७ फागुन रोल्पा । रोल्पामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि १ एक हजार ६२२ जना कर्मचारी खटिने भएका छन् । मुख्य निर्वाचन अधिकृत विनोद खतिवडाका अनुसार जिल्लाका कुल ८६ मतदान स्थल र मतदान केन्द्र १८२ रहेकोमा १ एक हजार ६२२ कर्मचारी खटिन लागेका हुन् ।
१९ फागुनसम्म सबै मतदान केन्द्रमा कर्मचारीहरु पुगिसक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । १८० मतदान केन्द्रमा ९ जनाका दरले र अस्थायी मतदान केन्द्रमा २ जनाका दरले कर्मचारी परिचालन गर्न लागिएको हो।
मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, ३ जना सहायक कर्मचारी,३ जना स्वयंसेवक र एक जना कार्यालय सहयोगि परिचालन हुने भएका छन् ।
अस्थायी मतदान केन्द्रमा एक जना मतदान अधिकृत र एक जना सहायक मतदान अधिकृत गरी २ जना मात्र कर्मचारी हुने बताइएको छ। जिल्ला जनशक्ति व्यवस्थापन समितिले छनोट गरेका १ हजार ६२२ कर्मचारी छनोटमा परेकाहरुलाई मतदान केन्द्रमा खटाइने भएको हो ।
जसमा २४ जना महिला मतदान अधिकृत छन् भने ३६ जना महिला सहायक मतदान अधिकृत छन् । त्यस्तै १९३ जना महिला सहायक कर्मचारी रहेका छन भने ६८ जना महिला सहयोगी कर्मचारी रहेका छन् ।
पुरुष तर्फ १५८ जना मतदान अधिकृत छन् भने १४६ जना सहायक मतदान अधिकृत रहेका छन् । त्यस्तै ३४७ जना सहायक कर्मचारी छन् भने ११४ जना सहयोगी कर्मचारी रहेका छन् ।
रोल्पामा महिला र पुरुष मतदान अधिकृतको संख्या १८२ जना, सहायक मतदान अधिकृतको १८२ जना,सहायक कर्मचारीको संख्या ५४० जना, सहयोगी कर्मचारीको संख्या १८२ जना र महिला, पुरुष दुबै स्वयंसेवकको संख्या ५३८ जना गरी जम्मा १ हजार ६२२ जना कर्मचारी खटाउन लागिएको मुख्य निर्वाचन अधिकृत खतिवडाले बताए ।
मतदान केन्द्रमा ५०० भन्दा कम मतदाता रहेको केन्द्रमा दुई जना र ५०० भन्दा बढी मतदाता रहेको केन्द्रमा ३ जना स्वयंसेवक नियुक्त गर्ने छन् । अस्थायी मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत र सहयोगी कर्मचारी परिचालन हुने जनाइएको छ ।
पारदर्शी हिसाबले कर्मचारी खटाइने काम हुनेछ’,मुख्य निर्वाचन अधिकृत विनोद खतिवडाले भने, ‘निर्वाचनलाई मर्यादित र शान्तिपूर्ण वातावरण बनाउन आवश्यक निर्देशन समेत जारी हुनेछ ।’
निर्वाचनमा खटिने कर्मचारीको लागि अबको एक/दुई दिन भित्र तालिमको आयोजना गर्ने तयारी रहेको उनले बताए । निर्वाचनमा खटाइने कर्मचारीको विवरण मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाइ सकेको प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले जानकारी दिए ।
कुन कर्मचारीलाई कहाँ खटाउने भन्ने विषयमा छलफल भइरहेको र तालिम पश्चात मात्र थाहा हुने प्रजिअ क्षेत्रीले बताए।
१८२ मतदान केन्द्र मध्ये समानुपातिक मतदानको लागि १ वटा कारागार कार्यालय लिवाङ रोल्पा र १ वटा जिल्ला समन्वय समितिको कार्यालय लिवाङ, रोल्पामा रहने समेत जानकारी गराइएको छ।
प्रतिक्रिया 4