News Summary
Generated by OK AI. Editorially reviewed.- क्यालिफोर्निया विश्वविद्यालयमा पियानोवादक निकोलस नामोराड्जेले संगीत बजाउँदा मस्तिष्कको ग्लास ब्रेन दृश्य देखिएको छ।
हालैको एक साँझ क्यालिफोर्निया विश्वविद्यालयमा पियानोवादक निकोलस नामोराड्जेले मधुर धुनहरू बजाइरहँदा उनको टाउकोमाथि एउटा पर्दामा अनौठो दृश्य देखियो । त्यहाँ उनको मस्तिष्कको एउटा तस्बिर थियो । जसलाई प्राविधिक भाषामा ‘ग्लास ब्रेन’ नाम दिइयो ।
निकोलसले पियानो बजाउँदा त्यहाँ प्रकाशका रंगीचंगी तरगंहरू यताउता सरेको देखिन्थ्यो । उनले पियानोको एउटा–एउटा ताल बजाउँदा ग्लास ब्रेनमा पनि विभिन्न रङका बादलहरू बनेझैं देखिन्थ्यो ।
खासमा ग्लास ब्रेनको यो दृश्यले संगीत बजिरहँदा कलाकारको दिमागभित्र कस्तो हलचल हुन्छ भन्ने कुरालाई ऐनाझैं छर्लङ्ग देखाएको थियो । अर्थात्, संगीत बजाइरहँदा दिमागमा के हुन्छ ? भन्ने प्रश्नको उत्तर थियो त्यो ।
अहिले त्यो दृश्यले वैज्ञानिकहरूलाई निकै उत्साहित बनाएको छ । किनकि आजको दिनसम्म धेरैजसो अध्ययनहरू संगीत सुन्ने मानिसको बारेमा मात्र हुन्थे । संगीत बजाइरहँदा दिमागमा के हुन्छ भन्ने कमै अध्ययन भएको थियो । साथै ठोस कुरा पत्ता लगाउन गाह्रो थियो । त्यसमा सबैभन्दा ठूलो चुनौति प्राविधिक पाटो थियो । किनकि भारी मेसिनभित्र बसेर संगीत बजाउन सम्भव थिएन । तर अहिले नयाँ प्रविधिको सहयोगले यो सम्भव भएको हो ।
यस अनुसन्धानमा ३३ वर्षीय पियानोवादक निकोलस नामोराड्जेले ठूलो योगदान पुर्याएका छन् । उनी एक उत्कृष्ट पियानोवादक मात्र नभई न्युरोसाइकोलोजीमा डिग्री हासिल गरेका विज्ञ व्यक्ति पनि हुन् । उनैले अनुसन्धानका लागि एउटा समाधान निकालेका हुन् ।

त्यसका लागि उनले स्टेनवे स्पिरियो नाम गरेको आधुनिक पियानो बजाएका थिए । यसमा उनले बजाएको हरेक धुन दुरुस्तै रेकर्ड गर्न सक्ने समार्थ्य हुन्छ । सुरुमा उनले उक्त पियानोमा आफ्नो सांगीतिक प्रस्तुति रेकर्ड गरे । त्यसपछि त्यही रेकर्डिङ बजिरहँदा उनले पियानोमा आफ्नो औंला मात्र खेलाए । अर्थात् फिंगर-सिन्किङ मात्र गरे । यसो गर्दा एउटै धुन बारम्बार बजाउन सजिलो हुन्थ्यो । अनि, यही तरिका अपनाएपछि वैज्ञानिकहरूलाई उनको दिमागको अवस्था (ईईजी डेटा) एकदमै सरल तरिकाले अध्ययन गर्ने मौका मिल्यो ।
त्यसको अध्ययन समेत गरेका वैज्ञानिक थिओडोर जान्टोका अनुसार संगीतले मानव मस्तिष्कका धेरै क्षमताहरूलाई एकैसाथ सक्रिय बनाउँछ । यसमा धारणा, चाल, स्मृति, ध्यान र भावना सबै पर्छन् । यसै गरी हरेक धुन अनुसार मस्तिष्कका विभिन्न क्षेत्रहरू पनि उसै गरी सक्रिय हुन्छन् । र, त्यही प्रक्रियाको प्रतीकात्मक शैली नै ग्लास ब्रेनमा रंगीन देखिएको हो । खासमा ती निकोलसको मस्तिष्क भित्र भइरहेको विद्युतीय गतिविधि हुन् ।
यस प्रयोगले वैज्ञानिकहरूलाई एउटा नयाँ बाटो खोलिदिएको छ । विशेषत: संगीत मनोरञ्जन मात्र नभएर यो मानव मस्तिष्कको सबैभन्दा परिष्कृत र जटिल अभिव्यक्तिको माध्यम हो भन्ने कुरा पुष्टि गरेको छ ।
अब वैज्ञानिकहरू भविष्यमा ‘ग्लास ब्रेन’ मात्र नभई ‘ग्लास बडी’ बनाउने सोचमा छन् । त्यसपछि संगीत बजाउँदा मस्तिष्कसँगै मुटुको गति, छालाको संवेदनशीलता र पाचन प्रणालीमा कस्तो असर पर्छ भन्ने कुराको अध्ययन गर्न सकिने बताइएको छ ।
न्यू योर्क टाइम्सबाट
प्रतिक्रिया 4