२७ माघ, धनकुटा । धनकुटामा निर्वाचन आचारसंहित उल्लंघन गर्ने स्वतन्त्र उम्मेदवार लाक्पा तामाङलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले सचेत गराएको छ ।
तामाङले आचारसंहिता विपरित प्रतिद्धन्दी उम्मेदवार नेकपा एमालेका राजेन्द्र राईले पैसा बाँडेको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो ।
तामाङले धनकुटा मुगाका भुपाल थापालाई एमाले उम्मेदवार राईले एक भोटको १० हजार रुपैयाँ दिएको भन्दै सामाजिक सञ्जालमा फोन रेर्कड अडियोलाई भिडियो बनाएर सार्वजनिक गरेका थिए ।
तामाङले उक्त अडियो भिडियो सार्वजनिक गरेपछि एमाले धनकुटाले भुपाल थापा र त्यहाँ उल्लेख भएको फोन नम्बर गतल रहेको भन्दै पत्रकार सम्मेलनसमेत गरेको थियो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवार तामाङले निर्वाचन आचारसंहिता विपरित जनतालाई भ्रम पार्ने काम भएको भन्दै एमाले धनकुटाले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गरेको थियो ।
तामाङविरुद्ध उजुरी परेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले तामाङसँग लिखित जवाफ माग गरेको थियो । तामाङले लिखित जवाफ पेस गर्दै अबदेखि यस्तो गल्ती नदोहोर्याउने प्रतिवद्धता गरेको सहायक निर्वाचन अधिकृत तथा सूचना अधिकारी इन्द्रकुमार योङहाङले जानकारी दिए ।
तामाङलाई मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र इङनामले सम्झाएको र तामाङले आगामी दिनमा सामाजिक सञ्जालमा भिडियो वा अडियो सेयर नगर्ने तथा आचारसंहिताको पूर्ण रुपमा पालना गर्ने प्रतिबद्धता जनाएको योङहाङले जानकारी दिए ।
तामाङले पेस गरेको लिखित जवाफ मुख्य निर्वाचन अधिकृतलाई चित्त नबुझे निर्वाचन समितिमा पेश हुने र मुख्य निर्वाचन अधिकृतलाई चित्त बुझे समितिमा पेस नभई सम्झाउने काममा सकिने सहायक निर्वाचन अधिकृत योङहाङले जानकारी दिए ।
निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता २०८२ को दफा ४८ को उप दफा १ मा आचारसंहिता उल्लंघन भएमा एक लाख रुपैयाँसम्म जरिवाना वा उम्मेदवारी रद्द गर्न सक्नेसम्मको कारबाही हुने उल्लेख छ ।
-ईश्वर थापाबाट
प्रतिक्रिया 4