+
+
Shares
प्रतिनिधिसभा निर्वाचन :

पाँचथरमा फेरियो चुनाव प्रचार शैली : फेसबुक-टिकटक चलाउने, प्रत्यक्ष भेटघाट गर्ने

विगतका चुनावभन्दा यसपालि उम्मेदवारहरुले चुनाव प्रचारको शैली बदलेका छन् । उनीहरुले सभाको साटो मतदातासँग प्रत्यक्ष भेटघाट र सामाजिक सन्जाल प्रयोगमा जोड दिएका छन् ।

गिरिराज बाँस्कोटा गिरिराज बाँस्कोटा
२०८२ फागुन ७ गते १०:१५

७ फागुन, पाँचथर । पूर्वी पहाडी जिल्ला पाँचथरमा यो पल्ट दलहरूले चुनाव प्रचारका पुराना शैली परिवर्तन गरेका छन् । ठुला चुनावी सभा भन्दा कर्नर मिटिङभेटघाट तथा साना कार्यक्रम बनाएका छन् ।

बरु सामाजिक सञ्जालमार्फत् चुनावी प्रचारलाई जोड दिएका छन् । ६० वटा वार्ड भएको पाँचथरको निर्वाचन क्षेत्र भौगोलिक हिसाबले ठुलो भएकाले उम्मेदवारलाई सबै ठाउँमा पुग्न भ्याई नभ्याई छ ।  

दलहरूले दिएको जानकारी अनुसार घरदैलो र भेटघाट कार्यक्रमलाई बढी जोड दिइएको छ । उनीहरुले सामाजिक सञ्जालमार्फत प्रचार गर्न निक्कै मेहेनत गरेका छन् । क्यामेरामेन साथै लगिरहेका छन् भने फेसबुक र टिकटकमा दैनिक भिडियो सामग्री बनाएर पोष्ट गरिरहेका छन् । भित्ताहरुमा टाँसिने पर्चा र पप्लेटको प्रयोग नगन्य छ ।

कांग्रेस उम्मेदवार नरेन्द्र कुमार केरुङ पनि समानुपातिकका उम्मेदवार भिष्मराज आङदेम्बेजिल्ला सभापति रुपनारायण जवेगु सहितको सानो टिम बनाएर गाउँ डुलिरहेका छन् ।८ गते इलाम र पाँचथरको सिमानामा उपसभापति विश्वप्रकाश शर्मा आउने कार्यक्रम छ । अरु कार्यक्रम घरदैलो र मतदातालाई भेट्ने किसिमको छ,’ कांग्रेसका जिल्ला उपसभापति डिकेन्द्र चेम्जोङले भने, ‘पार्टी र भातृसंस्थाको सबै शक्ति परिचालित छ ।’

नेकपा एमालेका उम्मेदवार अईन्द्रसुन्दर नेम्बाङ पनि समानुपातिक उम्मेदवार भूमिका नेम्बाङ सहितलाई लिएर मतदाता माझमा पुगेका छन् । ‘कार्यकर्ता परिचालन र मतदाता भेट्ने कामलाई जोड दिइएको छ’ एमाले जिल्ला उपसचिव तुलसी थापाले भने, ‘ठुला किसिमका राजनीतिक कार्यक्रम गरिएको छैन ।’

नयाँ चुनाव चिह्नका साथ अरु दलभन्दा अगाडि नै उम्मेदवार निर्क्योल गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार हर्क नेम्बाङ पनि घरदैलो र भेटघाटमा व्यस्त छन् । ‘ठुला जनसभामा हाम्रो ध्यान गएको छैन । विभिन्न टोली बनाएर गाउँगाउँ पुगेका छौँ,’ नेकपाका नेता विशाल रसाईलीले भने, ‘यो भाषण सुन्ने जमाना होइन । प्रविधिले मतदाताले सबै कुरा थाहा पाउनु भएको छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र विक्रम थामसुहाङ र पार्टीका नेताहरू पनि गाउँमा छन् । वरिष्ठ नेता बालेन शाहको उपस्थिति पछि रास्वपामा उत्साह बढेको देखिन्छ ।

संगठन विस्तार गर्दै श्रम संस्कृति पार्टी पनि ६० वटा वडामा पुगेको छ । ठूला कार्यभन्दा जनसम्पर्कलाई जोड दिइएको जिल्ला अध्यक्ष प्रविन राईले जानकारी दिए ।

उज्यालो नेपाल पार्टीले चुनावी र्‍याली सकेर घरदैलो तथा भेटघाट कार्यक्रम गरिरहेको उक्त पार्टीका नेता सजिव योङ्याले जानकारी दिए ।

पाँचथरमा विभिन्न दलबाट १५ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । उनीहरू दिन रात नभनी आआफ्नै शैलीले चुनाव प्रचार गरिरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?