+
+
Shares

राजपाल यादवको मद्दतमा उत्रिए सोनु सुद, फिल्म र साइनिङ अमाउन्टको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २७ गते २०:१७
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता राजपाल यादवले ९ करोड भारुको ऋण र चेक बाउन्स मुद्दामा तिहाड जेल जानुअघि आर्थिक संकटमा परेको बताए।
  • सोनू सूदले राजपाललाई फिल्म प्रस्ताव र साइनिङ अमाउन्ट दिएर सहयोग गर्ने बाचा गरेका छन्।
  • जेम्स ट्युनका मालिक राव इन्द्रजीत सिंह यादवले राजपाललाई १.११ करोड भारुको आर्थिक सहयोग गरेका छन्।

मुम्बई । ९ करोड भारुको ऋण र चेक बाउन्सको मुद्दामा तिहाड जेल जानु अघि राजपाल यादवले आफ्नो कुरा राखेका थिए । उनले आफू आर्थिक संकटमा परेको र मद्दत माग्न जाने ठाउँ समेत नभएको बताएका थिए ।

यस्तो अप्ठ्यारो समयमा अभिनेता सोनू सूद उनको सहारा बनेका छन् । सोनूले राजपाललाई एउटा फिल्मको प्रस्ताव दिने जनाउँदै तुरुन्तै केही ‘साइनिङ अमाउन्ट’ दिएर सहयोग गर्ने बाचा समेत गरेका छन् ।

सोनू सूदले एक्स र इन्स्टाग्राम स्टोरीमा एउटा पोस्ट सेयर गर्दै लेखेका छन् :

“राजपाल यादव एकदमै प्रतिभाशाली कलाकार हुनुहुन्छ, जसले हाम्रो फिल्म उद्योगलाई धेरै बिर्सन नसकिने राम्रा कामहरू दिनुभएको छ । कहिलेकाहीँ जिन्दगी अलि अन्यायपूर्ण भइदिन्छ, तर यसको मतलब यो होइन कि उहाँमा क्षमताको कमी छ; समय मात्र अलि कठोर भएको हो ।

उहाँ मेरो फिल्मको हिस्सा हुनुहुनेछ र मलाई लाग्छ कि यो यस्तो समय हो जहाँ हामी सबै निर्माता, निर्देशक र सहकर्मीहरू एकजुट भएर उभिनुपर्छ । उहाँलाई दिइने सानो साइनिङ अमाउन्ट (जसलाई पछि कामको आधारमा मिलाउन सकिन्छ) कुनै दान होइन, बरु उहाँको सम्मान र गरिमाको कदर हो ।’

उनले अघि भनेका छन्, ‘जब हाम्रै बीचको कोही अप्ठ्यारो समयबाट गुज्रिरहेको हुन्छ, तब उसलाई ‘तिमी एक्लो छैनौ’ भनेर महसुस गराउनु फिल्म उद्योगको दायित्व हो । यसरी नै हामी देखाउन सक्छौँ कि हामी एउटा उद्योग मात्र होइनौं, बरु एउटा परिवार हौं ।’

सोनू सूद मात्र होइन, जेम्स ट्युन म्युजिकका मालिक राव इन्द्रजीत सिंह यादवले पनि राजपाल यादवलाई १.११ करोड भारुको आर्थिक सहयोग गरेका छन् । उनले एक कलाकारको रूपमा मात्र नभई, एउटा मान्छेको नाताले राजपाल यादवलाई साथ दिएका हुन् ।

साथै, उनले देशबासीलाई पनि राजपाल र उनको परिवारको सहयोगका लागि अगाडि आउन अपिल गरेका छन् । ‘बलिउड हंगामा’ को रिपोर्ट अनुसार, आत्मसमर्पण गर्नुअघि जब राजपाल यादवलाई उनको कानुनी मामिलाबारे सोधियो, उनले भावुक हुँदै भने, ‘सर, के गरूँ? मसँग पैसा छैन । अरू कुनै उपाय नै देख्दिनँ ।’

जब उनलाई प्रियदर्शन जस्ता आफ्ना नजिकका साथीसँग किन मद्दत नमागेको भनेर सोधिएको थियो, तब राजपालले भनेका थिए, ‘सर, यहाँ हामी सबै एक्लै छौं । कोही कसैको साथी छैन । यो संकटको सामना मैले आफैँले गर्नुपर्छ ।’

वास्तवमा यो चेक बाउन्सको मुद्दा सन् २०१० देखिको हो, जतिबेला राजपाल यादवले आफ्नो निर्देशनमा बनेको पहिलो फिल्म ‘अता पता लापता’ निर्माणका लागि ‘मुरली प्रोजेक्ट्स प्राइभेट लिमिटेड’ नामको एउटा निजी कम्पनीबाट करिब ५ करोड भारु ऋण लिएका थिए । दुर्भाग्यवश फिल्म बक्स अफिसमा सफल हुन सकेन र उनी ऋण तिर्नबाट चुके ।

उजुरी अनुसार, राजपालले ऋण तिर्नका लागि कम्पनीलाई केही चेकहरू दिएका थिए, जुन बैंकमा बाउन्स भए । सम्झौता भए तापनि पूरा भुक्तानी हुन सकेन र समयसँगै ब्याज थपिँदै गएकाले कुल ऋणको रकम निकै बढ्यो ।

सन् २०१८ मा दिल्लीको कडकडडुमा अदालतले यादवलाई दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाएको थियो । त्यसपछि उनले उच्च अदालतमा पुनरावेदन गरे, जहाँ उनले रकम तिर्ने र सम्झौता गर्ने विश्वास दिलाएपछि पटक-पटक राहत पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?