News Summary
Generated by OK AI. Editorially reviewed.- सडकका बेसहारा पशुप्राणीको स्यहारसुसार गर्दै आएकी एलिना प्रसाईले विष खुवाएर सडक कुकुरको हत्या भएको भिडियो सेयर गरी अपराधीलाई कारबाही गर्न आग्रह गरेकी छिन्।
‘अलविदा बच्चा । तिमीलाई पनि पापीहरूले मारेर छाडे । तिमीले कसैको केही बिगारेनौं, तिमीले त केवल बाँच्न खोज्यौं । तर यो समाजले तिम्रो सास नै खोस्यो । तिम्रो आत्माले शान्ति पाओस्’ एलिना प्रसाई लेख्छिन्, ‘मावनाताको नाममा कलंक बनेका हातहरूले तिम्रो जीवन खोसे ।’
एलिनाले सडकका बेसहारा पशुप्राणीको स्यहारसुसार गर्दै आएकी छिन् । विराटनगरमा उनले यस्ता पशुहरूलाई खुवाउन, स्यहार्न र औषधि उपचार गर्न छुटै सेल्टर पनि सञ्चालन गरेकी छिन् । दाइ साहिल प्रसाईसहित उनी पशुप्राणीको कल्याणका लागि डटेर लागिरहेका छिन् ।
पछिल्लो पटक एलिनाले एक सडक कुकुरको भिडियो सेयर गरेकी छिन्, जो मान्छेसँग रमाइरहेको र खेलिरहेको देखिन्छ । आफ्नै घर आसपासमा खाइखेली हिँड्ने उक्त कुकुरलाई कसैले विष खुवाएर हत्या गरे । एलिना भन्छिन्, ‘कसैलाई केही हानि नोक्सानी गर्ने खालको कुकुर थिएन । तर, किन हो विष खुवाएर मारेछन् ?’
आफ्नो टोलमा जन्मी हुर्केको सो कुकुरमाथि यस्तो कृत्य गर्नेलाई पहिचान र कारबाही गर्न उनले सरोकारवालासँग आग्रह गरेकी छिन् । एलिना भन्छिन्, ‘यसरी बोल्न नसक्ने प्राणीमाथि बारम्बार क्रूरता भइरहेको छ, यो सहन सकिदैन । अपराधीलाई पत्ता लगाएर कारबाही गर्नैपर्छ ।’
उक्त कुकुरलाई पहिले पनि हतियारले काटेको एलिनाले बताइन् । उपचारपछि निको भएको त्यो कुकुर मान्छेसँग निकै हेलमेल गर्ने स्वभावको थियो । ‘भोक लाग्दा बाटोमा आएर घुर्की लगाउने, बिस्कुट किनेपछि भने बाटो छाडिदिने गर्थ्यो,’ एलिना भन्छिन् ।
प्रायः रातको समयमा त्यहाँ कुकुरहरूमाथि आक्रमण हुने गरेको उनले बताइन् । ‘यहाँ राति चोरहरू आउने गर्छन्,’ एलिना भन्छिन्, ‘भुक्ने र लखेट्ने भएकाले चोरहरूले नै यसरी कुकुर मार्ने गरेको हुनुपर्छ ।’
यसअघि सोही ठाउँमा अर्को सडक कुकुरलाई काठको भाला मुखमा घुसारेर हत्या गरिएको उनले बताइन् । ‘आक्कल झुक्कल होइन, बारम्बार नियतवस प्राणीमाथि यस्तो क्रुरता भएको छ’ उनी भन्छिन् ।
त्यस क्षेत्रमा कहिले विष खुवाएर त कहिले धारिलो हतियार प्रहार गरेर यी प्राणीहरुको हत्या हुने गरेको उनको भनाइ छ । ‘गाडीले ठक्कर दिएर मार्ने क्रम पनि उत्तिकै छ’ एलिना भन्छिन्, ‘यहाँ पशुप्राणी हत्या गर्नुलाई सामान्य जस्तो मान्न थालिएको छ ।’
अधिवत्ता पदमबहादु श्रेष्ठका अनुसार पशु–प्राणीलाई कुनै पनि हिसाबले सताउने, दुःख दिने, यातना दिने काम अपराध हो । ‘मुलुकी अपराध संहिता २०७५ अनुसार कुनै पनि जनावरको क्रूरतापूर्वक हत्या वा कुनै पनि किसिमको निर्दयी व्यवहार गर्न, तड्पाउन पाइँदैन’ उनी भन्छन्, ‘हिंसा भएको छ भने तुरुन्त प्रहरीमा उजुरी गर्न सकिन्छ ।’ यस्ता कृत्य गर्नेलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने प्रावधान छ ।
प्रतिक्रिया 4