News Summary
Generated by OK AI. Editorially reviewed.- टिकटकमा युवा पुस्ताले राजनीतिक गफ गर्दै चुनावी सरगर्मीमा सक्रिय भूमिका खेलेका छन् ।
- सोशल मिडिया इन्फ्लुएन्सरहरूले नेताहरूको भ्रष्टाचार र सामाजिक असमानताबारे भिडियो बनाएर युवालाई जागरुक बनाएका छन्।
पहिले-पहिले चिया पसलमा राजनीतिको चर्को गफ हुन्थ्यो । त्यहाँ तात्तातो चिया पिउनेहरू मात्र होइन, गफ सुन्नेहरूको पनि सानो–तिनो भीड नै लाग्थ्यो । राजनीति कहाँ बिग्रियो ? कुन नेताले के गरे ? अब देशमा के हुनुपर्छ ? यस्ता विषयमा प्रवचन दिनेहरू पनि कम हुँदैनथे ।
अहिले यो लहर सर्लक्कै टिकटकमा सरेको छ । यो भर्चुअल माध्यम नयाँ पुस्ता, विशेषगरी जेनजीको साझा चौतारी बनेको छ, जहाँ उनीहरू राजनीतिक गफ गर्छन् ।
उसो त यही पुस्तालाई राजनीतिप्रति चासो छैन भनिँदै आएको थियो । तर यही पुस्ताले विश्व राजनीतिलाई तरंगित मात्र बनाएन, कतिपय ठाउँमा सत्तापलट नै गरिदियो । नेपाल पनि त्यसैको एउटा उदाहरण बनेको छ ।
यतिबेला मुलुक चुनावको संघारमा छ । चुनावी सरगर्मी बढ्दै जाँदा टिकटकमा त्यसको राप र ताप स्पष्ट महसुस गर्न सकिन्छ । कुन पार्टी राम्रो ? कुन नेता योग्य ? कसले सुशासन ल्याउँछ ? कसले भ्रष्टाचार बढाउँछ ? यस्तै तर्क–वितर्क टिकटकमा चर्किरहेका छन् ।
सोशल मिडिया इन्फ्लुएन्सरको भूमिका
टिकटक र इन्स्टाग्रामजस्ता प्लेटफर्ममा सोशल मिडिया इन्फ्लुएन्सरहरूले राजनीतिक मुद्दालाई प्राथमिकता दिँदै युवा पुस्तालाई सक्रिय बनाएका छन् । उनीहरूले भिडियोमार्फत नेताहरूको भ्रष्टाचार, नेपाली नेताका छोराछोरीको विलासी जीवनशैली र सामाजिक असमानताबारे छलफल गर्छन् ।
यसले राजनीतिलाई एलिट वर्गबाट सामान्य जनतासम्म पुर्याएको छ । सामान्य प्रयोगकर्ताले पनि राजनीतिक सामग्री सेयर गर्न थालेका छन्, जसले बहसलाई अझ व्यापक बनाएको छ ।
प्रशंसा सुवेदी त्यसमध्येकी एक हुन् । उनले नेता र तिनका कार्यशैली, समाजको मनोविज्ञान, युवाका सपना र आवश्यकताबारे जानकारीमूलक भिडियो बनाउँछिन् ।
उनी भन्छिन्, ‘अबको निर्वाचनमा राम्रो नेता छान्न सकेनौँ भने नेपाल बनाउनै नसकिने गरी बिग्रिन सक्छ । अहिले नै हामीले खराब अवस्था देखिसकेका छौँ । थप खराब हुन दिनुहुँदैन । त्यसैले मतदान गर्दा एकदमै सोचविचार गर्नुपर्छ।’
अर्का कन्टेन्ट क्रिएटर तथा जेनजी युवा रेनब बोगटीले निर्वाचन, राज्य सञ्चालन प्रणाली, सरकार गठन प्रक्रिया र संवैधानिक व्यवस्थाबारे सचेत गराउने भिडियो बनाउँछन् । उनी योग्य नेतृत्व, सुव्यवस्थित प्रशासन, सरल कर प्रणाली र युवा उद्यमशीलताको अवसरबारे जोड दिन्छन् । यसले युवालाई राजनीतिक प्रक्रियाबारे राम्रो जानकारी दिन्छ ।
यस्तै कन्टेन्ट क्रिएटर संजोग कोइराला, माइली बुहारी, वर्षा जंग रायमाझी, मिनेश श्रेष्ठलगायतले निर्वाचनसम्बन्धी आचारसंहिता, योग्य उम्मेदवार छनोट र भोट दिने मापदण्डबारे उपयोगी भिडियो बनाउँदै आएका छन् ।
यसका साथै काम वा पढाइका लागि विदेशमा रहेका युवाहरूले पनि टिकटकमार्फत चुनावी छनोट, देशका विभिन्न क्षेत्रमा आवश्यक सुधार र योग्य व्यक्तिको चयनबारे भिडियो सेयर गरिरहेका छन् । यी क्रिएटरहरूले राजनीतिक शिक्षालाई मनोरञ्जनसँग जोडेर युवालाई आकर्षित गरेका छन् ।
यसले मतदातालाई जागरुक बनाएको छ । तर, सोशल मिडियाले राजनीतिक ध्रुवीकरण पनि बढाएको छ । परम्परागत राजनीतिक दललाई चुनौती दिइरहेको यस प्रवृत्तिमा प्रोपागान्डा र फेक कन्टेन्टको प्रयोग बढेकाले मतदाताले सजग रहनु आवश्यक छ ।
केही सकारात्मक पक्ष
टिकटकका छोटा भिडियोले जटिल राजनीतिक विषयलाई सरल बनाएर युवालाई राजनीतिक रूपमा शिक्षित गर्छन् । यसले मतदानको महत्व, संवैधानिक प्रावधान र सामाजिक न्यायबारे जानकारी दिन्छ । राजनीतिलाई युवा र सामान्य जनतासम्म पुर्याएर एलिट वर्गको सीमाबाट बाहिर ल्याउँछ । विदेशमा रहेका युवाले पनि सहभागिता जनाउन सक्छन्।
आकर्षक फर्म्याटले राजनीतिलाई बोरिङबाट रोचक बनाएको छ, जसले सहभागिता बढाएको छ । योग्य नेतृत्व र सुधारबारेको छलफलले देशको भविष्यलाई सही दिशातर्फ लैजान सक्छ ।
प्रतिक्रिया 4