News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली क्रिकेट टोलीले बिहीबार वाङ्खडे स्टेडियम, मुम्बईमा इटलीसँग समूह चरणको दोस्रो खेल खेल्दैछ।
- कप्तान रोहित पौडेलले इंग्ल्यान्डसँगको खेलपछि दबाब सम्हाल्न सिकेको र मनोबल उच्च रहेको बताए।
- इटली पहिलोपटक विश्वकप खेलिरहेको छ र कप्तान वायन म्यानड्सेन घाइते भएर खेल्न सक्ने सम्भावना कम छ।
२८ माघ, मुम्बई । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत इंग्ल्यान्डसँगको खेलपछि आफुहरूले कठिन परिस्थितिमा दबाब कसरी सम्हाल्ने भन्ने कुरा सिकेको बताएका थिए ।
त्यही सिकाइका साथ अझ परिपक्क हुँदै नेपालले अभ्याससहित ३ दिनको आरामपछि समूह चरणको आफ्नो दोस्रो खेलमा बिहीबार इटलीसँग खेल्दैछ । पहिलोपटक विश्वकप खेलिरहेको इटली आफ्नो पहिलो खेलमा स्कटल्यान्डसँग पराजित भएको थियो ।
नेपाल पनि आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग पराजित भएको थियो । त्यसकारण नेपाल र इटली दुवै पहिलो जितको खोजीमा हुनेछन् । यो खेलमा विजयी हुने टोलीले सुपर ८ सम्भावना कायमै राख्नेछ भने पराजित हुने टोलीलाई सुपर ८ को सम्भावना कठिन बन्नेछ ।
अर्को एउटा रोचक कुरा के छ भने इटलीसँग क्रिकेटमा नेपालको १३ वर्षपछि फेरि भेट हुँदैछ । सन् २०१३ को आईसीसी डिभिजन ३ मा नेपालले इटलीसँग खेलेको थियो । तर त्यो ५० ओभरको खेल थियो ।
बिहीबार हुने खेल यी दुई टोलीबीचको पहिलो टी-२०आई भिडन्त हुनेछ । १३ वर्षपछि इटलीसँग खेल्दा नेपाल १२ वर्षपछि जितको खोजीमा पनि हुनेछ । नेपालले सन् २०१४ मा अफगानिस्तानविरुद्धको खेल जितेपछि विश्वकपको खेल जितेको छैन ।
इंग्ल्यान्डसँग जितको नजिक पुगेर पराजित भएपछि नेपाली टोलीले विश्वभरबाट प्रशंसा पाइरहेको छ । प्रशंसाका बीच एक्सपोजर भने पर्याप्त नपाइरहेको अवस्थामा नेपाली टोलीले जुन टिमसँग खेल्दा पनि दबाब सम्हाल्ने कुरामा भने ध्यान दिनुपर्ने अवस्था बनिरहेको छ ।
कप्तान रोहित पौडेलले आगामी खेलका लागि मनोबल उच्च भएको बताएका छन् । ‘हामीले विश्वकपको उत्कृष्ट टोलीमध्ये एकसँग खेलिसकेका छौं, त्यसले इटाली विरुद्धको खेलका लागि मनोबल बढाएको छ’ उनले भने ।
आईसीसी टी-२० आई वरियतामा २७औं स्थानमा रहेको भएपनि इटलीविरुद्ध खेल्दा नेपाली टोली सजग हुनेछ । किनभने इटली उदाउँदो क्रिकेटिङ राष्ट्र मात्र नभएर अनुभवी खेलाडीहरूले भरिएको टिम समेत हो । अस्ट्रेलियादेखि दक्षिण अफ्रिकासम्म खेलेका खेलाडी इटलीमा छन् ।
कप्तान रोहित पौडेलले इटलीलाई हल्का रूपमा नलिने बताइसकेका छन् । ‘विश्वकप खेल्ने हरेक टिम राम्रो नै हुन्छ । पछिल्लो समय इटलीले पनि राम्रो प्रदर्शन गरिरहेको छ । त्यसकारण हल्का रूपमा लिने छैनौं’ रोहितले बुधबार आयोजित प्रि-म्याच प्रेस कन्फेरेन्समा भनेका थिए ।

हुन पनि हो, इटलीले विश्वकपको सुरुवाती खेलमा स्कटल्यान्डसँग हार बेहोरेको भएपनि विश्वकपमा आउनुअघि टेस्ट राष्ट्र आयरल्यान्डसहित एसोसियटका उत्कृष्ट नामिबिया र क्यानडालाई पनि हराएको थियो । यसबाट इटलीले विश्वकपमा कुनै ठुलो टिमलाई ‘अपसेट’ नगराउला भन्न सकिँदैन ।
इटलीले युरोपियन छनोट पार गरेर पहिलोपटक टी-२० विश्वकपमा स्थान बनाएको थियो । विश्वकपजस्तो स्टेजमा खेल्दा केही दबाब हुने भएकाले पनि इटली पहिलो खेलमा स्कटल्यान्डसँग पराजित भयो । दोस्रो खेलमा अझ मजबुत बनेर आउनेछ ।
इटलीलाई पहिलो खेलमै एक झट्का भने लागिसकेको छ । अनुभवी खेलाडी एवम् कप्तान वायन म्यानड्सेन काँधको चोटका कारण पहिलो खेलको केही ओभरमै बाहिरिएका थिए । त्यसकारण उनी दोस्रो खेलमा नखेल्ने भइसकेका छन् ।
इटलीका प्रशिक्षक जोन डेभिसनले नेपाली दर्शकसामू वाङ्खेडे रंगशालामा खेल्न उत्साहित रहेको बताएका छन् । ‘ठूलो भीडको सामना गर्नु हाम्रो लागि नयाँ होइन । यस्तो वातावरण विरलै पाइन्छ, त्यसैले खेलाडीलाई रमाएर खेल्न भनेका छौं’ प्रशिक्षक डेभिसनले भनेका छन्, ‘खाली रंगशालाभन्दा ३५ हजार नेपाली समर्थकमाझ खेल्नु अझ राम्रो अनुभव हो।’
डेभिसनले टी–२० क्रिकेटमा कुनै पनि टोलीले एक–दुई उत्कृष्ट प्रदर्शनबाट खेल जित्न सक्ने भएकाले नेपालविरुद्ध आत्मविश्वासका साथ मैदान उत्रिने बताए ।

हेड टु हेड
इटली पहिलोपटक विश्वकप खेल्न लागेको टोली हो । युरोपियन छनोट पार गरेर टी-२० विश्वकपमा खेल्न लागेको इटली आईसीसी टी-२०आई वरियतामा २७औं स्थानमा छ ।
पछिल्लो समय इटली क्रिकेटमा उदाउँदो राष्ट्रका रूपमा देखिएको छ ।
नेपालले इटलीसँग हालसम्म टी-२०आईमा खेलेको छैन । सन् २०१३ मा आईसीसी डिभिजन ३ अन्तर्गत इटलीसँग नेपालले फरक फर्म्याटमा खेलेको थियो ।
५० ओभरको उक्त प्रतियोगितामा नेपालले इटलीलाई हराएको थियो । १३ वर्षपछि फरक फर्म्याटमा खेल्दा पनि नेपाल जितको खोजीमा हुनेछ ।
इटलीलाई पराजित गरे नेपालले टी-२० विश्वकपमा १२ वर्षपछि जित हासिल गर्नेछ ।
विश्वकपअघि आयरल्यान्डसँग टी-२०आई शृंखला खेलेको इटलीले शृंखला गुमाएपनि एक खेल जितेको थियो ।
टिम कम्बिनेसन र सम्भावित ११
नेपालले पहिलो खेलमा दुई पेस बलर र दुई स्पीनर खेलाउँदै एक्स्ट्रा ब्याटर खेलाएको थियो । सोमपाल कामी बेन्चमा रहँदा शेर मल्ल र सन्दीप लामिछाने अनि करण केसी र नन्दन यादवले खेलेका थिए ।
नेपालले पहिलो खेलकै टोलीलाई निरन्तरता दिने सम्भावना देखिएको छ । नेपालले वाङ्खडे मैदानमै खेल्ने भएकाले पहिलो खेलकै कम्बिनेशनबाट दोस्रो खेल जित्ने लक्ष्यमा नेपाल हुनेछ ।
इटलीको टोलीमा दाँयाहाते ब्याटरकै बाहुल्यता भएकाले नेपालले एक पेसर वा स्पीनर हटाएर ललित राजवंशीलाई मौका दिन सक्छ । अन्यथा परिवर्तनको धेरै सम्भावना भने देखिँदैन ।
नेपालका लागि पछिल्लो समय दीपेन्द्रसिंह ऐरी चौथो नम्बरमा ब्याटिङमा आएका छन् । यसले नेपालको मिडल अर्डर बलियो बनेको देखिएको छ ।

अर्कोतर्फ इटलीका लागि एक परिवर्तन बाध्यकारी देखिएको छ । कप्तान वायन म्याड्सेन घाइते भएकाले उनले यो खेल खेल्ने छैनन् । उनको स्थानमा साइद नक्भी आउन सक्छन् । अन्य खेलाडी इटलीले पनि परिवर्तन गर्ने सम्भावना कम छ ।
नेपालको सम्भावित ११ : कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्शन झा, लोकेश बम, करण केसी, नन्दन यादव, शेर मल्ल/ललित राजवंशी, सन्दीप लामिछाने
इटलीको सम्भावित ११ : जस्टिन मोस्का, एन्थनी मोस्का, ग्रान्ट स्टेवार्ट, बेन मानेन्ती, ह्यारी मानेन्ती, सइद नक्भी, जेजे स्मट्स, क्रिशन कलुगमागे, जीपी मियडे, थोमस ड्राका, अली हसन
प्रभाव पार्न सक्ने खेलाडी
नेपालका लागि ओपनिङ ब्याटर कुशल भुर्तेलमाथि नजर रहनेछ । उनले पहिलो खेलमा जोफ्रा आर्चरजस्ता बलरलाई समेत अट्याक गर्दै फियरलेस ब्याटिङ गरेर नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । पावरप्लेमा उनको ब्याटिङबाट नेपालको पूरा इनिङकै आधार तय हुन सक्छ ।
यस्तै दीपेन्द्रसिंह ऐरीबाट पहिलो खेलको जस्तै अलराउन्ड प्रदर्शनको अपेक्षा रहनेछ । बलिङमा सन्दीप लामिछाने र नन्दन यादव प्लेयर्स टु वाचका रूपमा हुनेछन् ।
इटलीका लागि जेजे स्मट्स मुख्य खेलाडीका रूपमा रहनेछन् । दक्षिण अफ्रिकाबाट खेलेको अनुभव रहेका स्मट्सले इटलीका लागि म्याच विनिङ अलराउन्ड प्रदर्शन गर्न सक्छन् ।
यस्तै दाजुभाईहरू जस्टिन मोस्का र एन्थनी मोस्का तथा बेन मानेन्ती र ह्यारी मानेन्ती पनि ‘प्लेयर्स टु वाच’का रूपमा हुनेछन् ।
***
खेल : नेपाल भर्सेस इटली, समूह ‘सी’
मिति र समय : २९ माघ, बिहीबार, दिउँसो ३:१५ बजे
स्थान : वाङ्खडे स्टेडियम, मुम्बई
मौसम : सफा, बेलुका डिउ आउने सम्भावना कम
प्रतिक्रिया 4