+
+
Shares

पर्यटन बोर्ड र जापानको वाकायामाबीच दिगो पर्यटन सहकार्य समझदारी

समझदारीपत्रमा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी र वाकायामा प्रिफेक्चरका गभर्नर इजुमी मियाजाकीले हस्ताक्षर गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ४ गते १८:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पर्यटन बोर्ड र जापानको वाकायामा प्रिफेक्चरबीच पर्यटन सहकार्य सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
  • समझदारीपत्रले संयुक्त पर्यटन प्रवर्द्धन, ज्ञान आदान–प्रदान र दिगो पर्यटन विकासमा सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।
  • पर्यटन बोर्डका सीईओ दीपकराज जोशीले जापानी पर्यटक आगमनमा करिब ८ प्रतिशत वृद्धि भएको जानकारी दिएका छन्।

४ फागुन, काठमाडौं । नेपाल र जापानबीच पर्यटन कूटनीति सुदृढ बनाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड र जापानको वाकायामा प्रिफेक्चरबीच पर्यटन सहकार्य सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सोमबार भृकुटीमण्डपस्थित पर्यटन बोर्डको सभाहलमा आयोजित कार्यक्रममा दुवै पक्षले संयुक्त प्रवर्द्धन, ज्ञान आदान–प्रदान तथा दिगो पर्यटन विकास क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

समझदारीपत्रमा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी र वाकायामा प्रिफेक्चरका गभर्नर इजुमी मियाजाकीले हस्ताक्षर गरे ।

यस समझदारीले संयुक्त पर्यटन प्रवर्द्धन तथा मार्केटिङ, पर्यटन सम्बन्धी सूचना र उत्कृष्ट अभ्यास आदान–प्रदान, विज्ञ तथा अधिकारीहरूको भ्रमण आदान–प्रदान, सञ्चार तथा जनसम्पर्क सहकार्य र सांस्कृतिक रूपमा सम्मानजनक तथा दिगो पर्यटन प्रवर्द्धन प्राथमिकता दिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले जापानबाट गभर्नर नेतृत्वको टोलीको नेपाल भ्रमणलाई स्वागतयोग्य कदम भन्दै नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वर्षका सन्दर्भमा भएको यो सहकार्य दिगो र उत्तरदायी पर्यटन प्रवर्द्धनका लागि महत्त्वपूर्ण हुने धारणा व्यक्त गरे ।

‘दुवै देशले सांस्कृतिक विषयलाई उच्च महत्त्व दिएका छन्, ७० वर्षे कूटनीतिक सम्बन्धका सन्दर्भमा भएको यो सहकार्यले दिगो पर्यटनलाई बलियो आधार प्रदान गर्ने छ,’ उनले भने ।

मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले नेपाल–जापानबीच  दीर्घकालीन सम्बन्ध स्मरण गर्दै यस समझदारीलाई पर्यटन प्रवर्द्धनका लागि ऐतिहासिक कदमका रूपमा व्याख्या गरे ।

‘नेपाल र जापानबीच लामो समयदेखिको सम्बन्ध छ, हिमालयको देश तथा भगवान् बुद्धको जन्मस्थल नेपालका लागि बजार विविधीकरणका लागि यो समझदारी उपयुक्त समय हो,’ उनले भने, ‘यस समझदारीले साझा मूल्य र सहकार्य एकीकृत गर्दै आगामी दिनमा सहयोग थप सुदृढ हुने विश्वास लिएको छु ।’

वाकायामा प्रिफेक्चरका गभर्नर इजुमी मियाजाकीले इतिहास र संस्कृतिले समृद्ध नेपालसँग सहकार्य गर्न पाउँदा खुसी भएको बताए ।

‘इतिहास र संस्कृतिले समृद्ध नेपालसँग समझदारी गर्न पाउँदा हामी खुसी छौं,’ उनले भने, ‘यस समझदारीले नेपाल र वाकायामाबीच पर्यटन प्रवर्द्धन थप सुदृढ हुने विश्वास लिएको छु ।’

पर्यटन बोर्डका सीईओ जोशीले जापानलाई नेपालको महत्त्वपूर्ण पर्यटन स्रोत बजारमध्ये एकका रूपमा उल्लेख गर्दै पछिल्लो समय जापानी पर्यटक आगमनमा करिब ८ प्रतिशत वृद्धि भएको जानकारी दिए ।

‘नेपाल विविध जीवन्त अनुभवहरूको गन्तव्य हो, यो समझदारीपत्र केवल औपचारिक सम्झौतामात्र नभई गन्तव्य, ज्ञान र अवसर जोड्ने माध्यम हो, यसले नेपाली पर्यटन बजारका लागि नयाँ सम्भावनाका ढोका खोल्ने छ,’ उनले भने ।

समझदारीपत्र हस्ताक्षर मितिदेखि लागु भई आपसी समझदारीका आधारमा कार्यान्वयन गरिने उल्लेख छ । सहकार्य सम्बन्धी गतिविधि समन्वयका लागि दुवै पक्षले सम्पर्क बिन्दु तोक्ने तथा खर्च आ–आफ्नै रूपमा बेहोर्ने व्यवस्था गरिएको छ ।

कानुनी रूपमा बाध्यकारी नभए पनि पारस्परिक सद्भाव र विश्वासमा आधारित यो समझदारीले सात दशक लामो नेपाल–जापान सम्बन्ध पर्यटन मार्फत थप सुदृढ बनाउने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?