२ फागुन, काठमाडौं । यस वर्षको प्रेम दिवस (भ्यालेन्टाइन्स डे) सप्ताहमा करिब ७ करोड रुपैयाँ बराबरको गुलाफको फूल कारोबार भएको छ ।
फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अनुसार फेब्रुअरी ७ देखि १४ सम्म चलेको प्रेम दिवस सप्ताहमा करिब ५ लाख स्टिम गुलाफ (डच रोज) खपत भएको हो ।
एसोसिएसनका महासचिव हिरामणि शर्माका अनुसार बजारमा एउटा गुलाफको औसत मूल्य १ सय ४० रुपैयाँ कायम भएको थियो । सोही मूल्यका आधारमा हिसाब गर्दा यस वर्षको प्रेम दिवसमा कुल ७ करोड रुपैयाँको आर्थिक कारोबार भएको देखिएको हो ।
मुलुकमा उत्पादन कम हुने भएकाले आन्तरिक उत्पादनले बजारको करिब ३० प्रतिशत मागमात्र धान्ने गरेको छ । बाँकी ७० प्रतिशत माग पूरा गर्न भारत लगायत देशबाट गुलाफ आयात गर्नुपर्ने अवस्था छ ।
काठमाडौं उपत्यकासहित पोखरा, चितवन, बुटवल र विराटनगर जस्ता प्रमुख सहरमा गुलाफको खपत सबैभन्दा बढी भएको छ । विशेषगरी युवापुस्ताले प्रेम व्यक्त गर्न गुलाफको प्रयोग गर्ने भएकाले आज फूल पसलहरूमा बिहानैदेखि भीड लागेको थियो ।
व्यवसायीहरूका अनुसार यो कारोबारले नेपालको पुष्प व्यवसायमा ठूलो आर्थिक टेवा पुर्याएको छ । यद्यपि, स्वदेशी उत्पादनलाई बढावा दिन सके यस्तो ठूलो धनराशी बाहिरिनबाट जोगाउन सकिने विज्ञहरूको सुझाव छ ।
प्रतिक्रिया 4