+
+
Shares

नेपालमा लगानी गर्ने एनआरएनएलाई थप कर छुटको व्यवस्था गर्ने एमालेको प्रतिबद्धता

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ७ गते १४:२२

७ फागुन, काठमाडौं । नेकपा एमालेले राष्ट्रिय प्राथमिकताका क्षेत्रमा लगानी गर्ने गैरआवासीय नेपालीहरूलाई थप कर छुटको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ ।

२१ फागुनको निर्वाचनका लागि एमालेले ल्याएको चुनावी घोषणापत्रमा विदेशमा रहेका गैरआवासीय नेपालीहरूलाई अन्तर्राष्ट्रिय जगतमा नेपालको ‘सद्भाव दूत’ को रूपमा लिने उल्लेख छ ।

नेपाली डायस्पोराको नीति निर्माण, व्यवसाय प्रवर्द्धन, लगानी परिचालन र सामाजिक विकासमा योगदान बढाउन राष्ट्रका विभिन्न सार्वजनिक निकायहरूमा प्रतिनिधित्वको व्यवस्था गर्ने प्रतिबद्धता जनाइएको छ ।

डायस्पोरालाई पनि ‘राष्ट्र निर्माणको अभियन्ता’ बनाउन चाहेको उल्लेख गर्दै अगाडि भनिएको छ, ‘नेपालको आर्थिक विकासका लागि गैरआवासीय नेपालीहरूलाई ‘खास प्राकृतिक लगानीकर्ता’ (सुप्रिम अर्गानिक इन्भेस्टर) को स्थानमा राख्नेछौं ।’

राष्ट्रिय विकासका प्रमुख पूर्वाधार क्षेत्र र निर्यातमूलक उद्योगमा लगानी गर्न वार्षिक एक खर्बको डायस्पोरा बन्ड जारी गर्ने व्यवस्था मिलाउने विषय पनि घोषणापत्रमा छ ।

विदेशमा बस्ने नेपालीहरूको नेपालमा रहेको सम्पत्तिको संरक्षण गर्ने, लगानीबाट आर्जित मुनाफा फिर्ता लैजान पाउने कानुनी प्रबन्ध गर्ने प्रतिवद्धता जनाइएको छ ।

यहीँनेर भनिएको छ, ‘राष्ट्रिय प्राथमिकताका क्षेत्रमा लगानी गर्ने गैरआवासीय नेपाली नागरिकहरूलाई थप कर छुटको व्यवस्था गर्नेछौं ।’

विदेशमा रहेका नेपालीहरूको मुद्दा मामिला प्राथमिकताका साथ द्रुत गतिमा हेर्ने र विदेशबाट राजस्व भुक्तानी गर्न सकिने व्यवस्था गर्ने लगायतका प्रतिवद्धता जनाइएको छ ।

साथै, विदेशमा रहेका नेपालीलाई लगानीका निर्णयहरू सहित राज्यका तर्फबाट उपलब्ध गराइने सम्पूर्ण सेवाहरू एकल बिन्दूबाट उपलब्ध गराउने व्यवस्था कार्यान्वयन गर्ने भनिएको छ ।

पहिलो पुस्ताका डायस्पोराका लागि ‘सेवा निवृत्तिपछि मातृभूमि फर्कौं’ प्याकेज ल्याउने र दोस्रो पुस्ताका डायस्पोरालाई एक्सचेञ्ज, इन्टर्नशीप र स्टार्टअपमा आकर्षित गर्ने नीति लिने एमालेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?