+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

दाङ- २ : संसदीय राजनीतिबाट किन ‘ब्याक’ भइन् रेखा ?

अहिले भने अनपेक्षित रूपमा संसदीय राजनीतिक यात्रामा ‘ब्रेक’ लगाएकामा स्थानीय मतदाता मात्र होइन, राजनीतिक वृतमा नै धेरैलाई चकित पारेको छ ।

आभास बुढाथोकी आभास बुढाथोकी
२०८२ फागुन २ गते २०:१२

२९ माघ, दाङ । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा दाङ क्षेत्र नम्बर-२ मा धेरैको चासो थियो । त्यसको कारण- यो क्षेत्रबाट नेकपा एमालेका महासचिव शंकर पोखेरल प्रतिस्पर्धामा थिए ।

पोखरेललाई तत्कालीन नेकपा माओवादी केन्द्रकी नेतृ रेखा शर्माले चुनौती दिइरहेकी थिइन् । शर्मासँग नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चासमेतको सहयोग थियो ।

पहिलो पटक प्रत्यक्ष निर्वाचनमा होमिएकी शर्माका अगाडि दुई वटा चुनौती थिए । एक-हेभिवेट भनिएका एमाले महासचिव पोखरेल । दुई- यो क्षेत्रमा माओवादी केन्द्रको विरासत जोगाउने । दाङ-२ मा २०७४ को प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा निर्वाचित भएका थिए । त्यहाँबाट निर्वाचित भएपश्चात उनी सभामुख बने ।

लुम्बिनी प्रदेशको संस्थापक मुख्यमन्त्री भइसकेका र प्रदेश राजधानी दाङमै ल्याउन भूमिका खेलेका एमाले महासचिव पोखरेलसँगको भिडन्तलाई हेरेर त्यो बेला (०७९ मा)  धेरैको अनुमान थियो– शर्मा चुनाव हार्छिन् ।

तर, परिणाम फरक आइदियो । पोखरेललाई दुई सयको मतान्तरले हराउँदै शर्माले जित निकालिन् । यसरी राजनीतिक जीवनको पहिलो चुनावमै बलिया प्रतिष्पर्धीलाई हराएपछि राष्ट्रीय राजनीतिमा शर्माको चर्चा चुलियो । त्यसपछि माओवादी केन्द्रले उनलाई सञ्चार मन्त्री बनाएर जिम्मेवारी दियो ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा दाङ–२ बाट निर्वाचित भएपछिको तस्वीर

त्यसपछि दाङ-२ मा माओवादीभित्र शर्मालाई कृष्णबहादुर महराको बलियो उत्तराधिकारीका रूपमा हेरिन थालियो । शर्माको जन्मघर पनि यही क्षेत्रमा भएकाले उनी फेरिफेरि त्यहीँ निर्वाचन लड्ने आकलन पनि थियो ।

फागुन २१ का लागि प्रतिनिधिसभा निर्वाचनको मिति तय हुँदा पनि शर्मा यही क्षेत्रबाट चुनाव लड्ने अनुमान थियो । यसर्थ, एमाले महासचिव पोखरेल र उनीबिच फेरि प्रतिस्पर्धा हुने चर्चा चलिरहेकै थियो ।

तर, एकाएक शर्मा चुनावी मैदानबाट ‘ब्याक’ भइन् । महिनादिन अघि दाङ-२ पुगेर उनले आफू चुनाव नलड्ने घोषणा गरिन् । अहिले उनको ठाउँमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले स्थानीय नेता निर्मल आचार्यलाई उम्मेदवार बनाएको छ ।

किन भइन् ब्याक ?

एक पटक प्रत्यक्ष प्रतिस्पर्धा गरेर जित निकाल्दै मन्त्री हुने सौभाग्य पाएकी शर्माले त्यसैबाट संसदीय राजनीतिमा ‘ब्रेक’ लगाएकी छन् । उनको नाम समानुपातिक सूचिमा पनि छैन । जबकि पार्टीभित्र प्रखर वक्ता र भोलिको सम्भावित अगुवा महिला नेतृकी रूपमा उनलाई हेरिएको थियो ।

उसो त शर्मा २०६४ र २०७० को संविधानसभा निर्वाचनमा पनि समानुपातिक तर्फबाट संसद्मा सहभागी भइसकेकी नेतृ हुन् । उनी सञ्चार मन्त्री हुनुअघि नै मन्त्रीसमेत भइसकेकी थिइन् ।

यद्यपि उनले अहिले भने अनपेक्षित रूपमा संसदीय राजनीतिक यात्रामा ‘ब्रेक’ लगाएकामा स्थानीय मतदाता मात्र होइन, राजनीतिक वृतमा नै धेरैलाई चकित पारेको छ ।

शर्माले स्वयं बदलिँदो राजनीतिक परिस्थिति र जनताको चाहनाअनुरूप नै निर्वाचन लड्न नचाहेको नेकपा दाङका संयोजक हरिमान पुन ‘बरुण’ले बताए ।

‘भदौ २३ र २४ को जेनजी आन्दोलनको मर्मअनुसार अब नयाँ अनुहार आउँनुपर्छ भनेर उहाँ आफैँ पछि हट्नुभएको हो,’ पुनले भने ।

शर्मा ब्याक हुनुमा दुई वटा कारण देखिन्छन् । पहिलो- बदलिएको राजनीतिक परिवेश र अनुकुल नदेखिएको सम्भावित परिणाम हो ।

अघिल्लो पटकजस्तो यसपालि नेकपासँग चुनावी गठबन्धन छैन । दाङ-२ मा नेकपाको पकड कमजोर पनि हुँदै गएको छ । जसले उम्मेदवार नै भएको अवस्थामा पनि शर्माले जित निकाल्नसक्ने सम्भावना क्षीण बनेको थियो ।

अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रवेशले पनि विगतको चुनावी अंकगणित फेरिएको छ । ०७९ को निर्वाचनमा शर्माले २६ हजार ८७७ मत ल्याएर जित निकाल्दा नै दाङ-२ मा रास्वपाले झण्डै १६ हजार मत ल्याएको थियो ।

दाङ–२ मा २०७९ को प्रतिनिधिसिभा निर्वाचनको नतिजा

दोस्रो- शर्माले अघिल्लो निर्वाचनमा बाँडेका ठुला सपना पूरा गर्न नसक्दा मतदाताले देखाउनसक्ने असन्तुष्टि पनि रहेको निकटस्थहरू बताउँछन् ।  खासगरी लामो समयदेखि अलपत्र घोराही–तुलसीपुर चारलेन सडक अझै पूरा हुन सकेको छैन । जसको मूल आलोचना जितेको सांसद भएकाले शर्माकै बढी हुने देखिएको थियो ।

सबै सम्भावित जोखिमलाई हेरेर शर्माले सुरक्षित राजनीतिक अवतरण खोजेर निर्वाचन नलडेको पूर्व माओवादी नेताहरू बताउँछन् । ‘यसपालि एक्लै लड्दा चुनावी परिणाम फरक आउनसक्ने सम्भावना रहन्थ्योे,’ नेकपाका एक नेताले भने, ‘यसले उहाँको राजनीतिक छविमा चुनाव हारेको ट्याग लाग्नसक्थ्यो । हारेपछि राजनीतिक छवि नधमिलियोस् भन्ने उहाँको बुझाइ होला ।’

शर्मा ब्याक हुनुको अर्को कारण पतिको उम्मेदवारी पनि हो । प्रतिनिधिसभा निर्वाचनमा शर्माका पति कृष्णध्वज खड्का नेकपाबाटै प्युठानमा उम्मेदवार छन् । ०७९मा प्रदेशसभा सदस्यमा निर्वाचित खड्का अहिले राजीनामा दिएर प्रतिनिधिसभामा उक्लिएर चुनाव लड्दैछन् ।

‘श्रीमान्- श्रीमती सँगै टिकट लिएर चुनावमा जाँदा नकारात्मक सन्देश जान्थ्यो’, ती नेताले भने, ‘त्यसो नहोस् भनेर पनि उहाँ ब्याक हुनुभयो ।’

शर्मा आफैले भने पटक-पटक सांसद भइसकेकाले यसपालि ब्रेक लिएको बताइन् । अनलाइनखबरसँग कुरा गर्दै उनले भनिन्, ‘म तीन पटक सांसद भइसकेँ । सधैँ एउटै व्यक्ति मात्र अवसर लिनु राम्रो पनि हुँदैन । पार्टीमा लागेका पुराना साथीहरूलाई पनि अवसर दिनुपर्छ भन्ने हो ।’ आफू निर्वाचन नलडे पनि यो बिचमा पार्टी राजनीतिमा बढी सक्रिय हुने उनले बताइन् ।

पार्टीले भविष्यमा आवश्यकता महशुस गरे संसदीय राजनीतिमा फर्किने सम्भावना कायमै रहेको पनि शर्माले बताइन् । ‘मैले सांसदीय राजनीतिमा पूर्ण रूपमा विश्राम लिएको होइन । पार्टी र समयको माग भयो भने फेरि फर्कँन्छु’, उनले भनिन् ।

लेखक
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?