२९ माघ, सिरहा । सुखिपुर नगरपालिका-८ गागन खोलामा बर्खा बाढी आउँछ । यही खोलाको वारिपारिको बस्तीमा अहिले चुनाव पनि आएको छ ।
गागन खोला सिरहाको क्षेत्र नम्बर २ मा पर्छ । खोलाको किनारबाट बस्ती केही मिनेटमात्रै टाढा छ । खोला किनारमा उभिएर हेर्दा नजिकै देखिन्छन् बस्ती ।
खोला किनारबाट पाँच मिनेटकै दूरीमा रहेका यिनै बस्तीमा हरेक वर्षको बर्खामा केही पीडा बल्झिन्छ । स्थानीयवासीले बर्खाको पीडा नबिर्सिन नपाउँदै अहिले गाउँगाउँमा नेताहरू पुग्न थालेका छन् ।
केही ठाउँमा दल र स्वतन्त्र उम्मेदवारले माइकबाट नाराहरू घन्काइउँदै मत मागिरहेका छन् । चुनाव र उम्मेदवार आइरहेका बेला गागन खोलाका मतदाताहरुले प्रश्न सोधिरहेका छन – हामीलाई सहज यात्रा गर्ने र जोड्ने पुल कहिले आउँछ्न् ?
स्थानीय खटोका टोलबाट सुखिपुर बजार पुग्न सामान्य अवस्थामा पाँच मिनेट लाग्छ । तर, बाढी आएपछि त्यो बाटो बन्द हुन्छ । सवारी साधन खोलाको वारिपारि रोकिन्छन् । मानिसहरू जुत्ता हातमा, बच्चा काँधमा, र खाद्यान्न टाउकोमा बोकेर पानी छिचोल्छन् ।

स्थानीय बासिस्टकुमार सिंह भन्छन्, ‘जेठदेखि भदौसम्म चार महिना हामीलाई घुमेर जानुपर्छ । उत्तरपटिबाट कसहा–जिरोमाइल हुँदै र दक्षिणपटिबाट औरही हुँदै जाँदा करिब एक घण्टा लाग्छ ।’
सुखिपुर नगरपालिका मात्र होइन, औरही, धनगढीमाई नगरपालिकालगायत करिब दशवटा गाउँका नागरिकले वर्षोदेखि सास्ती खेप्दै आइरहेका छ्न । ‘पाँच मिनेटको बाटो एक घण्टा लगाएर तय गर्नुपर्दा हामीले कति समय, कति पैसा र कति जोखिम गुमाउँछौं, कसैले हिसाब गरेको छ ?’ सिंहको प्रश्न छ ।
गगान खोला पीडितहरुलाई भाषणा चाहिएको छैन । उनीहरुले आफ्ना समस्या समाधान चाहेका छन् । यहाँका नागरिकहरु बर्खामा बिरामी हुँदा ठूलो सास्ती खेप्न परेको दुखेसो गर्छन् । आकस्मिक स्वास्थ्य समस्या हुँदा ज्यानै गुमाउनु पर्ने अवस्था रहेको अर्का स्थानीय राजलाल साह बताउँछन् ।

‘बाढी आएको बेला एम्बुलेन्स आउँदैन । बिरामीलाई बोकेर घुमाउरो बाटो लाग्नुपर्छ । कहिलेकाहीँ समयमै अस्पताल पुग्न सकिँदैन । यहाँ उपचार केवल स्वास्थ्य सेवा होइन, भाग्यको खेल बन्छ’, साहले भने ।
उनले समयसँगै दौडँदा बाटो नै अवरोध बनेपछि जीवनको मूल्य अझ गहिरो गरी महसुस गरेको बताउँलै उनले भने, ‘नेताहरुले पटक-पटक पुलको नाममा मत मागेर जान्छन् । तर, पुल कहिले बनाइदिएनन् ।’
पीडामा विद्यार्थी-किसान
पुल नहुँदाको पीडा बालबालिकाले बढी भोग्ने गरेका छन् । चार महिनाजति विद्यालय पुगिन्छ कि पुगिदैन भन्ने चिन्ताले सताउने गरेको बताउँछिन्, विद्यार्थी प्रतीक्षा यादवव ।
‘बाढी आएको बेला विद्यालय जान सकिँदैन । परीक्षा छुट्छ । कहिलेकाहीँ खोलाको पानी घट्ने पर्खेर ढिलो पुग्छु’, यादव भन्छिन्, ‘चार महिना हाम्रो भविष्य अनिश्चित छ । आज विद्यालय पुगिन्छ कि पुगिँदैन ? परीक्षा दिन पाइन्छ कि छुट्छ ? थाहा हुँदैन ।’
खोलावारिपारिका करिब दशभन्दा बढी गाउँका किसानहरूको उत्पादन वर्षात् लागेपछि बजारसम्म सहजै पुग्दैन । ढुवानी खर्च बढ्छ । तरकारी समयमै नपुग्दा सड्छ ।

स्थानीय तेतरी महतो भन्छिन्,’हरेक चुनावमा नेताहरूले पुल बनाइदिन्छु भन्छन् । जितेपछि फर्केर हेर्दैनन् । हामीलाई जोड्ने एउटा पुल पनि बनेन ।’ तेतरीको स्वरमा आक्रोश छ । तर, यो आक्रोश वर्षौंदेखि थामिएकै छ ।
सिरहा-२ मा २१ फागुनमा हुने हुने निर्वाचनका लागि २९ जना उम्मेदवार मैदानमा छन् । घरदैलो अभियान, सभा, वाचा र घोषणापत्रहरू सार्वजनिक गरिरहेका छन् । तर, गागन खोला केवल भौतिक अवरोध होइन, राजनीतिक प्रतिबद्धताको मापन गर्ने मानक बनेको छ ।
हरेक पाँच वर्ष चुनाव आउँछ । यहाँ हरेक वर्ष बाढी आउँछ । यसपटक भने पाँच वर्ष नपुग्दै चुनाव आएको छ । तर, अत्यावश्यक रहेको पुल कहिल्यै नआउने भन्दै स्थानीय आक्रोश व्यक्त गर्छन् ।
स्थानीयहरू भन्छन्, ‘विकासका ठूला नाराभन्दा हामीलाई चाहिएको एउटा साधारण संरचना, पुल हो । यस्तो पुल जसले पाँच मिनेटको दूरीलाई फेरि पाँच मिनेटमै सीमित गरोस् । यस्तो पुल जसले विद्यार्थीको भविष्य, बिरामीको जीवन र किसानको पसिनालाई जोखिमबाट मुक्त गरोस् ।’
प्रतिक्रिया 4