७ फागुन, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जित्नेभन्दा पनि टिक्ने प्रधानमन्त्रीको पद्धति सोच्ने बेला आएको बताएका छन् ।
धरानको भानु चोकमा बिहीबार आयोजित सुनसरी क्षेत्र नम्बर-१ का उम्मेदवार सुजेन्द्र तामाङको चुनावी `प्रतिबद्धता घोषणासभा´ मा उनले यस्तो प्रस्ताव अघि सारेका हुन् ।
कांग्रेस बहुमत ल्याउने लक्ष्य लिएर अघि बढेको उनले बताए ।
उनले ५ वर्ष स्थिर रहने सरकारका लागि चुनाव अघि नै राष्ट्रिय सहमति गरौं भन्ने आफ्नो व्यक्तिगत प्रस्ताव र आह्वान रहेको बताए ।
उनले भने, ‘प्रधानमन्त्री ५ वर्ष टिक्न/टिकाउन नयाँ सोच सहितको संवैधानिक प्रावधान राख्न जरुरी छ । यो किन भने बितेको ७५ वर्षमा कुनै पनि प्रधानमन्त्री लगातार ५ वर्ष टिक्न सकेनन् ।’
प्रत्यक्षको सिट र लोकप्रिय मतको आधारमा पहिलो हुने दलको प्रधानमन्त्रीले पूरै ५ वर्ष शासन गर्ने, बहुमत नपुगेमा `विनर्स टेक अल´ को नीति बमोजिम अपुग संख्या सुनिश्चित गर्ने, दोस्रो/तेस्रो लगायतका दल सरकारमा नगएर पूरै ५ वर्ष प्रतिपक्षी कित्तामा बस्ने, यस्तै कुनै अवधारणामा चुनाव पूर्व जरुरी राष्ट्रिय सहमति गर्नुपर्ने उनको प्रस्ताव छ ।
सभामुख चयनपछि बस्ने संसद्को पहिलो बैठकबाट त्यो सहमतिलाई संविधानमा अंकित गर्नु पर्ने उनको प्रस्ताव छ ।
उनले भने, ‘चुनाव पूर्व सरकार, दलहरू, बौद्धिक क्षेत्र र जेनजी सहितको वृहत् सम्मेलन गरौं । त्यसबाट वर्तमान संविधान र समग्र पद्धतिमा दर्जन बढी सुधारको बुँदागत सहमति गरौं । सार्वजनिक रूपले हाम्रो प्रस्ताव छ ।’
प्रतिक्रिया 4