागि तयार रहेको पनि बताए । उनले भने, ‘ऐना पुछेर होइन, अनुहारकै दाग मेटेर नेपाली काँग्रेसमा शुद्धीकरण हुन्छ ।’

यस्तै पूर्व उपसभापति गच्छदारले कांग्रेस एक भएको दाबी गरे । ‘कांग्रेस एक भएको छ, एक भएर नेपाली कांग्रेसले निर्वाचनको सामना गर्छ,’ उनले भने,‘त्यसैकारण आज मञ्चमा भएका हाम्रा नेताहरू, इतिहास बनाएका पुराना नेताहरू पनि गगनकुमार थापाको नेतृत्वमा चुनावमा जानुभएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?