News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले जंगली रातो बाँदरलाई पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ।
- कृषकले तोकिएका सर्तअनुसार निजी खेत, खला, बारीमा रातो बाँदरलाई विनाअनुमति धपाउन, पक्रन र लखेट्न सक्नेछन्।
- राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष वा राष्ट्रिय वन क्षेत्रमा रातो बाँदरलाई धपाउन, लखेट्न वा पक्रन पाइँदैन।
२९ माघ, काठमाडौं । सरकारले जंगली रातो बाँदरलाई पुन: कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ ।
वन तथा वातावरण मन्त्रालयले दोस्रो पटक जंगली रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको हो । बिहीबार राजपत्रमा प्रकाशित सूचना अनुसार सूचना प्रकाशन भएको मितिले एक वर्षसम्मका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरिएको हो ।
कृषि वन्यजन्तु घोषणा भएसँगै जंगली रातो बाँदरले निजी खेत, खला, बारीमा आई क्षति पुर्याउने अवस्था भए त्यस्तो खेत, खला, बारीका धनीले तोकिएको सर्तका आधारमा विनाअनुमति धपाउन, पक्रन र लखेट्न सक्नेछन् ।
सोही क्रममा रातो बाँदरको मृत्यु भए पनि कारबाही हुने छैन । तर, राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष, संरक्षण क्षेत्र वा राष्ट्रिय वन क्षेत्रमा जंगली बाँदरलाई धपाउन, लखेट्न वा पक्रन पाइँदैन ।
सरकारले यसअघि गत वर्ष माघमा जंगली रातो बाँदरलाई पहिलो पटक कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको थियो । अहिले बालीनालीमा जंगली बँदेल र बाँदरको आक्रमण कृषकका लागि टाउको दुखाइको विषय बनेको छ ।
के-के छन् सर्त ?
वन मन्त्रालयका अनुसार जंगली रातो बाँदरले किसानको खेतबारीमा आई बालीनाली वा जनधन हानि–नोक्सानी पुर्याए किसान एक्लै वा सामूहिक रूपमा त्यस्तो बाँदरलाई धपाउन, लखेट्न वा पक्रन सक्ने छ ।
रातो बाँदर पक्रिए त्यो बाँदर सम्बन्धित राष्ट्रिय निकुञ्ज कार्यालय, वन्यजन्तु आरक्ष कार्यालय, शिकार आरक्ष वा संरक्षण क्षेत्रको कार्यालय, डिभिजन वन कार्यालय वा मातहत नजिक कार्यालयमा बुझाउनुपर्ने छ ।
बाँदर धपाउने क्रममा मर्यो भने सम्बन्धित वडाका कम्तीमा एक जना प्रतिनिधि सहित स्थानीय पाँच व्यक्तिको रोहबरमा गाड्न पाइने भएको छ । त्यसको जानकारी निकुञ्ज वा वन कार्यालयमा गराउनुपर्ने छ । साथै, स्थानीय तहको वडामा समेत त्यसको जानकारी गराउनुपर्ने छ ।
रातो बाँदर मारिएमा कार्यालयहरूले हरेक दुई–दुई महिनामा मन्त्रालयमा विवरण पठाउनुपर्ने छ । राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष वा राष्ट्रिय वन क्षेत्रमा भने जंगली रातो बाँदरलाई धपाउन, लखेट्न र पक्रन पाइँदैन ।
प्रतिक्रिया 4