४ फागुन, सप्तरी । आसन्न प्रतिनिधि सभा निर्वाचनको औपचारिक प्रचार-प्रसार अवधि सुरु भएसँगै दल तथा उम्मेदवारले भारतीय गाडीहरू प्रयोग गर्न थालेका छन् । निर्वाचन आचार संहिताविपरीत प्रचार-प्रसारमा भारतीय गाडीहरू प्रयोग हुन थालेसँगै जिल्ला प्रशासन कार्यालय (जिप्रका) सप्तरीले निगरानी पनि बढाएको छ ।
यसैक्रममा सोमबार मात्रै चुनावी प्रचारमा प्रयोग भएका दुई वटा गाडी प्रशासनले नियन्त्रणमा लिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवको नेतृत्वमा खटिएको टोलीले ती गाडीहरू नियन्त्रणमा लिएको थियो ।
सप्तरी प्रहरीका अनुसार सप्तरी-२ मा स्वाभिमान पार्टीका उम्मेदवार सतिशकुमार सिँहको प्रचारमा प्रयोग भएको बीआर ११ पीबी ८६१० नम्बरको गाडी र बीआर ६७ पीबी ८९५६ नम्बरको गाडी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रचारमा प्रयोग भइरहेको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक(डीएसपी) डम्बरबहादुर पुरीले नियन्त्रणमा लिएका गाडीहरू आगामी दिनमा आचारसंहिता उल्लंघन नगर्ने सर्तमा कागज गराएर छाडिएको बताए ।
पत्रकारमाथि दुर्व्यवहार
यसैबीच निर्वाचनमा प्रयोग भएका भारतीय गाडी नियन्त्रणको विषयमा रिपोर्टिङ गर्न गएका पत्रकारमाथि प्रहरीले दुर्व्यवहार गरेको छ । नियन्त्रणमा लिइएका गाडीको तस्वीर लिन जिल्ला प्रहरी कार्यालय पुगेका ग्लोबल टेलिभिजनका पत्रकार रूपेश यादव, पत्रकार रामशंकर भण्डारी र प्रवेश मिश्रामाथि प्रहरीले दुर्व्यवहार गरेको हो ।
पत्रकारहरूले खिचेका तस्वीर एक प्रहरी कर्मचारीले डिलेट गर्न दबाब दिई दुर्व्यवहार गरेको तीनै जना पत्रकारले दाबी गरेका छन् ।
पत्रकारमाथि भएको दुर्व्यवहारबारे जिल्ला प्रहरी कार्यालय प्रहरी कर्मचारीबाट अवरोध भए पनि पछि सहजीकरण गरेर खिच्न दिएको स्वीकारेको छ ।
प्रतिक्रिया 4