२५ चैत, रोल्पा । रोल्पाको लुंग्री गाउँपालिकामा उत्पादन भएको कोदो पहिलोपटक काठमाडौं पुगेको छ ।
लुंग्री गाउँपालिकामा सञ्चालित सामाजिक उद्यमी महिला सहकारी संस्थाले गाउँपालिकाका ७ वटै वडामा उत्पादन भएको कोदोलाई संकलन गरी मंगलबार जिल्ला बाहिर पठाएको हो ।
सहकारीमा करिब ८० क्विन्टल कोदो संकलन गरिएकोमा १० क्विन्टल अर्थात १ हजार केजी स्थानीय बजारमै खपत भएको र ७० क्विन्टल अर्थात ७ हजार केजी बराबरको परिमाण काठमाडौं पठाइएकोे लुंग्री सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष भूमिका विष्टले जानकारी दिइन् ।
‘नेपाली माटो कम्पनीले प्रतिकेजी ७० रुपैयाँका दरले सहकारीबाट कोदो खरिद गरी काठमाडौं लगेको छ,’ विष्टले भनिन्, ‘हामीले जिल्ला बाहिर पहिलोपटक ४ लाख ९० हजार रुपैयाँ बराबरको कोदो निर्यात गरेका छौं ।’
सहकारी र नेपाली माटो नामक कम्पनीसँग २०८२ मंसिर महिनामा कोदो किनबेच सम्बन्धी सम्झौता भएको थियो ।
रैथानेबालीको रुपमा रहेको कोदोले राम्रो मूल्य पाएपछि यहाँका किसानहरु उत्साहित भएका छन् । स्थानीय यमकुमारी विष्टले स्थानीय उत्पादन बिक्ने ग्यारेन्टी हुँदा अझै धेरै उत्पादन गर्ने उत्साह थपिएको बताइन् ।
पालिकामा प्रत्येक हप्ताको मंगलबार कृषि हाटबजार समेत सञ्चालनमा रहेकाले कृषकहरुलाई आफूले उत्पादन गरेको कृषि उपज बिक्री गर्न सहज भएको उनले बताइन् । ‘पहिले हामीले उत्पादन गरेका कृषि उपज कहाँ लगेर बिक्री गर्ने होला भन्ने चिन्ता थियोे तर अहिले धेरै सजिलो भएको छ,’ उनले भनिन् ।
ब्राण्ड बनाएर अन्तर्राष्ट्रिय बजारमा पुर्याउने लक्ष्य
लुंग्री गाउँपालिकाका अध्यक्ष भरत कुमार थापाले रैथाने बालीहरुको उत्पादन घट्दै गएका बेला रोल्पाको कोदो काठमाडौंबाट माग हुनु सकारात्मक भएको बताए । उनले लुंग्री गाउँपालिकामा उत्पादन हुने कोदोको ब्राण्ड बनाएर अन्तर्राष्ट्रिय बजारमा पुर्याउने सोच रहेको सुनाए ।
कोदो उत्पादन वृद्धि गर्नुका साथै अन्य रैथानेबालीहरुको पनि खोजी गर्दै उत्पादनमा जोड दिने खालका कार्यक्रमहरु सञ्चालन गर्ने योजनामा पालिका रहेको उनले बताए ।
लुंग्री गाउँपालिकाका कृषि शाखा प्रमुख भुपेन्द्र पाण्डेले करिब एक सय जना किसानहरुले उत्पादन गरेको कोदो काठमाडौं पठाइएको बताउँदै किसानहरुलाई कोदो उत्पादनका लागि आवश्यक पर्ने औजार, अभिमुखीकरण तालिम, बीउबिजन तथा प्राविधिक सहयोग गरी उत्पादन वृद्धि गर्न गाउँपालिकाले ध्यान दिने बताए ।
कृषि ज्ञान केन्द्र रोल्पाको तथ्यांक अनुसार जिल्लामा वार्षिक १७ सय मेट्रिक टन कोदो उत्पादन हने गरेको छ । जिल्लाका सुनछहरी, लुंग्री, गंगादेव, परिवर्तन, सुनिलस्मृति गाउँपालिकामा बढी कोदो उत्पादन हुने गरेको छ ।
प्रतिक्रिया 4