३ फागुन, बाजुरा । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेले एक मात्र निर्वाचन क्षेत्र रहेको बाजुरामा केन्द्रीय सदस्य लालबहादुर थापालाई उम्मेदवार बनाएको छ ।
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा विजयी भएर संसद् पुगेका थापा यसपटक फेरि बाजुराको प्रत्यक्ष चुनावी मैदानमा छन् । र, उनी नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरिसँगै मुख्य दाबेदारमध्ये पर्छन् ।
चुनावी मैदानमै रहेका बेला थापाले मातृशोक पनि बेहोर्नुपरेको छ । उनकी आमा कलसी थापाको माघ २५ गते ८९ वर्षको उमेरमा निधन भएको छ । चुनावी चटारो चलिरहेका बेला आमाको निधनले थापाको आँगनमा शोकको वातावरण छ ।
यही कारण उनी सामाजिक संस्कारको कर्तव्य पूरा गर्दै चुनावी प्रचारका काम गरिरहेका छन् । आमाकै प्रेरणाले समाज सेवामा लागेकाले शोकमा पनि चुनावी अभियानमा जुटेको थापा बताउँछन् ।
‘आमाले सधैँ जनताको सेवा गर्न सिकाउनुभयो, त्यसैले उहाँकै प्रेरणाले म अभियानमा फर्किएँ,’ थापाले गाउँमा भएको एक चुनावी कार्यक्रममा भने । थापाले आफ्नी आमा अनुशासन र इमानलाई सर्वोपरि ठान्ने महिला रहेको बताए ।
बाजुरा भौगोलिक विकटताको पर्यायका रूपमा चिनिने जिल्ला हो । यहाँ उम्मेदवारहरूले सडक, स्वास्थ्य सेवा, शिक्षा र रोजगारीका सवाल नै मुख्य चुनावी एजेन्डा बनाएका छन् ।
प्रतिक्रिया 4