+
+
Shares
दीपकुमार उपाध्यायसँग वार्ता :

कारबाही भोग्ने कांग्रेस नेता भन्छन्– ‘क्षणिक आवेगको अभिव्यक्ति’

एक हातले ताली बज्छ र ? ताली त दुई हातले बज्छ नि । उहाँहरूलाई पनि गल्ती भएछ, सच्याउनुपर्ने रहेछ भन्ने ज्ञान होस् भन्ने हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ६ गते २०:०२

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान मिति आउन दुई हप्ता बाँकी हुँदा नेपाली कांग्रेस कपिलवस्तुले पार्टीका पूर्वकेन्द्रीय सदस्य दीपकुमार उपाध्यायसहित १९ जनालाई कारबाहीको सिफारिस गरेको छ ।

कपिलवस्तु–१ मा उपाध्यायका छोरा आशिष शर्मा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेपछि जिल्ला समितिले पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको हो ।

यो क्षेत्रमा कांग्रेसको आधिकारिक उम्मेदवार अतहर कमाल मुसलमान छन् । कारबाही सिफारिस र बागी उम्मेदवारीबारे पूर्वराजदूतसमेत रहेका उपाध्यायसँग अनलाइनखबरकर्मी सन्त गाहा मगरले गरेको संवाद :

तपाईंहरूलाई पार्टीले कारबाहीको सिफारिस गरेको हो ?

मैले पनि तपाईंहरूकै सञ्चारमाध्यमबाट देखेको हुँ । महाधिवेशनपछिको कुरा अदालतमा विचाराधीन छ । चुनावमा कांग्रेसको सुधार हुने देखिन्छ । कपिलवस्तुको हकमा क्षेत्रीय समितिले सिफारिस नै नगरेको व्यक्तिलाई माथिबाट मनोमानी तरिकाले उम्मेदवार बनाइयो । त्यसमा क्षेत्रीय समितिका सभापतिलगायतले असहमति जनाउनुभयो । गलत कुराको विरोध गर्नु, विद्रोह गर्नु उनीहरूको अधिकारको कुरा हो । त्यही विषयमा तपाईंले भनेजस्तै कारबाहीको कुरा आएको हो, कांग्रेसमा यो सधैँभरि चलिराखेकै कुरा हो ।

कांग्रेस कपिलवस्तुको नेतृत्वमा अहिले जो स्थापित छन्, अन्तर्घात र विद्रोहको सुरुवात उनीहरूले नै गरेका हुन् । त्यसको बदला मतदाता र कार्यकर्ताहरूले चुनावबाट लिन्छन् । गगन–विश्वले पनि विद्रोह नगरेको भए, समयले साथ नदिएको भए स्थिति अर्कै हुन्थ्यो । निष्कासित, विस्थापित र स्थापितको घटना कपिलवस्तुमा पनि भइरहेको हो ।

यहाँका अनुसार टिकट वितरणमा कमीकमजोरी भयो । यहाँका छोराले स्वतन्त्र उम्मेदवारी दिनुभयो । यहाँकै शब्दमा कमीकमजोरी भएका हुन् भने त्यसलाई सच्याउने तरिका योबाहेक अरू थिएन ?

भएन । यो एउटा मानवीय पक्ष पनि हो । टिकट पाउने मान्छेले एकपटक सम्पर्क गर्ने, क्षेत्रीय समितिका साथीहरूसँग छलफल, सरसल्लाह गर्ने गरेको भए हुन्थ्यो । उम्मेदवारी दिने मेरो छोरा हुन् । टिकट पाउने पक्षबाट मलाई वा मेरो छोरालाई औपचारिक अनुरोध गर्नेसम्म पनि भएन । उहाँहरूमा अहङ्कार देखियो । टिकट पाउनेले कसरी पायो, दिनेले कसरी दियो उनीहरू नै जानून् ।

पद्धति र प्रक्रिया मिचेर निर्णय गर्दा समयले नै यसको जवाफ दिन्छ । कार्यकर्ता र जनताले यसको जवाफ दिन्छन् ।

टिकट पाउनेले अहङ्कार देखायो भन्दैमा टिकट नपाउनेले आधिकारिक उम्मेदवार हराउने उद्देश्यले बागी उठाउनु सही हो त ?

निर्वाचन आयोगले आधिकारिकता दिएको हुनाले अहिलेसम्म उहाँहरू आधिकारिक हुनुहुन्छ । सर्वोच्च अदालतले के गर्ला ? महाधिवेशनमा जित–हार के होला ? भन्ने आफ्नै ठाउँमा छ । तर कांग्रेसमा नमिलेका कुरा मिलाउने प्रयास कम भएको छ । यो दुःखद घटना हो तर यसो नगर्दा कांग्रेसमा स्वेच्छाचारिता र अहङ्कार बढ्ने भयो । त्यसलाई सच्याउनका लागि पनि साथीहरूले यो कदम उठाएका छन्, त्यसमा मेरो नैतिक समर्थन छ ।

पार्टी एकढिक्का भएर निर्वाचनमा जाने बेलामा यस्तो गर्नु ठीक हो त ?

एक हातले ताली बज्छ र ? ताली त दुई हातले बज्छ नि । उहाँहरूलाई पनि गल्ती भएछ, सच्याउनुपर्ने रहेछ भन्ने ज्ञान होस् भन्ने हो ।

दुई पक्षबीच सहमति हुने र यहाँहरूले उम्मेदवारी फिर्ता लिने सम्भावना कति छ ?

तपाईंले सोध्नुभयो धन्यवाद ! तर हाम्रो पार्टीमा त्यो प्रयास कतैबाट भएको छैन । यो कुरा धेरै अगाडि बढिसकेकाले हामी त्यति इच्छुक पनि छैनौँ । कार्यकर्ताले एक किसिमको मानसिकता बनाइसकेका छन् । उहाँहरू राजीनामा दिएर स्वतन्त्रको पक्षमा खुल्नुभएको छ ।

यहाँले अघि टिकट पाउने पक्षबाट सम्पर्क गरिएन, अहङ्कार देखाइयो भन्नुभयो । उताबाट सम्पर्क भयो भने मिल्ने सम्भावना त रहेछ नि ?

समय घर्कियो । टिकट पाउने उम्मेदवारले गर्नुपर्ने प्रारम्भिक काम हो त्यो ।

हामीले प्रत्यक्षतर्फको कुरा गरिराखेका छौँ । समानुपातिकतर्फ मत कसलाई दिनुहुन्छ ?

कांग्रेसमा आधिकारिकताको लडाइँ जारी छ । हामी समानुपातिक मत कांग्रेसमै जाओस् भन्ने चाहन्छौँ तर दबाब दिने अवस्थामा छैनौँ । त्यसो गर्दा बलेको आगोमा घिउ थप्ने कामजस्तो हुन्छ । प्रत्यक्षमा मात्र होइन समानुपातिकमा पनि यसको असर त पर्छ ।

व्यक्तिगत रूपमा यहाँले रुखमा भोट हाल्नुहुन्छ ?

हाम्रो प्रयास त्यही रहन्छ । तर कति मनाउन सक्छौँ भन्न सकिँदैन । कार्यकर्ता र जनतामा आक्रोश छ ।

अहिले त सिफारिस मात्र त भएको हो । पार्टीले कारबाही गर्‍यो भने पनि रुखमा भोट जान्छ ?

हाम्रो प्रयास त्यही रहन्छ । किनभने कारबाही भनेको क्षणिक र आवेगको अभिव्यक्ति हो । कांग्रेसमा यतिका धेरै आरोह–अवरोह देखियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?