News Summary
Generated by OK AI. Editorially reviewed.- वित्तीय प्रणालीको कुल निक्षेप ७७ खर्ब ४ अर्ब पुगेको छ, जुन देशको कुल गार्हस्थ उत्पादनभन्दा २६.१५ प्रतिशत बढी हो।
- वित्तीय प्रणालीमा निक्षेप बढ्दा पनि कर्जा माग नबढ्दा पैसा केन्द्रीय बैंकमा थुप्रिएको छ।
- केन्द्रीय बैंकले तरलता व्यवस्थापन गर्न २.७५ प्रतिशत ब्याजदरमा तरलता खिच्ने गरेको छ र दीर्घकालीन कर्जा प्रवाहका लागि वातावरण विकास गर्न सुझाव दिएको छ।
१ फागुन, काठमाडौं । वित्तीय प्रणालीको निक्षेप ७७ खर्ब रुपैयाँ नाघेको छ । अर्थतन्त्र सुस्त भएसँगै रेमिट्यान्स आप्रवाहमा आएको सुधारले वित्तीय प्रणालीको निक्षेप हालसम्मकै उच्च हुन पुगेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार गत आइतबारसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ७७ खर्ब ४ अर्ब पुगेको छ । यो निक्षेप देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) अनुपातमा १ सय २६ प्रतिशतले धेरै हो ।
अर्थात्, वित्तीय क्षेत्रको निक्षेप जीडीपीभन्दा २६.१५ प्रतिशतले धेरै हो । यो अवधिमा जीडीपी ६१ अर्ब ७ अर्ब रहेको राष्ट्रिय तथ्यांकक कार्यालयले जनाएको छ ।
अर्थतन्त्रले अपेक्षित गति नलिनु, रेमिट्यान्स तथा निर्यातमा उच्च सुधारले वित्तीय प्रणालीमा निक्षेप थपेको हो । तर, वित्तीय प्रणालीको निक्षेप परिचालन गर्ने क्षेत्रले कर्जा माग नबढाउँदा उक्त रकम केन्द्रीय बैंकमा थुप्रिन पुगेको हो ।
साथै, बैंकहरूले पुराना कर्जा लगानीका क्षेत्रमा माग नभएपछि नयाँको खोजी नगरेकाले पनि कर्जा लगानी सुस्त हुँदा वित्तीय प्रणालीमा पैसा थिग्रिएको हो ।
तर, वित्तीय प्रणालीमा बढेको निक्षेप आर्थिक गतिविधिमा सुधार आएर भने होइन । सुस्त आर्थिक गतिविधिमा पनि निक्षेप निरन्तर बढ्न अर्थतन्त्रका लागि सकारात्मक मानिदैन ।
चालु आर्थिक वर्ष २५ माघमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ७७ खर्ब ४ अर्ब पुगेको छ । तर, उक्त अवधिमा बैंक तथा वित्तीय संस्था कुल कर्जा लगानी ५७ खर्ब ८८ अर्ब बराबरको छ ।
केन्द्रीय बैंकको तथ्यांक अनुसार वाणिज्य बैंकको कुल निक्षेप ६९ खर्ब ४० अर्ब र विकास बैंक तथा फाइनान्स कम्पनीको ७ खर्ब ६४ अर्ब हो ।
वित्तीय क्षेत्रको कुल निक्षेप र कर्जा लगानीको अवस्था हेर्दा पनि कर्जाको माग बढ्न नसकेको स्पष्ट हुन्छ । यो अवधिमा बैंक तथा वित्तीय संस्थाको औसत कर्जा निक्षेप अनुपात ७४.३७ प्रतिशत छ । बैंक तथा वित्तीय संस्थाको यस्तो अनुपात ९० प्रतिशतसम्म पुग्न सक्छ ।
केन्द्रीय बैंकका अनुसार चालु आव पुससम्ममा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.६ प्रतिशत अर्थात् १ खर्ब ९७ अर्ब ४७ करोडले बढेको छ । गत आव सोही अवधिमा यस्तो कर्जा २ खर्ब ६५ अर्ब ५६ करोडले बढेको थियो ।
वार्षिक बिन्दुगत आधारमा २०८२ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ६.७ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ ।
वित्तीय प्रणालीमा देखिएको अधिक तरलता निक्षेपको ब्याजदर हालसम्मकै न्यून छ । हाल बचतको ब्याजदर ३.५६ प्रतिशतमा झरेको छ । त्यसैगरी कर्जाको ब्याजदर समेत ८.६९ प्रतिशतमा झरेको केन्द्रीय बैंकले जनाएको छ ।
निक्षेप बढेर ब्याजदर न्यूनतम बिन्दुमा आउँदा धितोपत्र बजारले समेत सकारात्मक लय समाउन सकेको छैन । वित्तीय प्रणालीको ब्याजदर र सेयर बजारको सम्बन्ध उल्टो हुन्छ ।
ब्याजदर बढ्दा सेयर बजार घट्छ भने ब्याजदर घट्दा सेयर बजार बढ्छ । तर, पछिल्लो समय ब्याजदर घट्दा समेत सेयर बजार पनि सकारात्मक हुन सकेको छैन ।
बैंक तथा वित्तीय संस्थामा अत्याधिक निक्षेप भए पनि केन्द्रीय बैंकलाई समेत तरलता व्यवस्थापन गर्न सकस भएको छ । केन्द्रीय बैंकले ब्याजदर न्यूनतम बिन्दुबाट पनि तल झर्न नदिन बैंक तथा वित्तीय संस्थालाई २.७५ प्रतिशत ब्याज दिएर तरलता खिच्ने गरेको छ । त्यसका लागि केन्द्रीय बैंकले एनआरबी बन्ड तथा अल्पकालीन र दीर्घकालमा अवधिमा निक्षेप संकलन उपकरण प्रयोग गरेको छ ।
पछिल्लो तथ्यांकक अनुसार ८ खर्ब ६६ अर्ब वित्तीय प्रणालीको पैसा केन्द्रीय बैंकमा छ । त्यसका साथै स्थायी निक्षेप सुविधालाई पनि केन्द्रीय बैंकले प्रयोगमा ल्याएको छ । उसले ब्याजदरको अस्वाभाविक उतारचढाव रोक्न वित्तीय उपकरण प्रयोग मार्फत तरलता व्यवस्थापन गर्दै आएको राष्ट्र बैंक प्रवक्ता गुरुप्रसाद पौडेलले बताए ।
कर्जा प्रवाहका लागि धेरै कुराले निर्णायक भूमिका खेल्ने भएकाले केन्द्रीय बैंकले मात्रै गर्ने भनेको अल्पकालीन तरलता व्यवस्था नै रहेको उनको भनाइ छ ।
‘राष्ट्र बैंकले तत्कालका लागि गर्ने भनेको तरलता व्यवस्थापन गर्ने काम र लिक्विडिटी म्यानेज गरिदिने र ब्याजदरलाई एउटा निश्चित वाञ्छित सीमासम्म राख्ने नै हो,’ पौडेलले भने, ‘दीर्घकालमा कर्जा जाने बातावरण विकास हुनुपर्छ, त्यसका लागि केन्द्रीय बैंकका तर्फबाट गर्नुपर्ने आवश्यक नीतिगत व्यवस्थामा सहजीकरण गर्दै नै आएको छ ।’
वित्तीय प्रणालीकोे स्रोतलाई विकास निर्माणमा परिचालन गर्नुपर्ने उनको सुझाव छ ।
प्रतिक्रिया 4