७ फागुन, लन्डन । संयुक्त अधिराज्य (यूके) को इंग्ल्याण्डमा काम गर्ने नेपाली नर्सहरुको संख्या वृद्धि भएको छ ।
नोभेम्बरमा प्रकाशित जुन २०२५ सम्मको तथ्यांक अनुसार, बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा कार्यरत नेपालीको संख्या ४ हजार ६६७ पुगेको छ ।
राष्ट्रियताका हिसावले नेपाली १५ औं स्थानमा छन् । एनएचएस डिजिटलको तथ्यांकमा पहिलो स्थानमा ब्रिटेन छ जसमा ११ लाख ९७ हजार ४२१ ब्रिटिश नागरिकले एनएचएसमा काम गर्छन् भने ७९ हजार ४०६ संख्यासहित भारतीय दोश्रोमा पर्छन् ।
तेस्रो ४० हजार ५७५ सहित नाइजेरियाली र चौंथोमा ३५ हजार ५४३ संख्यासहित फिलिपिनो छन् । पाँचौँमा १३ हजार ८ सय ४४ आइरिस नागरिक छन् ।
नेपाल दक्षिण एसियाली मुलुक श्रीलंका र बंगलादेश भन्दा पनि अगाडि छ । एनएचएसमा ब्रिटिश पासपोर्ट लिएका नेपाली पनि कयौं कार्यरत छन् तर त्यो संख्या यसमा समावेश छैन् ।
जुन २०२५ सम्म इङ्गल्याण्डमा ७८.७ प्रतिशत एनएचएस कर्मचारी बेलायती छन्। ९.९ प्रतिशत एसियाली, ५.२ प्रतिशत ईयू नागरिक र ४.२ प्रतिशत अफ्रिकी रहेको तथ्यांक छ ।
सन् २०२५ सम्म एनएचएसले इङ्गल्याण्डमा १६ लाख हाराहारी जनशक्ति (हेडकाउन्ट) वा लगभग १४ लाख फुलटाइम काम गर्ने कामदारलाई रोजगारी प्रदान गरेको तथ्यांक छ । यसमा करिब एक लाख ४७ हजार ३०० चिकित्सक, ३ लाख ९२ हजार ८०० नर्सिङ स्टाफ, र करिब १ लाख ९९ हजार २०० हेल्थ प्रोफेसनल्स् समावेश छन् ।
एनएचएस विश्वको सबैभन्दा ठूलो रोजगारदातामध्ये एक मानिन्छ । एनएचएसमा विभिन्न २१६ राष्ट्रियता भएका कामदार कार्यरत छन् ।
पछिल्लो एक दशकयता एनएचएसमा काम
गर्ने युरोपेली कामदार संख्या भने घटेको छ । सन् २०१० दशकको शुरुमा ईयू नागरिकको आगमन अध्यधिक वृद्धि भएको थियो तर ब्रेक्जिट (ईयू जनमत संग्रह) पछि यसमा गिरावट आएको एनएचएसले जनाएको छ । बरु हालैका वर्षहरुमा एसियाली वा अफ्रिकी नागरिकको संख्या तीव्र वृद्धि भएको छ ।
द हिलिङ्डन हस्पिटल्स एनएचएस फाउण्डेशन ट्रष्टमा सर्जिकल वार्ड म्यानेजर रस्मिता दर्लामी विगत १६ वर्षदेखि एनएचएसमा कार्यरत छन् ।
नेपलिज नर्सिङ एशोसिएसन यूके अध्यक्ष समेत रहेकी नर्स रस्मिता एनएचएसमा जागिर सुरक्षित, अवकासपछि पनि पेन्सन, पैसा बाहेक निशुल्क अध्ययनका विभिन्न अवसर पाइने भएकाले आफू सन्तुष्ट रहेको बताउँछिन् । ‘तर, कामको चाप र परिश्रम अनुसार तलब नबढ्दा दुःख लाग्छ’, उनले भनिन्, ‘अहिले हाम्रो ट्रष्टले बेलायतमै नर्सिङ पढेका विद्यार्थीलाई प्राथमिकता दिएर अन्तर्राष्ट्रिय नर्सहरुलाई भर्ना नलिने नीति बनाएको छ ।’
बेलायतमा नेपाली नर्सहरु बढिरहँदा उनीहरुका हकहित र समस्या समाधानका लागि एसोसिएसनले नियमित काम गरिरहेको रस्मिताले बताइन् । एसोसिएसनको सदस्यता लिने नेपाली नर्सहरु करिब तीन सय जनामात्र छन् तर समस्या पर्दा सम्पर्कमा आउने गरेको उनी बताउंछिन् ।
‘प्रोफेशनल नर्स एड्भोकेट’ समेत रहेकी रस्मिताले एसोसिएसन प्लाटफर्ममा नर्सहरुलाई ‘वान टु वान’ सल्लाहदेखि सम्मेलन र वेबीनारमार्फत करिअर पाथवेज, फिट टु प्राक्टिस, पिन कसरी बचाउने वा नेपालबाट बेलायत आउन चाहने नर्सहरुलाई डकुमेन्टेसन तयारी कसरी गर्ने भन्नेबारे परामर्श दिइरहेको बताइन् ।
उनले योग्य नर्स बन्न असहज भए दुई वर्षे नर्सिङ एसोसिएट अध्ययन गर्न सुझाइन् जुन एनएचएस ट्रष्टले पढाउंछ र उत्तिर्ण गर्न सजिलो पनि छ ।
बेलायतमा के चाहिन्छ नर्स बन्न ?
बेलायतमा बस्न र काम गर्न आउन चाहने नर्सहरूले नर्सिङ एण्ड मिडवाइफरी काउन्सिल (एनएमसी) मा दर्ता गर्नुपर्नेछ। एनएमसीले बेलायतमा नर्सिङ र मिडवाइफरी पेशालाई नियमन एवं उच्च गुणस्तरको बिरामी हेरचाह सुनिश्चित गर्न विभिन्न मापदण्ड तय गर्छ ।
यहांको योग्य नर्स बन्न बेलायत बाहिर तालिम प्राप्त नर्सहरूले एनएमसीद्वारा निर्धारित अंग्रेजी भाषा मापदण्डहरू पनि पूरा गर्नुपर्छ । त्यसमा आइइएलटिएस वा ओइटी भाषा परीक्षण सफलतापूर्वक पूरा गर्न अनिवार्य छ ।
आइइएलटिएसमा ओभरअल ७ स्कोर हासिल गर्न आवश्यक छ, यद्यपि लेखनमा ६.५ तथा पढ्ने, सुन्ने र बोल्ने परीक्षामा ७ स्कोर स्वीकारिनेछ।
ओइटी स्वास्थ्य सेवा क्षेत्रका लागि विशेष रूपमा डिजाइन गरिएको अन्तर्राष्ट्रिय अंग्रेजी भाषा परीक्षण माध्यम हो । बेलायतमा नर्स, मिडवाइफ र चिकित्सकहरुका लागि यो पनि अर्को विकल्प छ ।
बेलायतमा कति पाउँछन् नर्सहरुले तलब ?

काम अप्ठेरो भएपनि कमाइका हिसाबले एनएचएस जागिर सन्तोषजनक भएको बताउँछिन् नर्स बिनु लामिछाने । ‘महँगी र अन्य खर्चको तुलनामा तलब वृद्धि खासै भएको छैन् तर नेपाल हेरेर यहाँ धेरै राम्रो छ’, उनले भनिन् ।
‘नर्सेस डट को डट यूके’का अनुसार बेलायती नर्सहरूले सामान्यतया वार्षिक ३१ हजार पाउण्डदेखि ४७ हजार पाउण्डसम्म कमाउँछन् ।
ब्यान्ड ५ नर्सहरुको कमाइ सन् २०२६ देखि लगभग ३१ हजार ४८ पाउण्डदेखि अनुभवका आधारमा ३७ हजार ७९६ पाउण्डसम्म पुग्छ ।
फुलटाइम कामका लागि औसत तलब सामान्यतया ३७ हजारदेखि ४२ हजार पाउण्डसम्म हुन्छ जसमा रात्रि सिफ्ट, सप्ताहन्त र लन्डन अलाउन्स् जस्तो अतिरिक्त ज्यालासमेत समावेश हुन्छ ।
जुलाई ५, १९४८ मा तत्कालीन स्वास्थ्यमन्त्री एन्युरिन बेभानले सुरु गरेका थिए राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) । यस स्थापनाको उद्देश्य खासमा नागरिकहरुलाई व्यापक स्वास्थ्य सेवा निःशुल्क प्रदान गरेका थिए । यो मानिसको आम्दानीको प्रवाह नगरी रोग सम्बोधन गर्ने सिद्धान्तमा आधारित थियो ।
दोस्रो विश्वयुद्धपछि पहुँचको समानता सुनिश्चित गर्न अस्पतालहरूलाई राष्ट्रियकरण गरि सरकारी नियन्त्रणमा ल्याइएको इतिहास छ ।
प्रतिक्रिया 4